नेताहरुको विचलन र जनयुद्ध दिवस

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन १, २०७९

फाल्गुन १ वर्षमा एक चोटि आउने यो दिनलाई फेरि पनि बिगत सँग जोडेर स्मरण गरिरहेको छु । मलाई थाहा छैन सपनाहरुको उडान कसरी हुन्छ र अन्त्य कसरी हुन्छ । तर हर रात हर दिन सपनाहरुको बगैंचामा उडिरहेको हुन्छ मान्छे । हुन त मान्छेहरु सपनामै बाच्छन । वास्तबमा सपना बिनाको जिन्दगी वास्तविक जिन्दगी पनि रहन सक्दैन ।

जिन्दगिमा केही पिडादायी कुरा छ भने त्यो सपनाहरुको हत्या हुनु हो । सपनाहरुको मृत्यु जिवनमा सबै भन्दा बढी पिडादायी हुने गर्छ । यो भन्दा बढी पीडाहरु के नै हुनसक्छ र जीवनमा अब दिन दहाडै सपनाहरुको क्रुर हत्या हुन्छ, मान्छेको आफ्नोपन सबै हराएर जान्छ र शालिक बन्छ । मान्छे बिपनाहरुको अगाडि अनि बिस्तारै बिस्तारै स्वाभिमान बिलाएर जान्छ । हिजोको इतिहास निर्माता माओवादीहरु अहिले आफ्ना झोली र थैली बोकेर साना साना ग्रुपहरुमा जनयुद्ध दिबस मनाईरहेको छन । बढी आत्माहरुलाई कति शान्ती हुन्छ सोचनिय विषय बनेको छ ।

जनताका ईच्छा आकांक्षाहरुको कति सम्बोधन हुन्छ गम्भीर समिक्षाको विषय बनेको छ । सारमा माओवादी आन्दोलनको भबिस्यको बिषयमा प्रश्न वाचक चिन्ह लागेको छ । आन्दोलनको मुहारमा बेग्लै खालको नैराश्यता छाएको जनता र सुभचिन्तकहरुको मनस्थिति बेग्लै बनिरहेको छ । अब के हुदैछ हँ ? एउटा अनुत्तरित प्रश्नले फन्को मारिरहेको छ । परिस्थिति कल्पना भन्दा बाहिर गैसकेको छ । एउटा फरक खाले परिस्थितिको सामाना गर्नुपर्ने वाध्यता आईपरेको देखिन्छ माओवादीहरुमा ।

हुन त जनयुद्धको संस्कृति बलिदानको संस्कृति हो भन्छन भाषणहरुमा हरेक कुरामा बलिदान त्याग गर्नु नै हाम्रो उच्च आदर्श भन्छन् । त्याग, बलिदान कम्युनिस्टहरुको लागि फलामे अनुशासन हो पनि भन्न छुटाउदैनन् । सबैका आँखाहरु मनहरु विकेन्द्रीत बनिसकेको यो परिबेशमा के हुन्छ । फाल्गुन १ को औचित्य । विकेन्द्रीत छन् प्रीयजनहरु, कतै हराएका कतै टोलाएका जस्तै निरिह, निराश, बेचैन नै बेचैन कस्तो उदेक र उकुस मुकुस लाग्दो वातावरण छ यो बेला कसरी मनाउन सकिन्छ जनयुद्ध दिवस । लाग्छ, यो मन कारागार हो दस वर्षको जनयुद्धको सजय दिन यहाँ फाल्गुन १ सम्झिरहेका छौं । फरक खाले अनुभुतीले तड्पाईरहेको छ ।

सडकमा गाडीहरु सेता, हरिया र काला फरक रंगका हुँईकी रहेका छन । सेता अलिशान महलहरुमा काला र सेता पोषाकहरुमा नेताहरु कुनै बारहरुमा मनाईरहेछन या सडक सभाका भिडहरुमा चिच्याईरहेका छन् । मलाई थाहा छैन । जनयुद्ध दिवस यहि त होला फाल्गुन १ को परिभाषा । उ सडकमा छ, च्यातिएको जुत्ता र चप्पल लगाएर भोकभोकै कामको खोजिमा भौतारि रहेछ पुर्व लडाकु पुर्व हो सायद । दिनभरी काम गरेर साँझ एक किलो मोटो कनिकामा छाक टारिरहेछ जनयुद्धको त्यागी कार्यकर्ता हो सायद व्हिल चियरमा कचौरा बोकि भिख मागिरहेको छ ।

