
धादिङ । धादिङ जिल्लास्तरीय ई–फुटबल (eFootball) प्रतियोगिता आजदेखि सुरु भएको छ । धादिङ ई–फुटबल कम्युनिटी (Dhading Gamers) को आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाका ३२ जना खेलाडी सहभागी छन् ।
ई–स्पोर्ट्सप्रति युवाको आकर्षण बढ्दै गएको अवस्थामा धादिङका खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने र जिल्लामा ई–स्पोर्ट्सको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको कुल पुरस्कार राशि १६ हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको विजेताले ७ हजार रुपैयाँ र उपविजेताले ३ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, सेमिफाइनलमा पुग्ने दुई खेलाडीले जनही १ हजार ५०० रुपैयाँ पाउनेछन् । उत्कृष्ट खेलाडीलाई १ हजार ५०० रुपैयाँ र उदाउँदो प्रतिभालाई १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी ३२ खेलाडीलाई आठ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा चार खेलाडी छन् । समूह चरणमा प्रत्येक खेलाडीले आफ्नो समूहका अन्य खेलाडीसँग दुई–दुई पटक खेल्नेछन् । यसअनुसार प्रत्येक समूहमा ६ खेल हुनेछन् ।
समूह चरणका खेल सम्पन्न गर्न ७ देखि १० दिनको समयसीमा निर्धारण गरिएको छ । खेलमा जित हासिल गर्नेले ३ अङ्क र बराबरी गर्नेले १ अङ्क प्राप्त गर्नेछन् भने पराजित हुने खेलाडीले अङ्क पाउने छैनन् । समूहमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष दुई स्थानमा रहने खेलाडी अर्को चरणमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको समूह विभाजनअनुसार समूह ‘ए’ मा श्री जुन लामिछाने, सागर डी गुरुङ, सुवर्ण श्रेष्ठ र अविष्कार ढकाल छन् । समूह ‘बी’ मा सम्पूर्ण श्रेष्ठ, समिर बज्राचार्य, विवेक श्रेष्ठ र बिपेन काडेल रहेका छन् ।
त्यस्तै, समूह ‘सी’ मा सुरेश सिम्खडा, निशान श्रेष्ठ, सचिन बी. क्षेत्री र राहुल शेर्पा छन् भने समूह ‘डी’ मा सृजन भण्डारी, सन्त श्रेष्ठ, असिम तामाङ र बालकृष्ण श्रेष्ठ रहेका छन् ।
समूह ‘ई’ मा एल रोशन, अनिल पुरी, प्रसिद्ध अधिकारी र गिनेश एम अग्र छन् । समूह ‘एफ’ मा सरोज अर्याल, रुपेश रानापहेली, सुबास अर्याल र सबिन महतो रहेका छन् ।
यसैगरी, समूह ‘जी’ मा खकुरेल अभि, अतिज गुरुङ, रविन भेटवाल र जीवन तामाङ छन् भने समूह ‘एच’ मा सरोज खत्री, संगम अधिकारी, शिशिर र राजकुमार गुरुङ रहेका छन् ।
प्रतियोगितामार्फत निष्पक्ष खेल, खेलाडीबीच आपसी सम्मान र प्रतिस्पर्धात्मक भावनालाई प्रोत्साहन गर्दै धादिङका ई–स्पोर्ट्स प्रतिभालाई अघि बढाउने आयोजकको लक्ष्य छ ।











