
धादिङ । कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशको भलिबल टिममा धादिङका चार जना खेलाडी छनोट भएका छन् ।
छनोट हुने खेलाडीमध्ये महिला तर्फ सिद्धलेककी रेविका लामा, नीलकण्ठकी सलिना गुरुङ र थाक्रेकी भावना तामाङ रहेका छन् । त्यस्तै, पुरुषतर्फ रुबीभ्यालीका प्रकाश तामाङ बागमती प्रदेशको टिममा छनोट भएका छन् ।
धादिङको महिला भलिबल विकास र खेलाडी उत्पादनका लागि प्रशिक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सन्दिप थापामगरका अनुसार रेविका लामा र भावना तामाङले यसअघि यू–१९ काभा भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय टिमबाट श्रीलंकामा सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा भावना तामाङ उत्कृष्ट सेटर र रेविका लामा उत्कृष्ट मिडल ब्लकर घोषित भएका थिए ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि धादिङबाट यसअघि नै बागमती प्रदेशको कबड्डी टिममा आठ जना खेलाडी छनोट भइसकेका छन् । त्यस्तै, करातेको ७५ केजी तौल समूहमा धादिङका निसान मल्ल पनि प्रदेश टिममा छनोट भएका छन् ।
भलिबलमा चार कबड्डी र करातेमा समेत धादिङका खेलाडी प्रदेश टिममा छनोट हुनुले जिल्लाको खेलकुद क्षेत्रमा सम्भावना र प्रतिभा बढ्दै गएको देखाएको छ ।