जनयुद्धको घाइते हो । सायद सजिलै आँकलन गर्न सकिन्छ । खै कसरी मनाउछन् माओवादी नेताहरुले जनयुद्ध दिवस १७००० बढी सहिदहरुको रगतमा होलि खेलेर हजारौं कार्यकर्ताको भबिष्य बर्बाद पारेर । सिमित स्वार्थको लागि तछाड मछाड गरिरहेका गोरे, खैरे, काला, निला र सेता भुतहरु संग समयले उत्तर खोजिरहेको छ । मौसम सफा छ तर मनले सफा पटक्कै ठम्याउन सकेको छैन । कालो बादल मडारी रहेको भान भैरहेको छ । फाल्गुन १ सम्झानाले । एउटा अनौठो नाटक मंचन हुदैछ । जनयुद्धको अस्तित्व नामेट पारेर अहँ कहिल्यै सोचिएन यस्तो होला भन्ने । इतिहास साक्षी छ, जनता साक्षी छन् ।

हामी जनयुद्ध जितेर आएका हौं । हारेर पटक्कै आएका होइनौं । हाम्रो इतिहास बिजयको इतिहास हो । पराजयको इतिहास हुँदै होइनन । भन्नेहरुले जेसुकै भनुन नेपाली समाजको अर्को बिकासको आयम हो जनयुद्ध यो हाम्रो दाबी हो । वीरताको सुन्दर गाथा हो । जनयुद्ध एक ज्वाजल्यमान इतिहासका पहरेदार हुन, १७००० सहिद । कुरुप बयरघारिको वास र गोलचक्रमा फसाईएको आन्दोलनको जीवन धरापमा पर्नुको एकमात्र कारण नेताहरु पलायन हुनु हो । अक्सर आराम संग जेलिरहेको छ मन चुपचाप समय संग चुपचाप उत्तर खोजिरहेछ । कसैसँग गुनासो गर्ने पक्षमा पनि छैन । सुन्ने पक्षमा पनि छैन । आक्रन्त छ मनोस्थिती सुकुटी परि खुम्चिसकेका छन् । सोचहरु शन्यू स्थितिमा छन् । जहाँ छुत र अछुतको विभेदपुर्ण बागमती बग्छ बाच्नु नै अपराधी भैइन्छ यहाँ । सासहरु मुर्दामा परिणत हुन्छन् । यहाँ मान्छे बन्नुको कुनै अर्थ रहदैन । धपधपी बलिरहेको छ र आत्म जलिरहेको छ मनमा किन हुरी चलिरहेको छ बेजोड सङ्ग खै ? जनमुक्ति आन्दोलनको जिउँदो जीवनमा नेपाली जनताले सोच्निपर्ने आवश्यकता देखिन्छ । फेरि नेपथ्यबाट फरक खाले इतिहासको पुर्नरावृती हुदैछ ।

ठुला ठुला सहरहरुमा महंगा महंगा घडेरी र महल ठड्याई सकेका उनीहरुलाई न इतिहासको चिन्ता छ न वर्गीय मुक्तिको चिन्ता छ । न व्यवस्थित पार्टीको चिन्ता छ । सिर्फ चिन्ता छ रकम कुम्ल्याउने धनड्याको शिढी उक्लने । अन्याय गर्नुको पनि सिमा हुन्छ । सिध्धिनुको पनि हद हुन्छ । हामी स्वतन्त्रता र समानताका लागि लडेक थियौं । नयाँ संसार निर्माण गर्ने महान् अठोटका साथ लामबद्ध भएका थियौं । यसरी जनयुद्धलाई बधशालामा परिणत गरिएला भन्ने सोचेकै थिएनौं । हामीले लह लहैमा र रहरै रहरमा बन्दुक कदापि उठाएका थिएनौं । नेताहरु यतिसम्म स्खलित होलान् भन्ने कहिल्यै सोचेका पनि थिएनौं । आखिर जुन लक्ष्य उद्देश्य प्राप्तिका लागि बन्दुक उठाएका थियौं त्यो पूरा भएकै छैन ।

हजारौं हजार महान सहिदहरुका सपना पूरा भएकै छैन । कैयौं घाइते अपांग साथिहरु व्हिल चियर र सहयोगी बिना बाच्न नसक्ने स्थिती छन् । कैयौं अयोग्य ठहर्‍याएका साथिहरु घर न घाटको स्थितिमा छन्कै । कयौं कार्यकर्ता घरबार बिहिन छन् । फेरि सामाजिक जिवनमा फर्किन भयंकर डरलाग्दो समस्या छ । एउटा जर्जर लाग्दो अत्यास लाग्दो परिबेश उभिएको छ माओवादी आन्दोलनको जिवनमा सबैको मनमा तरलता देखिन्छ । स्थायित्व कमैमा छ । धेरैको सोचाईको बगानमा रम्नु पनि अत्यास लाग्दैछ । अँध्यारा अत्यास लाग्दा खोचहरु पनि छन् जिवनका । खहरेहरु पनि छन् । भेलहरु पनि छन्, खोल्सा खोल्सीहरु पनि छन् । यहाँ अनेक लाग्दा प्रश्न उत्तरहरु छन् । घरी भित्र घरी बाहिरा गरिरहेको छु । कोठा अँध्यारो छ । संगै सहकार्यका पलहरु ओल्टाई पल्टाई गरिरहेको छु ।