
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनबाट धादिङका ४ जना नेता प्रदेश समितिमा निर्वाचित भएका छन् ।
काठमाडौंको स्मार्ट दरबार, शंखपार्क, चामतीमा शनिबार अबेर सम्पन्न निर्वाचनबाट धादिङका कृष्णमान शाक्य, सागर गौली, विकास चेपाङ र सचिन अधिकारी प्रदेश सदस्यमा निर्वाचित भएका हुन् ।
बागमती प्रदेश समितिको नेतृत्वका लागि भएको प्रतिस्पर्धामा उत्सव अर्याल सभापतिमा निर्वाचित भएका छन् । अत्यन्त प्रतिस्पर्धात्मक बनेको निर्वाचनमा अर्यालले ४१८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी डा. अच्युतम लामिछाने ले ४१६ मत प्राप्त गरेका थिए । अर्यालले लामिछानेलाई केवल २ मतको झिनो अन्तरले पराजित गरेका हुन् ।
रास्वपाको बागमती प्रदेश अधिवेशनअन्तर्गत स्थगित निर्वाचन प्रक्रिया शनिबार पुनः सञ्चालन गरिएको थियो । निर्वाचनमार्फत प्रदेश समितिको नयाँ नेतृत्व चयन भएसँगै बागमती प्रदेशमा पार्टी संगठनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
