
धादिङ । धादिङको गल्छी गाउँपालिकास्थित गल्छीमा बाढी तथा विपद्बाट प्रभावित १८ जनाभन्दा बढी तेक्वान्दो खेलाडीलाई राहत तथा खेल सामग्री सहयोग प्रदान गरिएको छ ।
हालै आएको बाढीका कारण प्रभावित खेलाडीलाई लक्षित गरी संकटाले क्लबले २४ थान ब्लाङ्केट लगायतका सामाग्री उपलब्ध गराएको हो । त्यस्तै, धादिङ जिल्ला तेक्वान्दो संघको जिल्ला कार्यसमितिको तर्फबाट खेलाडीहरूलाई ब्यागसमेत प्रदान गरिएको छ ।
थाँक्रे तेक्वान्दो डोजाङका प्रमुख तथा धादिङ जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष विदुर बास्कोटाका अनुसार बाढीका कारण प्रभावित खेलाडीलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको हो ।
बास्कोटाका अनुसार खेलाडीसँग तेक्वान्दोको ड्रेससमेत नभएको जानकारी आएपछि उनीहरूका लागि ड्रेसको व्यवस्था गर्ने तयारी भइरहेको छ । “ड्रेससमेत नभएको भन्ने जानकारी आएको छ । अब एक–दुई दिनमै ड्रेस पनि उपलब्ध गराउने तयारी गरेका छौँ,” उनले बताए ।
बाढी तथा पहिरोका कारण धादिङका गल्छी गजुरी र बेनीघाट रोराङमा जनजीवन प्रभावित भइरहेका बेला खेलकुद क्षेत्रमा आबद्ध खेलाडीहरू पनि प्रभावित भएका छन् । यस्तो अवस्थामा खेलाडीको दैनिक जीवनमा आवश्यक सामग्रीसँगै खेलकुद गतिविधिलाई निरन्तरता दिन सहयोग पुगोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको हो ।
तेक्वान्दो खेलाडीहरूलाई गरिएको सहयोगले विपद्को समयमा खेलाडी तथा खेलकुद क्षेत्रप्रति समुदायको जिम्मेवारीसमेत देखाएको छ । खेलाडीलाई आवश्यक सामग्री उपलब्ध हुँदा उनीहरूलाई नियमित प्रशिक्षण तथा खेल गतिविधिमा फर्कन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बास्कोटाले विपद्का कारण समस्यामा परेका खेलाडीलाई सहयोग गर्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिन आवश्यक रहेको बताए । खेलाडीहरूलाई प्रोत्साहन र संरक्षण गर्न सके विपद्का कारण उनीहरूको खेल यात्रा प्रभावित हुन नदिने वातावरण बनाउन सकिने उनको भनाइ छ ।
