गजुरी ३ मा खुम्रेकिरा नियन्त्रण गर्न बत्ती जडान

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख १३, २०८१

धादिङ । गजुरी गाउँपालिका ३ पुराक्सिङका किसानको बारीमा खुम्रेकीराले अन्नबाली नष्ट गरेपछि बत्ती जडान गरिएको छ । खुम्रेकिराले अन्नबाली सखाप पारेपछि पुराक्सिङका किसानहरुले गत वर्ष पनि पालिकामा रोकथाम र क्षेतिपुर्तिका लागि ज्ञापन पत्र बझाएका थिए ।

किसानहरुको माग सम्बोधन गर्न चालु अर्थिक वर्षका लागि ५ लाख विनियोजन गरेका थियौं । सहि वजेटमा रहेर लाईट ट्रयाप कार्यक्रम लागु गरिएको पालिका प्रमुख गणेशलाल श्रेष्ठले धादिङपोष्टलाई बताए । खुम्रेकिरा नियन्त्रण गर्न नसक्दा गाउँ नै भोकमरीमा पर्ने अबस्था रहेको छ, यो प्रविधिले पक्कै पनि खुम्रेकिरा नियन्त्रण गर्न सकिने प्रमुख श्रेष्ठको विश्वास छ ।

माटोमुनी २ मिटरसम्म तल बसेर बालीनालीको जराखाने किरा खुम्रेकिरा भएकोले माटोको उपचार सँगै लाइट ट्रयाप विधि अपनाईने चलन छ । ३२ घर परिवार रहेको पुराक्सिङमा खुम्रेकिरा नियन्त्रण गर्न १६० वटा विद्युतीय पासो बारीका पाटामा जडान गरिएको छ । खुम्रेकिरा नियन्त्रण गर्नका लागि खुम्रा लागेको बारीमा बिजुली बत्ती बालेपछि खुम्रेकिराको माउलाई बत्तीमा आकर्षित गरेर पासोमा पार्ने प्रविधि (लाइट ट्रयाप) मार्फत किरा नियन्त्रण गर्न सकिने बताईएको छ ।