कांग्रेस धादिङको सभापतिमा विकास श्रेष्ठको चर्चा, युवा नेतृत्वको बहस सुरु

Avatar photo
नारायण सिलवाल
कार्तिक ९, २०८३

धादिङ । नेपाली कांग्रेस धादिङको आगामी जिल्ला अधिवेशनलाई लक्षित गर्दै जिल्ला सभापतिका सम्भावित उम्मेदवारका रूपमा वर्तमान जिल्ला सचिव विकास श्रेष्ठको नाम चर्चामा आउन थालेको छ । पार्टीभित्र नेतृत्व परिवर्तन, पुस्तान्तरण र संगठन सुदृढीकरणको बहस चलिरहेका बेला श्रेष्ठको नाम जिल्ला नेतृत्वसँग जोडिएर चर्चामा आएको हो ।

कांग्रेस धादिङको जिल्ला अधिवेशनको मिति र कार्यतालिकाबारे थप स्पष्टता आउन बाँकी रहँदा जिल्ला सभापतिका आकांक्षीबारे पार्टीभित्र चासो बढ्न थालेको छ । क्षेत्रीय अधिवेशन तथा केन्द्रीय महाधिवेशनको नेतृत्व चयन प्रक्रियापछि जिल्ला नेतृत्वमा नयाँ अनुहारको सम्भावनाबारे पनि चर्चा हुन थालेको छ ।

विद्यार्थी राजनीतिबाट कांग्रेसको जिल्ला कार्यसमितिसम्म आइपुगेका श्रेष्ठ संगठनात्मक अनुभव, जिल्लाभरका नेता–कार्यकर्तासँगको सम्पर्क र पार्टी रूपान्तरणको बहसमा देखाएको सक्रियताका कारण सम्भावित दाबेदारका रूपमा चर्चामा छन् ।

विद्यार्थी राजनीतिदेखि जिल्ला सचिवसम्म

विकास श्रेष्ठको राजनीतिक यात्रा विद्यालय जीवनदेखि नै सुरु भएको हो । नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिमा सक्रिय रहँदै आएका उनी विद्यार्थी संगठनको निर्माण, विस्तार र सांगठनिक गतिविधिमा संलग्न हुँदै नेपाली कांग्रेसको जिल्ला राजनीतिमा स्थापित भएका हुन् ।

विद्यार्थी राजनीतिका क्रममा जिल्लाका विभिन्न क्षेत्रका विद्यार्थी तथा राजनीतिक कार्यकर्तासँग सम्बन्ध विस्तार गरेका श्रेष्ठले त्यसपछि पार्टीको जिल्ला संगठनमा आफ्नो सक्रियता निरन्तरता दिए । नेपाली कांग्रेस धादिङको जिल्ला कार्यसमितिमा एक कार्यकाल सदस्य र त्यसपछि सचिवको जिम्मेवारी सम्हालिसकेका उनी हाल जिल्ला सचिवका रूपमा कार्यरत छन् ।

जिल्ला कार्यसमितिमा रहेर काम गरेको अनुभव, पार्टीका विभिन्न तहका कार्यकर्तासँगको सहकार्य र संगठनात्मक गतिविधिमा निरन्तर सहभागिता उनको राजनीतिक पृष्ठभूमिका प्रमुख पक्ष हुन्। यही पृष्ठभूमिका कारण आगामी जिल्ला नेतृत्वका लागि उनको नाम चर्चामा आउन थालेको देखिन्छ ।

पार्टी रूपान्तरणको बहसमा सक्रियता

नेपाली कांग्रेसभित्र पार्टीको कार्यशैली परिवर्तन, आन्तरिक लोकतन्त्र, सांगठनिक सुधार र नयाँ पुस्ताको सहभागिताबारे पछिल्लो समय बहस हुँदै आएको छ । विशेषगरी जेनजी आन्दोलनपछि राजनीतिक दलहरूभित्र नेतृत्व र कार्यशैली परिवर्तनको विषयले थप चर्चा पाएको थियो ।

यसै सन्दर्भमा नेपाली कांग्रेस धादिङका तत्कालीन सचिव विकास श्रेष्ठ र सहसचिव नवराज तिमल्सिनाले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनमार्फत पार्टी रूपान्तरणको एजेन्डालाई निष्कर्षमा पुर्‍याउन जिल्लाका महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्न अपिल गरेका थिए ।

