खुम्रे किराको प्रकोपले गजुरी पुराक्सिङका किसानको मकै सखाप

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख २७, २०७९

धादिङ । गजुरी-बारीमा छरेको मकै पहिलो गोढाई पुरा नगर्दै पुन मकै छर्नुपर्ने अवस्था आएको छ । खुम्रे किराले मकैको बिरुवाको मुल जरो काटेपछि मकै पहेंलो हुने र केही दिनमै मकैको बिरुवा सुक्ने गर्दछ ।

मकैको बिरुवा उखेलेर हुर्दा खुम्रे किरा भेटिन्छ । यहाँका किसान अहिले मकै गोड्दै खाली ठाँउमा पुन मकै छर्दैछन् ।पुराक्सिङका किसानलाई खुम्रे किराले खाद्य संकट तर्फ धकेल्दै छ । “यसपाली यहाँका किसानलाई खाद्यन्न संकट हुन्छ” गजुरी गाँउपालिका वडा नं. ३ गठित खाद्य अधिकार प्रभावित समूहका सदस्य रामकुमार चेपाङले बताए ।

६८ वर्षिय कृष्णबहादुर प्रजा पनि खुम्रे किराबाट आजित भएका छन् । “काठमाडौबाट पाउण्डर ल्याएर मकैमा मोलेर छर्दा खुम्रे किराले मकै खासै नोक्सानी गर्न सक्दैन थियो । अहिले त गजुरी बजारबाट पतेराको विष ल्याए हाल्यो । खुम्रे किराले सखाप पार्छ” उनी भन्छन्, “अलि पहिले थाइण्ड भन्ने झोलमा मकै मोलेर छर्दापनि त्यति नोक्सानी गर्दैन थियो ।”

अहिले नै राजेन्द्र, कमल, रामचन्द्रले दोहो¥याएर छरिसके । अझ धेरैले पछि छरेको मकै भर्खरै उम्रेको छ । एकोहोरो गाड्ने बेलासम्म आधा आधी खान्छ । “दोहोरो गोड्ने बेलासम्म मकैको बिरुवा सबै सुकिसक्छ” प्रजाले भने, “हाम्रो गाँउमा २९ परिवार छौं । ४-५ परिवारलाई मात्र खुम्रे किरा नलागेको साल खान पुग्छ । अरु परिवारलाई त छ महिना खानपनि मुस्किल हुन्छ ।”

खाद्यन्न अभावमै बालबालिकामा कुपोषण हुने गरेको समूह श्रोत व्यक्तिसमेत रहेकी पुराकसिङ खाद्य अधिकार समूहकी सदस्य बिमला चेपाङले बताइन् । आफूहरुले लामो समयदेखि खुम्रे किराको प्रकोप खेप्दै खाद्य अभाव झेल्दै आएको बताइन् । “अहिलेसम्म आफूले खुम्रे किराको बारेमा कसैलाई पनि नभनेको र तर आसपासका धेरैलाई थाहा भएको छ ।

अहिले फियान नेपालले खाद्य अधिकार बारेमा जानकारी गराएपछि पुराकसिङ खाद्य अधिकार प्रभावित समूह गठन गरेर सबै समूहमा संगठित भएका छौं” उनले भनिन्, “अब खुम्रे किरा नियन्त्रण नभएसम्म निरन्तर सरकारका निकायमा धाउने योजना बनाउँदै छौं । हामीलाई खुम्रे किराले नोक्सान नपु¥याउने बाली, सिँचाईका लागि कुलोको व्यवस्था मिलाउनु पर्ने माग तयार गरेका छौं ।” कारोवार दैनिकबाट