नीलकण्ठ नगरपालिकाको शैक्षिक अवलोकन भ्रमण पहिलो दिन: एक शब्द चित्र

Avatar photo
Dhadingpost
आइतवार, पुस १०, २०७९

नीलकण्ठ नगरपालिका,धादिङको आ.व.२०७९/८० को शिक्षा तर्फको वार्षिक कार्यक्रम अन्तर्गत शिक्षा क्षेत्रका असल अभ्यासहरु अवलोकन भ्रमण गर्ने कार्यक्रम अन्तर्गत मिति २०७९ पौष ९ गतेदेखि ११ गतेसम्मको ३ दिने भ्रमण अन्तर्गत पहिलो दिन विहान ७:३० बजे धादिङवेसीबाट नगर उपप्रमुख दिपक विश्वकर्माको नेतृत्वमा ३५ जनाको टोली लमजुङ जिल्लाको विभिन्न स्थानहरु, नमुना विद्यालयहरु अवलोकन गर्ने र घलेगाउँको होमस्टेमा बास बस्ने योजनाकासाथ प्रस्थान गरियो ।

भ्रमणलाई छरितो, मितव्ययी र उद्धेश्यमुलक बनाउने नगरपालिकाको लक्ष्य अनुरुप नगर उपप्रमुख दिपक विश्वकर्मा, नगर शिक्षा शाखाका उपसचिव नारायणप्रसाद वाग्ले, नगरपालिकाका सल्लाहकार दिपक कोइराला, सामाजिक विकास समितिका संयोजक चिनामाया श्रेष्ठ, नगर शिक्षा समितिका सदस्यहरु शंकर अधिकारी र इश्वरीप्रसाद पाण्डे, श्रोतव्यक्ति मेघनाथ कोइराला, नेपाल शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद अधिकारी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष खिलबहादुर धमला लगायत सामाजिक विकास समितिका सदस्यहरु, शिक्षकका पेशागत संघसंगठनका नगरपालिकास्तरीय अध्यक्षहरु, प्रधानाध्यपकहरु, परिक्षा समितिका सदस्यहरु, विषयगत समितिका सदस्यहरु लगायतको प्रतिनिधित्व हुने गरी सहभागी चयन गरिएको छ ।

विहानको झिसमिसेसँगै सहभागीहरु एउटा बस र नगरपालिकाको गाडी लिएर भ्रमणमा निस्केको टोली ९:३० बजे मुग्लिन पुलपारि पुरानो मस्र्याङ्दी फ्रेस फिस रेष्टुरेण्टमा गएर परिचयात्मक कार्यक्रमसंगै विहानको खाना खाइयो ।
१०:२५ बजे मुग्लिनबाट प्रस्थान गरेको भ्रमण टोली बाटोमा गाडीको म्युजिकमा रमाउँदै दायाबायाँका विभिन्न दृश्यावलोकन गर्दै ११ः३० बजे डुम्रेबाट भानु न.पा.हुँदै लमजुङतर्फ प्रस्थान गरियो । हाम्रो सवारी साधन जतिजति अघि बढ्दै थियो मेरो मथिङ्गलथमा भ्रमणलाई कसरी शिक्षाको विकासमा उपयोग गर्न सकिन्छ,यो भ्रमणबाट नीलकण्ठ नगरपालिकाले के सिक्न सक्छ भन्ने कुरा खेलिरहेको थियो ।

