
धादिङ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि धादिङका इन्जिनियर तथा व्यवसायी लक्ष्मण केसीले उम्मेदवारी घोषणा गरेका छन् ।
‘अनुभवको नेतृत्व, प्रविधिको दृष्टि, परिवर्तनको संकल्प!’ भन्ने नारासहित केसीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
धादिङको गंगाजमुना गाउँपालिका–५, डाँडसिङ स्थायी घर भएका केसी हाल काठमाडौँ महानगरपालिका–६ मा बसोबास गर्दै आएका केसी पेशाले इन्जिनियर हुनुका साथै व्यवसायिक क्षेत्रमा समेत सक्रिय छन् ।
इन्जिनियरिङ, प्राविधिक अध्ययन, अनुसन्धान तथा व्यवसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय केसीले आफ्नो ज्ञान, अनुभव र प्राविधिक दक्षतालाई राष्ट्र निर्माण तथा सार्वजनिक नीति निर्माणमा उपयोग गर्ने उद्देश्यले कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका हुन् ।
कांग्रेसलाई समयअनुकूल आधुनिक र प्रविधिमैत्री पार्टीका रूपमा विकास गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा योगदान गर्ने आफ्नो उद्देश्य रहेको केसीको भनाइ छ।
प्राविधिक क्षेत्रबाट प्राप्त आफ्नो अनुभवलाई राजनीतिक नेतृत्वसँग जोडेर विकास, पूर्वाधार तथा सार्वजनिक नीति निर्माणका क्षेत्रमा योगदान पुर्याउने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको उनले बताए ।
केसीको उम्मेदवारीसँगै नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा धादिङबाट केन्द्रीय नेतृत्वका लागि दाबी प्रस्तुत गर्ने नेताहरूको सूचीमा अर्को नाम थपिएको छ।
