रुवीभ्यालीको चालीसगाउँ पुग्यो भिटोफ टिम, यस्तो छ आजको कार्यक्रम

Avatar photo
Dhadingpost
बिहिबार, माघ १९, २०७९

धादिङ । बुधबार बिहान काठमाडौंबाट हिडेको गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको टोली रुवीभ्यालीको चालीसगाउँ पुगेको छ । राती पुगेको उक्त भ्रमण टोलीलाई राती स्थानीयहरुले भव्य स्वागत गरेका थिए । नेपाल पर्यटन बोर्डको समन्वय तथा धादिङको रुवीभ्याली गाउँपालिकाको सहकार्यमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको टोली रुवीभ्याली पुगेको हो ।

टोलीको आजको कार्यक्रम
बुधबार राती चालीसगाउँमा बास बसेको उक्त टोली बिहिबार बिहान सेर्तुङ गाउँ हुँदै घलेदरबार रुवीभ्याली भ्यू प्वाईन्ट पुगेको छ । यस भ्यू प्वाईन्टबाट गणेश हिमालेको हिम श्रृङ्खना, मनासलु, अन्नपूर्ण, लाङ्टाङ लगायत हिमालहरुको दृष्यालोकन गरेको छ ।

यो दृष्य अवलोकन पछि टोली सेर्तुङमा रहेको सबैभन्दा पुरानो ब्राका गम्बा अवलोकन गर्ने कार्यक्रम रहेको भिटोफका पूर्व अध्यक्ष तेज गुरुङले धादिङपोष्टलाई बताए । गुरुङका अनुसार यसपछि सेर्तुङ ठुलोगाउँमा स्थानीयले भ्रमण टोलीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसपछि यो टोली चालीसगाउँ फर्कने छ र ३ घण्टा स्थानीय होमस्टे संचालकहरुलाई तालिम दिनेछ ।

दिउँसो १ बजेबाट तामाङ, गुरुङ र घले लगायत समुदायको संस्कार, संस्कृति, भाषा, भेषभूषा, मौलिक खानपान, रहनसहन र विशिष्ट जीवनशैलीको अवलोकन, घाटु मासुनी, मेन्दोमायाँ, रोधी, गुरुङ कला संस्कृति विशेष कार्यक्रममा यो टोली सहभागी हुने छ भने बेलुका स्थानी ८७ प्रकारका खानाहरुको भोजन सँगै बृहत सांस्कृतिक कायएक्रममा यो टोली रमाउने बताईएको छ ।

भिटोफले सरकारलाई गरेको सिफारिसका आधारमा ०७६ साल मै चालीसगाउँलाई नयाँ पर्यटन गन्तब्य घोषणा गरिसकेको छ । यो घोषणा पछि भिटोफको टोलि पहिलो पटक रुवीभ्याली ४ स्थित चालीसगाउँमा थप पर्यटकीय सम्भाव्यताको अध्ययन तथा अवलोकनका लागि भ्रमणमा पुगेको हो ।

भिटोफको नेतृत्वमा दुई दिनको भ्रमणका लागि रुवीभ्याली पुगेको टोलीमा विभिन्न पर्यटन सँग सम्बन्धि संघ संस्थाका प्रतिनिधी, पर्यटन व्यवसायीहरु, पर्यटन विज्ञ र पत्रकारहरु छन् भ्रमण पछि ‘रुवीभ्यालीलाई चल्तीको गाउँ पर्यटन केन्द्र रुपमा ब्रान्डिङ गरिने भिटोफ नेपालका अध्यक्ष गोपाल थापाले धादिङपोष्टलाई बताए ।

आन्तरिक तथा वाह्य पर्यटकका लागि महत्वपूर्ण रुवीभ्यालीको संक्षिप्त परिचय
विश्वमानै दुर्लव बहुमुल्य खनिज रुवी यस पालिकामा प्रसस्त मात्रामा पाउन सकिन्छ । विश्वको हरेक ठाँउमा रुवी पाउन सकिन्छ तर गुणस्तरमा हेर्ने हो भने धादिङ जिल्लाको यस पालिकामा पाइने रुवी विश्वमानै नम्बर एकमा पर्ने भएकोलेनै यस पालिकाको नाम रुवीभ्याली गाउँपालिका नामकरण गरिएको हो ।

