
धादिङ । नेपाली कांग्रेस धादिङका नेता दिलमान पाख्रिनले क्षेत्रीय अधिवेशनमा भएको भनिएको सहमति र सहकार्य टुंगिएको घोषणा गरेपछि कांग्रेसभित्र त्यसबारे बहस सुरु भएको छ ।
पाख्रिनले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशनका क्रममा आफूहरू तीन जनाबीच भएको आन्तरिक सहमति टुंगिएको जानकारी गराएका हुन् ।
उनको उक्त अभिव्यक्तिपछि कांग्रेसका नेता तथा कार्यकर्ताबीच सहमतिको विषय र त्यसको पृष्ठभूमिबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन् । पाख्रिनले टुंगिएको भनेको सहमति के थियो भन्ने विषय अहिले कांग्रेस कार्यकर्ताबीच चासोको विषय बनेको छ ।
असोज ५ को वडा अधिवेशनअघि तीन नेताबीच सहमति
असोज ५ गते भएको वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेता रमेश धमला, दिलमान पाख्रिन र भीमप्रसाद ढुंगानाबीच पार्टीभित्र बृहत्तर एकता कायम गर्ने उद्देश्यसहित सहमति र सहकार्य गरेर अघि बढ्ने समझदारी बनेको थियो ।
तीन नेताबीच भएको छलफलमा आफू निकट नेता तथा कार्यकर्ताबीच अनावश्यक प्रतिस्पर्धा र विवाद नगरी अधिवेशन प्रक्रियालाई सहमति र सहकार्यका आधारमा अघि बढाउने विषयमा जोड दिइएको थियो ।
बैठकमा सहभागी नेता सरोज अधिकारीले त्यतिबेला सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार तीन नेताबीच मुख्यतः निम्न विषयमा साझा समझदारी बनेको थियो ।
- आफू निकट नेता तथा कार्यकर्ताबीच अनावश्यक प्रतिस्पर्धा र विवाद नगर्ने ।
- अधिवेशन प्रक्रियालाई सकेसम्म सहमति र सहकार्यका आधारमा अघि बढाउने ।
- क्षेत्रीय प्रतिनिधि चयन गर्दा पार्टीका लागि सक्रिय रूपमा काम गरेका तथा निर्वाचनका क्रममा संगठनको पक्षमा अग्रपंक्तिमा खटिएका नेता–कार्यकर्तालाई प्राथमिकता दिने ।
- वडा अधिवेशनदेखि जिल्ला अधिवेशनसम्म साझा प्रतिबद्धतालाई कार्यान्वयन गर्दै अघि बढ्ने ।
- पार्टीभित्र अनावश्यक गुटगत प्रतिस्पर्धा र विवादलाई बढावा नदिने ।
- आफूहरूबीचको एकता कुनै व्यक्तिविशेषलाई पराजित गर्ने उद्देश्यले नभई पार्टीभित्र बृहत्तर एकता कायम गर्ने उद्देश्यमा आधारित हुने ।
- आफूहरूसँग निकट समूहलाई मात्र केन्द्रमा नराखी कांग्रेसका अन्य नेता तथा समूहलाई समेत समेटेर अघि बढ्ने ।
तीन नेताले त्यतिबेला सार्वजनिक रूपमा पार्टी बलियो बनाउने उद्देश्यले एकता र सहकार्यको पहल गरिएको सन्देश दिएका थिए ।
लिखित सहमति भने सार्वजनिक भएको छैन
तीन नेताबीच भएको भनिएको साझा प्रतिबद्धताको लिखित दस्तावेज भने सार्वजनिक रूपमा फेला परेको छैन । त्यसैले सहमतिको विस्तृत विषयवस्तुका सम्बन्धमा बैठकमा सहभागी सरोज अधिकारीले सञ्चारमाध्यमलाई दिएको जानकारीलाई आधार मानिएको छ ।
पाख्रिनले अहिले आएर आफूहरू तीन जनाबीच भएको आन्तरिक सहमति टुंगिएको घोषणा गरेपछि त्यसको कारण र अबको राजनीतिक सहकार्यको अवस्थाबारे कांग्रेस कार्यकर्ताबीच चासो बढेको छ ।
उनको पछिल्लो घोषणाले तीन नेताबीच वडा अधिवेशनअघि सुरु भएको सहमति र सहकार्यको प्रयास अब कुन अवस्थामा पुगेको छ भन्ने प्रश्नसमेत उठाएको छ ।
काठमाडौंमा जारी १५ महाधिबेशनमा पाख्रिनले सह-महामन्त्री पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका छन् ।
