धादिङ आज ४ बजे रौतहट सँग एन्फा प्रेसिडेन्ट लिग खेल्दै

Avatar photo
Dhadingpost
चैत्र ७, २०७७

धादिङ चैत्र ७ । नेपालगंजमा जारी एन्फा प्रेसिडेन्ट लिगमा बागमती प्रदेश विजेता धादिङले आज प्रदेश नम्बर २ को विजेता रौतहट बीच ४ बजे प्रतिस्पर्धा गर्नेछ ।

रौतहट, सुदुर पश्चिम प्रदेशको कैलाली र लुम्बिनी प्रदेशको बाँके सँग पराजित भएको टिम हो भने धादिङले प्रदेश नम्बर ६ को जुम्लालाई ९-१ को गोल अन्तरले हराएको र प्रदेश नम्बर ४ को लमजुङसँग २-३ को गोल अन्तरले पराजित टिम हो ।

यस अर्थमा रौतहट २ खेल हारेको टिम हो भने, धादिङ १ खेल हारेको टिम हो । धादिङको टिममा आज जुम्ला विरुद्ध एकल ४ गोल गर्ने खेलाडी अमर श्रेष्ठ र १-१ गोल गर्ने रुपेस केसी र विपिन कडेल हुने छैनन् ( अमर र रुपेश मकवानपुरमा र विपिन सी डिभिजनको खेलमा सहभागी हुने छन्) अमरले धादिङको लागि जुम्ला सँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए तर लमजुङ सँगको प्रतिपर्धामा घाईते भएको भन्दै पहिलो हाप पछि खेलेनन् ।

आजै लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी र सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलाली बीच २ बजे पहिलो खेल हुनेछ ।

चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिग सिंगल राउण्ड रोविनका आधारमा हुने यस प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।