छैटौँ कुपा कपको उद्घाटन तयारी पूरा, उद्घाटनपछि चार खेल हुने

Avatar photo
Dhadingpost
अशोज २९, २०८३

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१४, धुवाकोटस्थित कुपामा आयोजना हुन लागेको छैटौँ कुपा कप तथा मिनी म्याराथन दौड–२०८३ को उद्घाटन तयारी पूरा भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ प्रतियोगिताको उद्घाटन भोलि असोज ३० गते हुने आयोजक कुपा युवा समाजले जनाएको छ ।

कात्तिक ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३२ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन समारोहमा हालै गएको विनाशकारी बाढीपहिरोमा परी दिवंगत भएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै लामागुरुहरूबाट विशेष पूजापाठ गरिने कार्यक्रम रहेको छ ।

नीलकण्ठ नगरपालिका–१४ का लामागुरुहरूबाट विशेष पूजा गरिएपछि प्रतियोगिताको औपचारिक उद्घाटन गरिने आयोजकले जनाएको छ ।

उद्घाटनको दिन चार खेल

प्रतियोगिताको उद्घाटनकै दिन चार खेल सञ्चालन हुनेछन् । पहिलो खेल बिहान १० बजे आयोजक कुपा युवा समाज र तमाई युवा क्लब, नेत्रावती डबजोङबीच हुनेछ ।

दोस्रो खेलमा बिहानी युवा क्लब र अन्नपूर्ण युवा क्लब (धुसेनी) भिड्नेछन् । त्यस्तै, दिउँसो १ बजे रातमाटे युवा क्लब र डाँसिङ युवा क्लबबीच तेस्रो खेल हुनेछ भने दिउँसो २ बजे ए.बी.ए. पाट्ले (ए) र छोइलिङ युवा क्लब (सेल्ले) बीच चौथो खेल हुने आयोजकले जनाएको छ ।

विजेतालाई एक लाख तीन हजार रुपैयाँभन्दा बढी पुरस्कार

फुटबल प्रतियोगिताको विजेता टोलीले एक लाख तीन हजार ३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ ।

त्यस्तै, सेमिफाइनलमा पुग्ने टोलीलाई सान्त्वनास्वरूप १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही चार हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।

फाइनलको दिन मिनी म्याराथन

प्रतियोगिताको फाइनल हुने दिन कुपा मिनी म्याराथन–२०२६ आयोजना गरिनेछ । मिनी म्याराथनमा प्रथम हुने धावकले २४ हजार रुपैयाँ र द्वितीय हुने धावकले १२ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

खेलकुदमार्फत युवाहरूको प्रतिभा प्रस्फुटन, आपसी सद्भाव र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

यसैगरी, प्रतियोगिताबाट संकलित रकममध्ये केही हिस्सा बाढीपहिरो प्रभावितहरूलाई सहयोग गरिने आयोजकले जनाएको छ ।

गत संस्करणका नतिजा