
काठमाडौं । नेपाली क्रिकेटको चर्चित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र अघिल्ला दुई संस्करणमा फाइनल खेलेको सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
यसपटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता, विश्वचर्चित विदेशी खेलाडीको सहभागिता, डिसिजन रिभ्यु सिस्टम (डीआरएस) को प्रयोग र पुरस्कार राशि वृद्धि लगायतका कारण एनपिएल थप आकर्षक बनेको छ । अघिल्ला दुई संस्करणको तुलनामा तेस्रो संस्करणमा खेलको स्तर, प्रविधि र अन्तर्राष्ट्रिय सहभागितालाई विशेष प्राथमिकता दिइएको छ ।
आईसीसीको मान्यता र डीआरएस मुख्य आकर्षण
एनपिएलले यस संस्करणमा आईसीसीबाट पूर्ण मान्यता पाएको छ । यससँगै प्रतियोगिताले लिस्ट ए मान्यता प्राप्त गरेको छ । नयाँ व्यवस्थाअनुसार फ्रेन्चाइज टोलीले विदेशी खेलाडी अनुबन्ध गर्दा अघिल्ला संस्करणमा रहेको गोलाप्रथाको व्यवस्था हटेको छ । टोलीहरूले सात जनासम्म टेस्ट राष्ट्रका खेलाडी र एक एसोसिएट राष्ट्रका खेलाडी अनुबन्ध गर्न पाउने व्यवस्था गरिएको छ ।
यस संस्करणदेखि नेपाल क्रिकेट संघ (क्यान) ले डिसिजन रिभ्यु सिस्टम (डीआरएस) पनि प्रयोगमा ल्याएको छ । डीआरएसको प्रयोगले अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्न सकिने भएकाले खेलको निष्पक्षता र प्रतिस्पर्धात्मकता बढ्ने अपेक्षा गरिएको छ ।
आठ टोलीबीच एक महिनासम्म प्रतिस्पर्धा
सातै प्रदेशको प्रतिनिधित्व हुने गरी आयोजना गरिएको एनपिएलमा आठ टोली सहभागी छन् । प्रतियोगिता नोभेम्बर २१ अर्थात् मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै विराटनगर किंग्स, मधेशबाट जनकपुर बोल्ट्स, बागमतीबाट चितवन राइनोज र काठमाडौं गोर्खाज, गण्डकीबाट पोखरा एभेन्जर्स, लुम्बिनीबाट लुम्बिनी लायन्स, कर्णालीबाट कर्णाली याक्स र सुदूरपश्चिमबाट सुदूरपश्चिम रोयल्स सहभागी छन् ।
विश्वचर्चित विदेशी खेलाडीको आकर्षण
यस संस्करणको अर्को मुख्य आकर्षण अन्तर्राष्ट्रिय क्रिकेटमा ख्याति कमाएका विदेशी खेलाडीको सहभागिता हो । पाकिस्तानका साहिबजादा फरहान र दक्षिण अफ्रिकाका डेविड मिलर कर्णाली याक्सबाट खेल्दै छन् ।
त्यस्तै, वेस्ट इन्डिजका आन्द्रे रसेल र श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज विराटनगर किंग्समा आबद्ध छन् । जनकपुर बोल्ट्सले न्युजिल्यान्डका जिमी निसम, पाकिस्तानका इफ्तिखार अहमद र इंग्ल्यान्डका मोइन अलीलाई टोलीमा समेटेको छ ।
पोखरा एभेन्जर्सले बंगलादेशका चर्चित अलराउन्डर शकिब अल हसनलाई अनुबन्ध गरेको छ भने सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका शेरफेन रदरफोर्ड र फेबियन एलेनलाई टोलीमा भित्र्याएको छ ।
त्यसैगरी, लुम्बिनी लायन्सले बंगलादेशका सामिम हुसेनलाई तथा चितवन राइनोजले पाकिस्तानका मोहम्मद नवाज र इंग्ल्यान्डका रवि बोपारालाई अनुबन्ध गरेको छ ।
यी खेलाडीको उपस्थितिले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका क्रिकेटरसँग एउटै मैदानमा खेल्ने अवसर प्रदान गर्नेछ। साथै, घरेलु क्रिकेटप्रति दर्शकको आकर्षण बढाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विजेताले डेढ करोड रुपैयाँ पाउने
एनपिएलको तेस्रो संस्करणमा पुरस्कार राशि पनि बढाइएको छ। नेपाल क्रिकेट संघले यस संस्करणमा प्रतियोगिताको कारोबार डेढ अर्ब रुपैयाँ बराबर पुग्ने अनुमान गरेको छ।
प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । अघिल्लो संस्करणमा विजेताले एक करोड १० लाख रुपैयाँ पाएको थियो । यसपटक उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
अघिल्लो संस्करणमा उपविजेताले ५१ लाख, तेस्रो हुने टोलीले २५ लाख र चौथो हुने टोलीले १५ लाख रुपैयाँ पाएका थिए । पुरस्कार राशिमा गरिएको वृद्धिले प्रतियोगिताको व्यावसायिक महत्त्व र नेपाली क्रिकेटमा बढ्दो लगानीलाई समेत संकेत गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीले कारसमेत प्राप्त गर्नेछन् ।
आईसीसीको मान्यता, डीआरएस प्रविधि, अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता र बढेको पुरस्कार राशिसहित सुरु हुन लागेको एनपिएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको प्रतिस्पर्धात्मक स्तर र लोकप्रियता थप उकास्ने अपेक्षा गरिएको छ ।





















