अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा अहिलेसम्म तीन जनाको आकांक्षा

Avatar photo
Dhadingpost
अशोज २६, २०८३

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आगामी अध्यक्षका लागि अहिलेसम्म तीन जनाले आकांक्षा देखाएका छन् । समाजको चौथो अधिवेशन आगामी असोज ३१ गते (अक्टोबर १७) धादिङबेसीमा हुने तय भएसँगै अस्ट्रेलियामा रहेका विनोद उप्रेती, जापानमा रहेका राजेन्द्र श्रेष्ठ र अमेरिकामा रहेका बद्री खतिवडाले अध्यक्ष पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।

अध्यक्षका आकांक्षी तीनै जना हाल अन्तर्राष्ट्रिय धादिङ समाजका उपाध्यक्ष हुन् । उनीहरूले प्रवासमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै जिल्लाको सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्‍याउने र संस्थालाई थप प्रभावकारी बनाउने लक्ष्यसहित नेतृत्वका लागि आकांक्षा देखाएका छन् ।

धादिङको धुनिबेँसी नगरपालिका–६, नौबिसे घर भएका विनोद उप्रेती हाल अस्ट्रेलियाको क्यानबेरामा बस्दै आएका छन् । शंकरदेव क्याम्पसबाट एमबीएस (मास्टर अफ बिजनेस स्टडिज) अध्ययन गरेका उप्रेती सन् २०१८ मा अस्ट्रेलिया पुगेका हुन् । उनी अन्तर्राष्ट्रिय धादिङ समाजका उपाध्यक्षसँगै एनएआरए अस्ट्रेलियाका एनसीसी सदस्य र एनआरएनए क्यापिटल क्यानबेराका कोषाध्यक्षको जिम्मेवारीमा समेत रहेर काम गरिसकेका छन् ।

उप्रेतीले अन्तर्राष्ट्रिय धादिङ समाजका अघिल्ला अधिवेशनमा सहमति र सहकार्यका आधारमा नेतृत्व चयन हुँदै आएको उल्लेख गर्दै आगामी अधिवेशनमा पनि सहमतिबाटै कार्यसमिति गठन गर्न जोड दिने बताएका छन् । उपाध्यक्षका रूपमा संस्थाका गतिविधिलाई नजिकबाट बुझ्ने अवसर पाएको बताउँदै उनले आगामी दिनमा समाजलाई थप गतिशील र प्रभावकारी बनाउने योजनासहित अध्यक्ष पदमा आकांक्षा प्रस्तुत गरेका हुन् ।

त्यस्तै, धादिङको ज्वालामुखी गाउँपालिका–१, मैदी घर भएका राजेन्द्र श्रेष्ठ लामो समयदेखि जापानमा रहेर सामाजिक गतिविधिमा सक्रिय छन् । उनी धादिङ समाज जापानका संस्थापक महासचिवसमेत हुन् । श्रेष्ठले अन्तर्राष्ट्रिय धादिङ समाजको दोस्रो कार्यकालमा महासचिव र तेस्रो कार्यकालमा उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । स्नातकोत्तर तहसम्म अध्ययन गरेका श्रेष्ठले प्रवासमा रहेका धादिङवासीबीच सहकार्य विस्तार तथा सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । आगामी कार्यकालमा अध्यक्ष भएर संस्थालाई थप सक्रिय र व्यवस्थित बनाउने योजनासहित उनी नेतृत्वका लागि आकांक्षी बनेका हुन् ।

यसैगरी, धादिङको गल्छी गाउँपालिका–२ स्थायी घर भएका बद्री खतिवडा हाल अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका छन् । करिब १५ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका खतिवडाले व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका छन् । उनी अन्तर्राष्ट्रिय धादिङ समाजका उपाध्यक्षसँगै धादिङ समाज अमेरिकाका सल्लाहकार पनि हुन् ।

खतिवडाले अध्यक्षको जिम्मेवारी पाए शिक्षा, स्वास्थ्य, युवा, रोजगारी, कृषि तथा पर्यटन विकासका क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने बताएका छन् । विश्वका विभिन्न देशमा रहेका धादिङवासीलाई एकता र सहकार्यमा जोड्दै जिल्लाको सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्‍याउने उनको प्रतिबद्धता छ । उनले संस्थाको नेतृत्वलाई पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउने लक्ष्यसहित ‘पदका लागि होइन, सेवाका लागि नेतृत्व’ भन्ने सन्देश अघि सारेका छन् ।

अन्तर्राष्ट्रिय धादिङ समाजमा विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासी आबद्ध छन् । चौथो अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका लागि अहिलेसम्म तीन जनाले आकांक्षा देखाएका भए पनि अन्य आकांक्षी थपिन सक्ने सम्भावना छ । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले नेतृत्व सहमतिबाट चयन हुन्छ वा निर्वाचन प्रक्रियाबाट भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

अन्तर्राष्ट्रिय धादिङ समाज गठनको सुरुवात भने २०७४ सालबाट भएको हो । २०७४ असोज १६ गते धादिङबेँसीमा भुवन गुरुङको संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तर्राष्ट्रिय धादिङ समाजको तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार २०७४ असोज ३१ गते अर्थात् अक्टोबर १७ मा काग तिहारका दिन धादिङबेँसीमा सम्पन्न भेलाले नानुकाजी अर्यालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो ।

त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ असोज २७ गते काठमाडौंमा सम्पन्न भएको थियो । उक्त अधिवेशनबाट नानुकाजी श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका थिए ।

समाजको दोस्रो अधिवेशन २०७८ असोज २४ गते सम्पन्न भएको थियो । दोस्रो अधिवेशनबाट राजन खकुराल अध्यक्षमा चयन भएका थिए । त्यसपछि २०८१ असोज २३ गते सम्पन्न तेस्रो अधिवेशनले खकुराललाई पुनः अध्यक्षको जिम्मेवारी दिएको थियो ।