दायाँवायाँ देखिने प्राकृतिक संपदा,यहाँको भू–बनावट,यहाँका जनशक्तिलाई कसरी शिक्षासंग जोडेर राष्ट्र विकासमा उपयोग गर्न सकिन्छ भन्ने कुराले घच्घच्याइरह्यो । मध्यान्हको १२ बजेसँगै तुरतुरे पुगेपछि फाटेको बादलले सूर्यको न्यानो स्पर्श अनि फराकिलो दृश्यावलोकनले झनै आनन्दित बनाउँदै थियो । विस्तारै सहभागी साथीहरु आफ्नो सिटमा झुल्दै हुनुहुन्थ्यो भने आफ्नै गतिमा अघि बढिरहेको हाम्रो बसले झण्डै १२:२५ बजे पौदी खोला पुल तरेपछि सुन्दरबजार नगरपालिका प्रवेश गर्यो । हामी आफ्नो उद्धेश्य अनुसार सुन्दरवजारमा रहेको भक्ति नमुना मा.वि. अवलोकनार्थ प्रवेश गर्यौं । विद्यालयको गेट प्रवेश गर्ने वित्तिकै सुन्दर डिजाइनमा निर्मित विद्यालयको भौतिक संरचनाले हाम्रो ध्यान आकर्षित गर्यो ।

मध्य मस्र्याङ्दी जलविद्युत आयोजनाले निर्माण गरिदिएको विद्यालय भवन अन्य विद्यालयहरुको भन्दा अलिक आकर्षक थियो । विद्यालय हाता प्रवेशसंगै विद्यालयका प्रधानाध्यापक यज्ञराज घिमिरेले विद्यालयको वस्तुस्थितिकोबारेमा जानकारी गराउनुभयो । भक्ति नमुना मा.वि.ले आफ्नो स्वर्णजयन्तीको अवसरमा निर्माण गरेको स्तम्भ,विद्यालयलाई हरित विद्यालयको रुपमा विकास गर्दै गरेको, आवासीय भवनहरु बन्दै गरेको, हरेक शनीवार परिक्षा लिने, विद्यालयको नाममा ७३ रोपनी जग्गा लगायतका केहि कुराहरु मनन् गर्दै हामी १:४५ बजे हामी गाउँशहर स्थित लमजुङ राज्यको ऐतिहासिक दरबार तथा कालिका भगवती मन्दिर अवलोकनार्थ बायाँतर्फ मोडियौं ।
राजा यसो ब्रम्ह शाहले निर्माण र शासन गरेको ऐतिहासिक दरबारका विभिन्न पाटापक्षहरु अवलोकन,अध्ययन र तस्विर लिदैं ३ः२५ बजे हामी गाउँसहरबाट घलेगाउँका लागि प्रस्थान गर्यौं । महान जनयुद्धका सहिदहरुको सम्मानमा निर्मित सहिदगेट पार गर्ने वित्तिकै लमजुङको सदरमुकाम बेसिसहर प्रवेश गरियो । पहाडको फेदिमा लमतन्न परेर पसारिएको फाँटमा घना वस्तीसहित बसेको बेसीसहरस्थित लक्ष्मीनारायण सामुदायिक पुस्तकालयको अवलोकन गरियो । पुस्तकालयका व्यवस्थापक मधुसुदन अधिकारीबाट पुस्तकालय व्यवस्थापन, संचालनका बारेमा ब्रिफिङ लिएर बेसिसहरका बाँकी बजार बसबाटै अवलोकन गर्दै हामी सांघुरो बाटो उकालो लाग्यौं । विच-विचमा नगर उपप्रमुख, शिक्षा शाखाका उपसचिव, सल्लाहकार, श्रोतव्यक्तिहरुले हाम्रो भ्रमणलाई दिशानिर्देश गर्दै अनि सहभागीहरुका रमाइला गीत, नृत्य र गफहरुले यात्रालाई रमाइलो बनाउँदै थियो । घलेगाउँ जाने बाटो साँघुरो र केहि स्थानमा डरलाग्दा भीर पहरा पार गर्दै साँझ ६:१५ बजे घलेगाउँ प्रवेश गरियो । घलेगाउँको पर्यटकीय सौन्दर्य र आतिथ्यता स्वीकार गर्दै परम्परागत घले संस्कृतिमा रमाइलो गर्दै पहिलो दिनको यात्रा विश्राम गरियो । क्रमसः…