स्तन क्यान्सर भएको कसरी थाहा पाउने ? स्वयं जाँच्ने गरौं

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १२, २०८१

पछिल्लो समय महिलामा स्तन क्यान्सरको समस्या बढ्दो छ । स्तनको स्वयम परिक्षण गरौं र शंका लागेमा स्वास्थ्य संस्थामा गई प्रारम्भिक अवस्थामा पत्ता लगाई उपचार गराऔं । स्वास्थ्यकर्मीको सल्लाह अनुसार महिलाहरूले वर्षको एक पटक स्वास्थ्य संस्थामा गएर स्तनको जाँच गराउनु पर्दछ । धेरै महिलाले स्तनमा फेला पर्ने केही गिर्खा वा परिवर्तन सामान्य हुन सक्छ । महिनावारी चक्रमा यस्ता धेरै परिवर्तन सामान्य हुन्छन् । स्तनमा फेला पर्ने यस्ता गिर्खा र परिवर्तनका कारण आत्तिहाल्नु पर्दैन । उमेरसंगै स्तनको आकार रुप र महसुसमा परिवर्तन हुन्छन् ।

स्वयं स्तन परिक्षणले आफ्नो स्तनको स्वाभाविक आकार, रङ र महसुसताबारे थाहा पाउन मद्दत गर्दछ । यदि आफ्नो स्तनमा कुनै अस्वभाविक परिवर्तन पाउनु भयो वा एउटा स्तनको तुलनामा अर्को स्तनमा परिवर्तन पाउनु भयो भने स्वास्थ्यकर्मीसंग तुरुन्तै सम्पर्क गर्नुपर्दछ । प्रायजसो स्तन क्यान्सर भएका महिलाहरूले पहिलो लक्षणको रुपमा स्तन जाँच्दा गिर्खा फेला परेको बताएका छन् त्यस कारण स्वयं स्तन परिक्षण गर्नु र यसको महत्वको बारेमा बुझ्न निकै आवश्यक देखिन्छ । स्वयं स्तन परिक्षण सम्बन्धि जानकार भयौं भने स्तन क्यान्सरबाट बच्न सकिन्छ ।

स्वयं स्तन जाँचको लागि हातको प्रयोग

  • ऐना अगाडि उभिएर वा खाटमा उत्तानो परेर पल्टिदा वा नुहाउँदा हातले छामेर परिक्षण गर्न सकिन्छ। यसको लागि हातको बीचका तीन औंलाको टुप्पोको भाग भन्दा तल्ली सतह भागको प्रयोग गर्नुहोस्
  • पहिला हल्का तरिकाले दबाब दिएर र त्यस पछि हातलाई स्थिर बनाएर भित्रसम्म दवाब दिएर केहि गिर्खा तथा दुखाई छ कि भनेर जाँच गर्नु पर्दछ । प्राय जसो क्यान्सरका गिर्खाहरू दुख्दैनन्।
  • जांच गर्दा गोलाकारमा घडीको सुई अनुसार स्तनको कुनै पनि भाग नछुट्टिने गरि परिक्षण गर्न जरुरी हुन्छ । साथै दुवै तिरको काखि तथा collar bone भन्दा माथिको घाँटीको भाग सम्म पनि परिक्षण गर्नुपर्दछ ।
  • त्यसपछि दुबै स्तनको मुन्टालाई निचोरेर पीप, रगत वा पानी जस्ता तरल पदार्थ निस्किन्छ कि भनेर जाँच गर्नुपर्दछ ।
  • स्तन जाँच गर्दा एक पटक एउटा स्तनको पुरा जाँच सकेपछि मात्र अर्को स्तनको जाँच गर्न शुरु गर्नुपर्दछ ।

स्वयं स्तन जाँच (Breast self-exam) कसरी गर्न सकिन्छ ?

  • स्वयं स्तनको परिक्षणः स्वयं स्तन जांच, स्तन क्यान्सरको शुरुको अवस्था पत्ता लगाउन सकिने सजिलो र प्रभावकारी विधि हो । यसको लागि ऐना अगाडि जिउको माथिल्लो भागमा बिना कपडा आफ्नो हातलाई छेउमा राखेर उभिनुहोस् । स्तन जाचको लागि निम्न विधि अपनाउनुहोस्
  • दुबै स्तनमा असमानता, छालामा मुजा परेको, सुन्तलाको बोक्रा जस्तो हुने
  • स्तनको मुन्टा गाडिएको वा स्तनको मुन्टाबाट पिप, रगत वा पानी जस्ता तरल पदार्थ निस्किने
  • हातलाई कम्मरमा राखी अलि अगाडि निहुरिदा यी उल्लेखित परिवर्तन भएको छ वा छैन विचार गर्ने
  • यदि तपाईलाई कुनै किसिमको दृष्टि अशक्तताको कारण स्तनको जाँच गर्न कठिनाई छ भने कोही विश्वासिलो साथी वा परिवारका सदस्यसंग सहयोग माग्नुहोस् ।

स्वयं स्तन जाँच (Breast self-exam) कहिले गर्ने ?

  • स्तनको स्व-परिक्षण शुरू गर्नु भन्दा अगाडि यसको बिधिबारे स्वास्थ्यकर्मीसँग छलफल गर्न उपयुक्त हुन्छ ।
  • महिनावारी भइरहेका महिलाहरूले महिनावारी भएको चौथो दिनदेखि सातौं दिनसम्म,
  • महिनावारी सुकिसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिनः जस्तै महिनाको पहिलो शनिवार वा १ गते – महिलाहरूले सम्झिन सजिलो बनाउन ) नियमित रुपमा स्तन स्व-परिक्षण गर्नुपर्छ ।

स्तन क्यान्सरको जोखिमबाट बच्ने उपायहरू
धुम्रपान तथा मद्यपान नगर्ने, ■ नियमित व्यायाम गर्ने, ■ तौललाई सन्तुलनमा राख्ने, ■ पोषणयुक्त खानेकुरा खाने, ■ स्तनको नियमित जाँच वा परिक्षण गर्ने, ■ स्तनपान गराउने ।

स्वयं स्तन परिक्षणले आफ्नो स्तनको स्वाभाविक आकार, रङ र महसुसताबारे थाहा पाउन मद्दत गर्दछ । यदि आफ्नो स्तनमा कुनै अस्वभाविक परिवर्तन पाउनु भयो वा एउटा स्तनको तुलनामा अर्को स्तनमा परिवर्तन पाउनु भयो भने स्वास्थ्यकर्मीसंग तुरुन्तै सम्पर्क गर्नुपर्दछ । स्तन क्यान्सर लगायत विभिन्न कारणले गर्दा स्तनमा परिवर्तन हुन सक्छ ।

नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सन्चार केन्द्र