अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीको दाबी

Avatar photo
Dhadingpost
अशोज ९, २०८३

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आगामी अध्यक्षका लागि विनोद उप्रेतीले आफ्नो आकांक्षा प्रस्तुत गरेका छन् । समाजको चौथो अधिवेशन आगामी असोज ३१ गते (अक्टोबर १७) हुने तय भएसँगै उप्रेतीले अध्यक्ष पदमा आफ्नो दाबी अघि सारेका हुन् ।

धादिङको धुनिबेसी नगरपालिका–६, नौबिसे निवासी उप्रेती हाल अष्ट्रेलियाको क्यानबेरामा बस्दै आएका छन् । उनले शंकरदेव क्याम्पसबाट एमबीएस (Master of Business Studies) अध्ययन गरेका छन् ।

सन् २०१८ मा अष्ट्रेलिया पुगेका उप्रेती त्यसयता विभिन्न सामाजिक तथा सामुदायिक संस्थामा सक्रिय रहँदै आएका छन् । उनी अन्तर्राष्ट्रिय धादिङ समाजका उपाध्यक्ष, NARA Australia का NCC सदस्य तथा NRNA Capital Canberra का कोषाध्यक्षको जिम्मेवारीमा समेत रहेर काम गरिसकेका छन् ।

अन्तर्राष्ट्रिय धादिङ समाजका यसअघिका अधिवेशनमा सहमति र सहकार्यका माध्यमबाट नेतृत्व चयन हुँदै आएको उल्लेख गर्दै उप्रेतीले आगामी अधिवेशनमा पनि सहमतिबाटै कार्यसमिति गठन गर्न आफ्नो जोड रहने बताएका छन् ।

“धादिङ समाजको यसअघिका अधिवेशनको सहमति, सहकार्य र एकताप्रति म एकताबद्ध छु । आगामी अधिवेशनमा पनि सहमतिबाटै कार्यसमिति गठन गर्ने मेरो जोड हुनेछ,” उनले भने ।

यद्यपि, संस्थालाई थप गतिशील बनाउन आफूले केही योजना अघि बढाउने सोचसहित अध्यक्षको आकांक्षी बनेको उप्रेतीले बताए । उपाध्यक्षका रूपमा संस्थाको गतिविधिलाई नजिकबाट बुझ्ने अवसर पाएको बताउँदै उनले आगामी दिनमा संस्थालाई थप प्रभावकारी बनाउने योजनासहित नेतृत्वका लागि आफ्नो आकांक्षा प्रस्तुत गरेको बताएका छन् ।

उप्रेती सामाजिक संस्थामार्फत नेपाली समुदायलाई जोड्ने, सहयोग र सहकार्य विस्तार गर्ने तथा नेपाली संस्कृति र पहिचान प्रवर्द्धन गर्ने गतिविधिमा सक्रिय रहँदै आएका छन् ।

हाल श्रीमती र एक छोरासहित क्यानबेरामा बस्दै आएका उप्रेतीले Rara Grocery, Canberra सञ्चालन गर्दै आएका छन् । उनले नेपाली, दक्षिण एसियालीलगायत विभिन्न समुदायका ग्राहकलाई खाद्यान्न तथा दैनिक आवश्यक सामग्री उपलब्ध गराउँदै आएका छन् ।

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ । अधिवेशन नजिकिँदै जाँदा अध्यक्षसहित विभिन्न पदमा आकांक्षीहरूबारे चर्चा र नेतृत्व चयनका लागि सहमतिको प्रयाससमेत अघि बढ्ने देखिएको छ ।

अन्तर्राष्ट्रिय धादिङ समाज गठनको सुरुवात भने २०७४ सालबाट भएको हो । २०७४ असोज १६ गते धादिङबेँसीमा भुवन गुरुङको संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तर्राष्ट्रिय धादिङ समाजको तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार २०७४ असोज ३१ गते अर्थात् अक्टोबर १७ मा काग तिहारका दिन धादिङबेँसीमा सम्पन्न भेलाले नानुकाजी अर्यालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो ।

त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ असोज २७ गते काठमाडौंमा सम्पन्न भएको थियो । उक्त अधिवेशनबाट नानुकाजी श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका थिए ।

समाजको दोस्रो अधिवेशन २०७८ असोज २४ गते सम्पन्न भएको थियो । दोस्रो अधिवेशनबाट राजन खकुराल अध्यक्षमा चयन भएका थिए । त्यसपछि २०८१ असोज २३ गते सम्पन्न तेस्रो अधिवेशनले खकुराललाई पुनः अध्यक्षको जिम्मेवारी दिएको थियो ।