
धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अधिवेशन आगामी असोज ३१ गते धादिङबेँसीमा हुने भएको छ । अधिवेशनमा विश्वका विभिन्न देशबाट भौतिक तथा अनलाइन माध्यममार्फत ३३० भन्दा बढी प्रतिनिधि सहभागी हुने समाजले जनाएको छ ।
गत अधिबेशनमा १३४ जना प्रतिनीधि मात्रै सहभागी थिए ।
समाजका अध्यक्ष राजन खकुरालका अनुसार अधिवेशन धादिङबेँसीस्थित क्रिक रिसोर्टमा बिहान १० बजेदेखि सुरु हुनेछ । अधिवेशनका लागि प्रमुख अतिथि भने अझै निश्चित भइसकेका छैनन् ।
धादिङ जिल्लावासीसमेत रहेका प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याललाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको भए पनि उहाँको सहभागिता पुष्टि भइनसकेको अध्यक्ष खकुरालले बताए ।
हालसम्म २१ देशमा शाखा विस्तार गरिसकेको अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अधिवेशनलाई नयाँ नेतृत्व चयनसँगै विश्वभर छरिएर रहेका धादिङवासीलाई एकताबद्ध गर्ने अवसरका रूपमा हेरिएको छ ।
अध्यक्षमा तीन जनाको दाबी
अधिवेशन नजिकिएसँगै समाजको नयाँ नेतृत्वका लागि तीन जनाले अध्यक्ष पदमा दाबी प्रस्तुत गरेका छन् । अस्ट्रेलियामा रहेका विनोद उप्रेती, अमेरिकामा रहेका बद्री खतिवडा र जापानमा रहेका राजेन्द्र श्रेष्ठले अध्यक्ष पदमा आफ्नो आकांक्षा देखाएका छन् ।
उप्रेती समाजका उपाध्यक्ष हुन् भने श्रेष्ठ र खतिवडा पनि समाजको वर्तमान नेतृत्वमा उपाध्यक्षको जिम्मेवारीमा छन् । तीनै जना विभिन्न देशमा रहेर सामाजिक गतिविधिमा सक्रिय छन् ।
अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले अध्यक्ष पदको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ । अन्य पदमा उम्मेदवारी दिनेहरूको संख्या भने बढ्न सक्ने देखिएको छ ।
यस्तो छ अन्तर्राष्ट्रिय धादिङ समाजको इतिहास
अन्तर्राष्ट्रिय धादिङ समाज गठनको सुरुवात २०७४ सालबाट भएको हो । २०७४ असोज १६ गते धादिङबेँसीमा भुवन गुरुङको संयोजकत्वमा सम्पन्न पहिलो भेलाले समाजको तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार २०७४ असोज ३१ गते काग तिहारका दिन धादिङबेँसीमा सम्पन्न भेलाले नानुकाजी अर्यालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो ।
त्यसपछि समाजको विश्व भेला तथा पहिलो अधिवेशन २०७६ असोज २७ गते काठमाडौंमा सम्पन्न भएको थियो । उक्त अधिवेशनबाट नानुकाजी श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका थिए ।
समाजको दोस्रो अधिवेशन २०७८ असोज २४ गते सम्पन्न भएको थियो । उक्त अधिवेशनबाट राजन खकुराल अध्यक्षमा चयन भएका थिए । त्यसपछि २०८१ असोज २३ गते सम्पन्न तेस्रो अधिवेशनले खकुराललाई पुनः अध्यक्षको जिम्मेवारी दिएको थियो ।
यसपटकको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै विश्वका विभिन्न देशमा रहेका धादिङवासीबीचको सम्बन्ध, सहकार्य र जिल्लाको सामाजिक तथा आर्थिक विकासमा समाजको भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।




















