राष्ट्रपति पौडेलसँगको भेटमा कतारी राजा थानीको प्रतिवद्धता

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १२, २०८१

काठमाडौं । राष्ट्रपति पौडेलसँगको भेटमा कतारी राजा थानीले भने–नेपालमा लगानी गर्न कतार इच्छुक छ, तयार छ । जलविद्युत्, खेलकुद, कृषि, खाद्य प्रविधि र सुरक्षामा हाम्रो रुचि छ । म नेपाललाई सहयोग गर्न, नेपाल घुम्न र सम्बन्ध सुदृढ गर्न आएको हुँ । तपाईंहरूलाई थप सहयोगको वचन दिन आएको हुँ ।

‘विपिन जोशीको रिहाइका लागि पहल गर्छौँ’
राष्ट्रपति रामचन्द्र पौडेलले प्यालेस्टाइनमा हमास विद्रोही समूहको नियन्त्रणमा रहेको भनिएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि प्रयास गरिदिन राजा थानीसँग आग्रह गरे । कतारले शान्तिका लागि निर्वाह गरेको भूमिकाको पृष्ठभूमि उल्लेख गर्दै उनले यस्तो आग्रह गरेका थिए । राजा थानीले ‘प्रयास गर्ने’ आश्वासन दिएका छन् ।

‘राष्ट्रपतिज्यूले विश्वशान्तिका लागि कतारले गरेको प्रयासको सराहना गर्दै विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गर्नुभयो । जवाफमा राजाले हमासको नियन्त्रणमा रहेकाहरूको रिहाइसहित शान्तिका लागि प्रयास गरिरहेको भन्नुभयो । जोशीको रिहाइका लागि पनि प्रयास गर्ने उहाँको आश्वासन थियो,’ राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार डा. सुरेशचन्द्र चालिसेले भने ।

आज १०:३५ प्रधानमन्त्री प्रचण्डसँग वार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी राजा थानीबीच बुधबार बिहान १०:३५ मा होटेल सोल्टीमा औपचारिक वार्ता हुनेछ । भेटवार्तापछि खेलकुद, शिक्षालगायतका क्षेत्रमा हुने द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले राजा थानीको सम्मानमा बुधबार होटेल द्वारिकाज्मा दिवाभोज आयोजना गरेका छन् । दिवाभोजमा सहभागी भएर थानी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ । समाचार स्रोत: आजको नयाँपत्रिका आजको