उक्त घटनाले श्रेष्ठलाई पार्टीभित्रको रूपान्तरणसम्बन्धी बहसमा सक्रिय नेताका रूपमा चिनाएको थियो । पार्टीको नेतृत्व चयनमा नयाँ सोच, पुस्तान्तरण र संगठनात्मक सुधारका विषय उठिरहेका बेला उनको नाम जिल्ला सभापतिका सम्भावित दाबेदारका रूपमा चर्चामा आउनुलाई यही राजनीतिक पृष्ठभूमिसँग जोडेर हेरिएको छ ।

गगन थापासँगको निकटता र जिल्लाभित्रको संगठन

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित भएका छन् । थापाले ६ हजार ५८४ मत प्राप्त गरेका थिए । असोज २४ गते सार्वजनिक परिणामले कांग्रेसको केन्द्रीय नेतृत्वमा आएको परिवर्तनलाई औपचारिकता दिएको थियो ।

श्रेष्ठको थापासँग निकट सम्बन्ध रहेको बताइन्छ । थापाले अघि सारेका पार्टी रूपान्तरण, सांगठनिक सुधार र नयाँ पुस्ताको सहभागितासम्बन्धी मुद्दासँग श्रेष्ठको राजनीतिक सक्रियतालाई पनि जोडेर चर्चा गर्ने गरिएको छ ।

तर जिल्ला सभापतिको प्रतिस्पर्धामा केन्द्रीय नेतृत्वसँगको सम्बन्ध मात्रै निर्णायक हुँदैन । जिल्लाभित्रको सांगठनिक अवस्था, स्थानीय तहका नेता–कार्यकर्तासँगको सम्बन्ध, विभिन्न समूहसँग सहकार्य गर्न सक्ने क्षमता र जिल्ला संगठनलाई अघि बढाउने योजनाले पनि उम्मेदवारको राजनीतिक यात्रामा महत्त्व राख्नेछन् ।

नेपाली कांग्रेस धादिङको आगामी जिल्ला नेतृत्वलाई लिएर चर्चा चलिरहँदा वडा, पालिका तथा क्षेत्रीय अधिवेशनमा बनेका राजनीतिक समीकरणलाई पनि महत्त्वका साथ हेरिएको छ । भीमप्रसाद ढुङ्गाना, रमेश धमला र दिलमान पाख्रिनबीच बनेको भनिएको अघोषित गठबन्धनले जिल्ला सभापति रामनाथ अधिकारी पक्षलाई चुनौती दिएको थियो ।

उक्त गठबन्धनबारे सभापति अधिकारीले गगनकुमार थापालाई समेत जानकारी गराएको बताइन्छ । त्यसपछि तत्कालीन केन्द्रीय सदस्यसमेत रहेका रमेश धमलालाई थापाले फोन गरेर गठबन्धन नगर्न आग्रह गरेको चर्चा कांग्रेस वृत्तमा छ । तर, ढुङ्गाना, धमला र पाख्रिनले आफूहरू एक ठाउँमा रहेको सन्देश दिँदै अधिवेशनमा प्रतिस्पर्धा गरेको बताइन्छ ।

यही राजनीतिक समीकरणको प्रभाव केन्द्रीय महाधिवेशनको निर्वाचनमा समेत परेको विश्लेषण कांग्रेस वृत्तमा हुने गरेको छ । उक्त समूहसँग जोडिएका केही नेताहरू केन्द्रीय महाधिवेशनमा पराजित भएपछि धादिङ कांग्रेसको आगामी जिल्ला नेतृत्वमा नयाँ समीकरण बन्न सक्ने सम्भावनाबारे चर्चा हुन थालेको छ । यद्यपि, उनीहरूको पराजयको कारण यही गठबन्धनलाई मात्रै मान्ने आधार छैन ।

केन्द्रीय महाधिवेशनमा उम्मेदवार बनेका नेताहरूले जिल्ला तथा प्रदेश अधिवेशनमा उम्मेदवारी दिन नपाउने विषय पनि आगामी नेतृत्वको चर्चासँग जोडिएको छ ।