धादिङको सिङ्ल्ह मेला साउन २७ गते हुँदै, यसरी पुग्न सकिन्छ सिङ्ल्ह म्हाने

Avatar photo
Dhadingpost
सोमवार, साउन १६, २०७९

धादिङ । धादिङको आन्तरिक र वाह्य पर्यटकलाई आकर्षित तुल्याउने पर्यटकिय सिङ्ल्ह मेला यहि साउन २७ गते हुने भएको छ । खनियाबास गाउँपालिकामा र रुबीभ्याली गाउँपालिकाको सिमानामा रहेको सिङ्ल्ह र गोने ङ्या ४ हजार ३०० मिटरको उचाईमा रहेको र हरेक वर्ष तामाङ पात्रो अनुसार गोने (साउन) महिनाको पूर्णिमा लाग्ने हुँदा यो वर्षको २७ गते मेला हुन लागेको हो ।

बोम्पो संस्कृति सँग जोडिएको यस मेला हेर्न हरेक वर्ष आन्तरिक तथा वाह्य पर्यटकहरुको घुईचो लाग्ने गर्दछ भने यहाँबाट देखिने प्राकृतिक सन्दुरतार हिमलाको काख भएकोले पनि यो मेला विशेष हुने गरेको पाईन्छ । यस मेलामा बोम्पो कुङ्करमा प्रवेश गर्दा र बिदा गर्दा सोइ बोम्पो सोइ गरेर बुढाबुढी देखि बालबच्चासम्म उफ्रने गर्दछन् । जसले गर्दा मेला भर्न आउनुको रौनकता थपिन्छ, सबैमा उत्साह बढाइदिन्छ ।

सिङ्ल्ह तामाङ शब्द सिङ र ल्ह मिलेर बनेको हो, जसको अर्थ चेली र देव-लेक हुन्छ । आफ्ना दुई छोरी हैजाको कारण मृत्यु भएपछि राजाले एकको नाममा मन्त्र खोपेको सोकसिङ गाडेर सिङ्ल्हमा कुङ्कर बनाए र अर्कीको नाममा त्यसैगरी नुवाकोट जिल्लाको फ्युकुरीमा अर्को कुङ्कर बनाए भन्ने किम्बदन्ती पाइन्छ ।

अर्को किम्बदन्ती अनुसार मङ्च्यतमा गोठ ल्याएको एक गोठालाको सपनामा चमत्कारपूर्ण परीले त्यस ठाउँमा भक्तिभाव तथा पूजा अर्चना गर्नु भनेकाले त्यहाँ कुङ्कर स्थापना गरिएको हो भनिन्छ । बोन धर्मको प्रभाव रहेको त्यस बेला बोम्पोहरूलाई सुख, शान्ति र समृद्धिको लागि पूजापाठ गर्न लगाए । त्यो भदौपूर्णिमा (गोनेङ्या) को दिन परेकोले त्यही बेलादेखि प्रत्यक वर्ष गोने ङ्याको बेला बोम्पो मेला लाग्ने गरेको अनुमान गर्न सकिन्छ । अद्यापि रसुवा र नुवाकोटदेखिको बोम्पोहरू चेलालाई वाङकुर दिन वा आफै थप शक्ति प्राप्त गर्ने उद्देश्यले प्रत्येक गोने ङ्यामा आउने गर्दछन् ।

सिङ्ल्ह ज्यादै सुन्दर एवम् मनमोहक स्थानमा अवस्थित छ । यस वरपरका भूमि, डाँडा, रुख लगायतका प्राकृतिक सम्पदाहरू सबै सिङ्ल्ह म्हाने रहेको स्थानतर्फ झुकिरहेको छ । अग्लो स्थानमा रहेकोले यहाँबाट बेंशीको समथर मैदानी भागदेखि लेकको फाँट, चउर तथा खर्कहरू पनि देख्न सकिन्छ । लेकको चिसो सिरेटोसँगै लागिरहेको हुस्सुमाझ चउरभर सल्बलाइरहेका रङ्गीचङगी फुलहरूको दृष्यले जो कसैलाई मोहनी नलगाइ छाँड्दैन । चिसो र झरी सहेर पनि केही नभएको आभाष दिलाउँदछ । यहाँ बहुमुल्य जटिबुटीहरू पनि पाइन्छ । यहाँ बाह्य पर्यटकहरू पनि आएको देखिन्छ ।

सिङ्ल्ह पुग्नको लागि हिउँदमा काठमाडौंदेखि नै सार्वजनिक जिप वा बससेवा झार्लाङसम्म पाइन्छ । वर्षामा भने काठमाडौंबाट धादिङबेंशीसम्मको मिनि बस, माइक्रो बस र डिलक्स बसहरू माछापोखरी, बालाजुमा पाइन्छ । धादिङबेंशी मिलनटोलमा लेकाली काउण्टरबाट दामन पाख्रिन मार्ग हुँदै किम्ताङफेदीसम्म जीपको टिकट पाइन्छ । किम्ताङफेदीबाट अर्को जीपमा तरम्हाने, दार्खासम्म पुर्याउँदछ ।

पहिलो दिन डुुन्डुरेमा स्थानीय होटलमा बास बस्नुपर्दछ । भोलिपल्ट बिहानै नास्ता गरी झार्लाङतर्फ लाग्नुपर्दछ । झार्लाङ पहिरो वारी मेयममा खाना खाइ तार्जी, बेन्दी वला, बोद्ते हुँदै तिकासुङ डाडाबाट उकालो चढ्नुपर्दछ । वा, झार्लाङ पहिरो पार गरेर च्यम्थली, ओङगुल, छमगङ, सिचेत, तिकासुङ हुँदै उकालो चढ्नुपर्दछ ।

दोस्रो दिन मचेत आसपासमा बास बस्नुपर्दछ । बास बस्न त्यहाँ ओडार तथा गोठहरू प्रयोग गर्नुपर्दछ । त्यसैले खाना र बन्दोबस्तीको सामग्री आफैले व्यवस्था गर्नुपर्दछ । तेस्रो दिन बिहानै सिङ्ल्ह दर्शन त्यहाँका मनोरम दृष्य हेरेर फर्किन पनि सकिन्छ । सहजताको लागि एक रात थप रोक्न पनि सकिन्छ । झार्लाङ, सेर्तुङ, तिप्लिङ वा किस्पाङतर्फ फर्किन सकिन्छ ।

यात्राको क्रममा जुका पनि लाग्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउनुपर्दछ । काठमाडौंदेखि झार्लाङ हुँदै सिङ्ल्ह पुगेर फर्किन ४ देखि ५ दिन लाग्दछ भने आसपासका गाउँहरूबाट ३ दिन मात्र लाग्दछ । काठमाडौंबाट आउनेहरूका लागि गाडी भाडा २,४००, सादा खाना १,२००, चिया नास्ता १,०००, औषधी तथा ड्राइ फुड १,५०० गरी ६,१०० खर्च चाहिन्छ । यो खर्च हिउँदमा कम र वर्षामा बढी लाग्दछ । (तस्वीरः रोशन फ्युवा, समाचार: तामाङ लोक साहित्यका अध्यता गोपाल फ्युबा तामाङ सँग गरिएको कुराकानीमा आधारित ।)