कुपा म्याराथन रन–२०२६ मा प्रथम हुनेलाई २४ हजार, धन तामाङले गरे प्रायोजन

Avatar photo
Dhadingpost
अशोज २७, २०८३

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१४, कुपामा आयोजना हुने कुपा म्याराथन रन–२०२६ मा प्रथम हुने धावकले २४ हजार रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् । प्रथम पुरस्कार लन्डन निवासी समाजसेवी धन तामाङले प्रायोजन गरेका हुन् ।

कुपा युवा समाजको आयोजनामा हुन लागेको म्याराथनको मुख्य उद्देश्य युवामा स्वास्थ्य चेतना अभिवृद्धि गर्नु र दौड संस्कृतिको विकास गर्नु रहेको आयोजकले जनाएको छ । ‘Run for Health and Fun’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगितामा सहभागी हुन कुनै प्रवेश शुल्क लाग्ने छैन ।

म्याराथनमा प्रथम हुने धावकले २४ हजार रुपैयाँ र द्वितीय हुनेले १२ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । तृतीय र चतुर्थ हुने धावकलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

आफ्नो जन्मभूमिका युवाको स्वास्थ्य र खेलकुद विकासमा सहयोग पुर्‍याउने उद्देश्यले लन्डन निवासी समाजसेवी धन तामाङले प्रथम पुरस्कार प्रायोजन गरेका हुन् । विदेशमा रहेर पनि स्थानीय खेलकुद प्रवर्द्धनमा सहयोग गरेको भन्दै कुपा युवा समाजले तामाङप्रति आभार व्यक्त गरेको छ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको म्याराथनमा धादिङ जिल्लाका युवालाई सहभागी हुन आयोजकले आग्रह गरेको छ। दौडमार्फत स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नुका साथै युवाबीच आपसी सद्भाव र खेलभावना विकास गर्ने लक्ष्य समाजले लिएको छ।

कुपा धुवाकोटमा आयोजना हुने छैटौँ कुपा कप तथा मिनी म्याराथन दौड प्रतियोगिता २०८३ असोज ३० गतेदेखि सुरु हुने छ । पहिलो चरणमा ए साइड खुला नकआउट फुटबल हुने छ । फुटबल प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख ३ हजार ३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले ५५ हजार ५५५ सहित मेडल र प्रमाणपत्र पाउनेछ ।

त्यस्तै, सेमिफाइनलमा प्रवेश गर्ने टोलीलाई १५ हजार प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट गोलरक्षकले ४ हजार र सर्वाधिक गोलकर्ताले ४ हजार पुरस्कार पाउनेछन् ।
फुटबलको समापनको दिन कार्तिक ८ गते मिनी म्याराथन हुनेछ ।

गत संस्करणका नतिजा