बागमती कपका लागि धादिङको क्रिकेट टोली घोषणा

Avatar photo
Dhadingpost
जेष्ठ ३१, २०८३

धादिङ । तेस्रो बागमती प्रदेश खेलकुद महोत्सव–२०८३ अन्तर्गत हुने पुरुष क्रिकेट प्रतियोगिताका लागि धादिङ जिल्ला पुरुष क्रिकेट टोली घोषणा गरिएको छ । प्रतियोगिता हेटौंडास्थित गौरीटार क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

धादिङले आफ्नो पहिलो खेल असार २ गते बिहान ९ बजे मकवानपुरसँग खेल्ने तालिका रहेको छ । पहिलो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको फाइनलमा धादिङलाई पराजित गर्दै उपाधि जितेको मकवानपुरसँग धादिङको पुनः भेट हुन लागेको हो । यस कारण पनि धादिङका लागि यो खेल पुरानो हारको बदला लिने अवसरका रूपमा हेरिएको छ ।

घोषित टोलीमा श्याम त्रिपाठी, अमृत थापा, कौशल रुपाखेती, अञ्जल सिलवाल, आरम्भ तिमल्सिना, रामहरि सापकोटा, सन्देश नेपाल, सरोज योञ्जन, सृजन पाण्डे, रौनक गुप्ता, प्रबिन खतिवडा, रुपेश भुजेल, अनिश रेग्मी र दिबश कडेल रहेका छन् ।

टोलीको प्रशिक्षक (कोच) मा उदय थापा तथा व्यवस्थापक (म्यानेजर) मा नारायण सिलवाल रहेका छन् । यस्तै रिजर्भ खेलाडीमा दिपेश सेढाई, अंश गुप्ता, समिर तिमल्सिना, सौगत कडुवाल र आयुष रिजाल रहेका छन् ।

प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘क’ मा मकवानपुर, चितवन, सिन्धुपाल्चोक र धादिङ रहेका छन् भने समूह ‘ख’ मा नुवाकोट, काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन् ।

खेल तालिका अनुसार असार १ गते काठमाडौं र नुवाकोटबीच बिहान ९ बजे तथा ललितपुर र भक्तपुरबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । असार २ गते बिहान ९ बजे मकवानपुर र धादिङ तथा दिउँसो १ बजे चितवन र सिन्धुपाल्चोकबीच खेल हुनेछ ।

त्यसपछि असार ३ गते दुई सेमिफाइनल खेल सञ्चालन हुनेछन् भने असार ४ गते प्रतियोगिताको फाइनल खेल हुनेछ ।

“वन टिम, वन ड्रिम” को नारासहित मैदान उत्रने धादिङ टोलीले यसपटक उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य लिएको छ । जिल्लाका क्रिकेट प्रेमीहरू पनि टोलीको सफलताको कामना गर्दै उत्साहित देखिएका छन् ।