
धादिङ । नीलकण्ठ नगरपालिका–१४, कुपा धुवाकोटमा आयोजना हुने ६औँ कुपा कप तथा मिनी म्याराथन दौड २०८३ को तयारी तीव्र पारिएको छ । कुपा युवा समाजको आयोजनामा बडादसैँको अवसर पारेर हुन लागेको प्रतियोगिताबाट सङ्कलन हुने रकममध्ये केही हिस्सा हालैको बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न आयोजक टोलीले खेल मैदान व्यवस्थापन, प्राविधिक तयारी तथा आर्थिक सङ्कलनको कामलाई तीव्रता दिएको छ । प्रतियोगिताका लागि विभिन्न क्लब तथा संस्थाबाट टिम दर्ता हुने क्रमसमेत जारी रहेको आयोजकले जनाएको छ ।
विगतका वर्षहरूमा कुपा कपमा उल्लेख्य टिमको सहभागिता हुँदै आएको भन्दै यसपटक पनि धेरै टिम सहभागी हुने अपेक्षा गरिएको छ । आयोजकले इच्छुक संघ–संस्था तथा क्लबहरूलाई तोकिएको समयभित्र टिम दर्ता गराउन आग्रह गरेको छ ।
आयोजकका अनुसार टिम दर्ता गर्ने अन्तिम मिति २०८३ असोज २७ गते तोकिएको छ भने खेलको टाइसिट असोज २८ गते प्रकाशन गरिनेछ । प्रतियोगिताको उद्घाटन असोज ३० गते हुनेछ ।
त्यसैगरी, ‘स्वास्थ्यका लागि दौड’ भन्ने मूल नाराका साथ आयोजना हुने मिनी म्याराथनका लागि कात्तिक ७ गतेसम्म दर्ता खुला रहनेछ । मिनी म्याराथनमा स्थानीय युवा–युवतीसँगै धादिङ जिल्लाभित्र तथा बाहिरका विभिन्न उमेर समूहका व्यक्तिहरूले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको खेल तथा मिनी म्याराथन दौड २०८३ कात्तिक ८ गते सम्पन्न हुनेछ । स्वास्थ्य र मनोरञ्जनका लागि मिनी म्याराथन महत्वपूर्ण हुने भन्दै आयोजकले खेलप्रेमी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई प्रतियोगिता सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ ।
मुख्य तालिका
- टिम दर्ताको अन्तिम मिति: असोज २७ गते
- टाइसिट प्रकाशन: असोज २८ गते
- खेल उद्घाटन: असोज ३० गते
- मिनी म्याराथन दर्ता: कात्तिक ७ गतेसम्म
- खेल समापन तथा मिनी म्याराथन: कात्तिक ८ गते
उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ भने सेमिफाइनलमा पुग्ने दुई टिमले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क ९ हजार रुपैयाँ तोकिएको छ ।
त्यस्तै, मिनी–म्याराथनतर्फ प्रथम हुने खेलाडीले २४ हजार रुपैयाँ, मेडल र सम्मानपत्र तथा दोस्रो हुनेले १२ हजार रुपैयाँ, मेडल र सम्मानपत्र प्राप्त गर्नेछन् । तेस्रो र चौथो हुने खेलाडीलाई मेडल तथा सम्मानपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
गत संस्करणका नतिजा
- पाँचौँ कुपा कप फुटबल: घोर्मु विजेता
- चौंथो कुपा कप: फुटबल तर्फ मेन्दोफोले युबा क्लब र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- तेस्रो कुपा कप: फुटबल तर्फ पुरानो पानी नुवाकोट र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- दोस्रो कुपा कप: फुटबल तर्फ थर्पु युवा क्लब नेत्रावती डवजोङ प्रथम
- पहिलो कुपा कप: फुटबल तर्फ भङ्गेरी युवा क्लब धुवाकोट प्रथम
