
धादिङ । धादिङ जिल्लामा सामुदायिक विद्यालयहरूमा स्थायी प्रधानाध्यापक नियुक्ति प्रक्रिया सुरु भएको छ । शिक्षा नियमावली, २०५९ (संशोधनसहित) बमोजिम स्थायी प्रधानाध्यापक नियुक्त गर्ने प्रक्रिया जिल्लामा पहिलो पटक ज्वालामुखी गाउँपालिकाले कार्यान्वयनमा ल्याएको हो ।
गाउँपालिकाले पहिलो चरणमा प्रक्रिया पूरा गरेका तीन वटा माध्यमिक विद्यालयमा स्थायी शिक्षकहरूलाई पाँच वर्षका लागि स्थायी प्रधानाध्यापक पदमा नियुक्त गरेको छ ।
ज्वालामुखी गाउँकार्यपालिकाको २०८३ असोज २८ गतेको निर्णय तथा विद्यालय शिक्षक छनोट समितिको सिफारिसअनुसार नियुक्त हुने प्रधानाध्यापकहरूमा शमीभञ्ज्याङ माध्यमिक विद्यालय, ज्वालामुखी–३ मा हेमराज भट्ट, कालिका माध्यमिक विद्यालय, ज्वालामुखी–४ मा कविता श्रेष्ठ र त्रिपुरासुन्दरी माध्यमिक विद्यालय, ज्वालामुखी–५ मा रमेश गुरुङ रहेका छन् ।
शिक्षा नियमावलीअनुसार सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्त गर्दा सम्बन्धित तहमा कार्यरत स्थायी शिक्षकहरूबाट दरखास्त आह्वान गरी नियमावलीको अनुसूची–१३ मा उल्लिखित छनोटका आधारमा मूल्याङ्कन गरिन्छ । मूल्याङ्कनमा उत्कृष्ट अङ्क प्राप्त गर्ने शिक्षकलाई स्थानीय तहले पाँच वर्षका लागि प्रधानाध्यापक पदमा नियुक्त गर्ने व्यवस्था छ ।
धादिङमा ज्वालामुखी र गङ्गाजमुना गाउँपालिकाले नियमावलीअनुसार प्रधानाध्यापक छनोट तथा नियुक्तिका लागि विज्ञापन आह्वान गरेका थिए । अन्य पालिकाहरूले पनि स्थायी प्रधानाध्यापक नियुक्तिको प्रक्रिया अघि बढाइरहेका छन् ।
जिल्लामा बालकक्षादेखि माध्यमिक तहसम्मका ४८५ सामुदायिक विद्यालय रहेको अवस्थामा प्रधानाध्यापक नियुक्तिमा नियमावलीको कार्यान्वयनलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
ज्वालामुखी गाउँपालिकाले नवनियुक्त प्रधानाध्यापकहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