भू-आकृतिमा झन्डै गेलाकार आकारमा रहेको रुवीभ्याली गाउँपालिकाको भौगोलिक फैलावट पूर्वमा रसुवा जिल्ला, पश्चिममा गोरखा जिल्ला, उत्तरमा चीन तिब्बत र दक्षिणमा खनियाबास गाउँपालिका र गङ्गा जमुनासँग जोडिएको छ । पाविल हिमाल, गाणेश हिमालको काखमा रहेको यो पालिकाको मनोरंजन हिमदृश्य, हिमालय पर्बत बाट उत्पति भई यस गाउपालिकाको बीच भाग र जिल्लाको पनि लगभग बीच भागमा अविरल बग्ने आंखु को सौन्दर्यता, प्राकृतिक सम्पदाको रुपमा यस पालिकामा रहेको कालो दह, सेतो दह, ताताे पानी कुण्ड, पाङसङ भ्यु, माङने डाँडा, नाक पोखरी, दोङदेन पोखरी, गोठेन माने, गणेश कुन्द, मेल्बु दरबार ईत्यादि सांस्कृतिक विविधता एवं सामाजिक संयोजन रूपी संगमस्थल को रुपमा पनि परिचित छ ।

रुवीभ्याली पदयात्रा
धादिङ जिल्लाको रुवीभ्याली पदयात्रा पर्यटनका लागि ख्याति कमाएको गन्तव्य हो । गणेश हिमालको उज्यालोमा झलमल्ल छ भ्याली । साबिकका तिप्लिङ, सेर्तुङ र लापा गाविस मिलाएर रुवीभ्याली गाउँपालिका बनाइएको छ । भ्याली १,५३० मिटरदेखि ४,३४० मिटर उचाइमा फैलेको छ । पाङशाङ भन्ज्याङ (३,८५० मि.) भएर तिप्लिङ गाउँ हुँदै चालीस गाउँ, बोराङ, र्झालाङ र डुनडुरेसम्म रुबी भ्याली सर्किट पदयात्रा गरिन्छ । पाङशाङबाट गणेश, लाङटाङ, मनास्लु र अन्नपूर्ण हिमशृङ्खलाको मीठो दृश्य देखिन्छ ।

सोमदाङबाट जस्ता खानी हुँदै डेढ दिनमा पाल्दोर पिक (५,९०३ मि.) को बेस क्याम्पमा पुगिन्छ । त्यस्तै हिन्दुङ गाउँबाट ठाडो ओडार, दोब्रेडाँडा हुँदै दुई दिनमा गणेश हिमाल (७,४२२ मि.) को बेस क्याम्प (४,५५० मि.) मा पुगिन्छ । रुवीभ्यालीमा तामाङ, गुरुङ, घले र दलित समुदायको बसोबास छ । असला माछाका लागि प्रख्यात आँखु खोला छ जहाँ फिसिङ गर्न सकिन्छ । त्यस्तै प्राकृतिक तातोपानीका तीनवटा कुण्ड छन् । गणेश कुण्ड, कालो दह, सेतो दह पनि छन् । केही झरना पनि छन् । चट्टान आरोहणको सम्भावना पनि छ । गाउँमा घले राजाको अठारौं शताब्दीका दरबारका भग्नावशेष छन् ।

जैविक विविधताका हिसाबले पनि रुबी भ्याली सुन्दर छ । विभिन्न जडीबुटी, लालीगुराँस आदि पाइन्छ । जङ्गल क्षेत्रमा जीवजन्तु र चराचुरुङ्गीको बसोबास छ । दुर्लभ वन्यजन्तु रेडपाण्डासमेत पाइन्छ । रुबी भ्याली सर्किट पदयात्रा सोम्दाङबाट सुरु भएर पाङशाङ भन्ज्याङ, तिप्लिङ, चालीस गाउँ, हिन्दुङसम्म पुगेर गणेश हिमाल बेस क्याम्पसम्म पुग्छ । बेस क्याम्पबाट त्यही बाटो फर्केर तातोपानी, बोराङ हुँदै झारलाङसम्म पदयात्रा गरिन्छ । झारलाङबाट धादिङबेसीसम्म गाडीमा यात्रा । यसरी काठमाडौंबाट यात्रा गर्न ११ दिन लाग्छ । हिन्दुङसम्म टि हाउस टे«किङ सम्भव छ । तर, गणेश हिमाल बेस क्याम्प र पाल्दोर पिक बेस क्याम्पमा होटल सुविधा छैन ।

कसरी पुग्ने रुवीभ्याली:
काठमाडौं–त्रिशूली–स्याफ्रुबेसी १३२ कि.मि., जीपमा ६ घण्टा लाग्छ । स्याफ्रुबेसी–गटलाङ–सोमदाङ ५० कि.मि., जीपमा ४ घण्टा । सोमदाङबाट पदयात्रा ।