
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१४, कुपामा जारी छैटौँ कुपा कप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो दिन असोज ३१ गते शनिबारका ६ खेल सम्पन्न भएका छन् । दोस्रो दिनका खेलमा मेन्दोफोले युवा क्लब, जनजागरण युवा क्लब, घोर्मु युवा क्लब, कग्यु मोन्लम युवा क्लब, नागिनथान युवा क्लब र सक्रिय युवा क्लब विजयी भएका छन् ।
कुपा युवा समाजको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा शनिबार विभिन्न टोलीबीच प्रतिस्पर्धा भएको हो ।
दोस्रो दिनका खेल नतिजा
प्रतियोगिताको पाँचौँ खेलमा मेन्दोफोले युवा क्लब (काउले) ‘ए’ ले थर्पु युवा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको छ ।
छैटौँ खेलमा जनजागरण युवा क्लब (सिम्ले) ले विद्यार्थी उपकार संघ (पात्ले) ‘ए’ लाई २–० गोलअन्तरले हराएको छ । त्यस्तै, सातौँ खेलमा घोर्मु युवा क्लबले ग्रिन हेभन युवा क्लब (बिदुर) लाई १–० गोलअन्तरले पराजित गरेको छ ।
आठौँ खेलमा कग्यु मोन्लम युवा क्लब (किस्पाङ) ले घोर्मु युवा क्लबलाई ४–० गोलअन्तरले हराउँदै जित निकालेको छ । नवौँ खेलमा नागिनथान युवा क्लबले डुप्चे युवा क्लब (केवरा) लाई २–० गोलअन्तरले पराजित गरेको छ ।
दिनको छैटौँ तथा प्रतियोगिताको दसौँ खेलमा जोरचौतारा युवा क्लब र सक्रिय युवा क्लब (तल्लो सेल्ले) बीचको प्रतिस्पर्धा निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि भएको पेनाल्टी सुटआउटमा सक्रिय युवा क्लब विजयी भएको आयोजकले जनाएको छ।
भोलि कार्तिक १ गते हुने खेल तालिका
प्रतियोगिताअन्तर्गत भोलि कार्तिक १ गते आइतबार थप ६ खेल सञ्चालन हुनेछन्।
- बिहान ९:०० बजे: सल्लाघारी युवा क्लब विरुद्ध खरबारी
- बिहान १०:०० बजे: कट्टिके एफसी विरुद्ध बागेश्वरी युवा क्लब
- बिहान ११:०० बजे: एसबीए पात्ले ‘बी’ विरुद्ध छोइलिङ युवा क्लब
- दिउँसो १:०० बजे: सेमजोङ विरुद्ध मेन्दोफोले युवा क्लब ‘बी’
- दिउँसो २:०० बजे: बिहानी युवा क्लब विरुद्ध अन्नपूर्ण युवा क्लब (धुसेनी)
- दिउँसो ३:३० बजे: टिकाडुम युवा क्लब विरुद्ध भगेरी युवा क्लब ‘बी’
विजेताले एक लाख तीन हजार ३३३ रुपैयाँ पाउने
प्रतियोगिता कार्तिक ८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेता टोलीले एक लाख तीन हजार ३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ।
त्यस्तै, सेमिफाइनलमा पुग्ने टोलीलाई सान्त्वनास्वरूप १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही चार हजार रुपैयाँसहित ट्रफी पाउनेछन्।
फाइनलको दिन कुपा मिनी म्याराथन
प्रतियोगिताको फाइनलका दिन कार्तिक ८ गते कुपा मिनी म्याराथन–२०२६ समेत आयोजना हुनेछ। म्याराथनमा प्रथम हुने धावकले २४ हजार रुपैयाँ र द्वितीय हुनेले १२ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
गत संस्करणका नतिजा
- पाँचौँ कुपा कप फुटबल: घोर्मु विजेता
- चौंथो कुपा कप: फुटबल तर्फ मेन्दोफोले युबा क्लब र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- तेस्रो कुपा कप: फुटबल तर्फ पुरानो पानी नुवाकोट र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- दोस्रो कुपा कप: फुटबल तर्फ थर्पु युवा क्लब नेत्रावती डवजोङ प्रथम
- पहिलो कुपा कप: फुटबल तर्फ भङ्गेरी युवा क्लब धुवाकोट प्रथम





















