सन्दर्भ जनयुद्ध दिवस, सम्मान कि अपमान

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन १, २०७८

सम्मान पनि अति भयो भने अपमान हुन्छ, अहिले अपमानित भएर बाचेको महसुस गर्ने भनेको जनयुद्धको लागी जीवन आहुती दिनेहरु र समय बर्बाद गर्नेहरु नै बढी होलान् ।

राज्यव्यवस्था परिवर्तनको लागि जनयुद्ध लडेर जनताको मत लिएर अहिले सम्म निरन्तर सरकारमा रहेको पार्टी माओवादी पार्टीका नेताहरु लुछाचुडिको लडाइँमा चमत्कार गर्दै लक्ष्य भुलेर विद्रोह नै विद्रोहमा कयौं टुक्रा भयो र सरकारको खोलभित्र नेताहरुको कमाउ धन्दाले राजनीति नै लज्जायो ।

त्यही नेताहरु विकास वजेट निचरेर आफ्नो आर्थिक हैसियत आकाश जमिनको परिवर्तन गरिसकेपछि देशमा परिवर्तन आईसक्यो भन्छन् कमाउन नसक्ने विपन्न गरिव वर्गलाई जीवन धान्न धौ-धौ नै छ परिवर्तन के हो बुझ्नै पाएनन् ।

जनयुद्धका समर्थक, शुभेच्छुक, सहयोगी, सहभागीहरु सबैले अबका दिनमा देश र जनता प्रति समर्पित र्इमानदार, साझा उम्मेदवार खोज्नु आवश्यक छ । नेताहरुको जीवन शैली हैन जनताको बाच्ने आधार परिवर्तन हुनु जरुरी थियो जसले जनयुद्ध दिवसको महत्व झल्काउथ्यो । शुभकामना आदानप्रदान गर्न सकिन्थ्यो,खुसी साट्न सकिन्थ्यो ।

जनयुद्धले दिएको पीडा भुलाउन सकिन्थ्यो । जनताको पिडामा मल्हम लगाउन सकिन्थ्यो । अबका दिनमा जनयुद्धको झझल्को दिदै घाउमा नुन चुक दल्न बर्सेनि जनतालाई गिज्याउन खोज्नेलाई जनताले चिन्ने छन् र निर्वाचनको सदुपयोग गर्नेछन् । आफ्नै सोच विचार र सपना नभएका प्राणीहरुले बिर्से होलान तर सबैले बिर्सन सकेका छैनन जनयुद्ध के का लागि थियो । अझै बाटो भुल्नेहरुको स्वार्थ सिद्ध भै सकेको देखिन्न । जनतामा परिवर्तनको भ्रम छर्दै कमाउ धन्दामा लिप्त अथाह सम्पत्तीका प्यासी कमरेडहरुको न आत्मासमिक्षा न आत्म आलोचना न आत्म समर्पण ।

अझै भ्रम, झुट, ठग, बेइमानी, बदमासीले जनतासंगको दुरिले जनयुद्ध दिवस एक इतिहास बन्ने निश्चितै छ । हुन त जनयुद्धले ल्याएको भनिएको परिवर्तन पानी माथिको डुङ्गाले झै बाटो मेट्दै भोलीका दिनमा बिर्सन सक्ने सम्भावना त्यतिकै छ । के सहिद परिवार, बेपत्ता परिवार, घाइते, अपाङ्ग, शुभेच्छुकहरुले वर्षको एक दिन अति उच्च सम्मानको भाषणमै वर्षदिन कटाउन वाध्य भएका छ्न् ।

हामी र हाम्रो पार्टीलाई जिताउनुस तीन वर्षमै देश कायापलट गर्ने भाषण ठोकेर सरकारको स्वादमा लठ्ठिएको १५ वर्ष पूरा भइसक्दा जनताले गरि खान सक्ने अवस्थाको सृजना गर्न नसक्नु नै पार्टीको राजनीतिक लाइन गलत थियो, नेतृत्व असक्षम थियो भन्ने प्रमाण हो ।

जनयुद्धको सम्झनामा जनताको वास्तविक अवस्था र जीवन स्तरमा कुनै परिवर्तन बिना बुर्लुक्क उफ्रेर मुठ्ठी बटारेर चर्का भाषण ठोक्नुले अझै माओवादीको धार परिवर्तनको लागि हैन कमाउनकै लागि आफ्नो नीति बनाइ रहने हो कि भन्नेमा शंका मात्र हैन ठोकुवा नै गर्न सकिने आधार बनेको छ । नेताले सिके, जानेर गरे त्यही मार्ग कार्यकर्ताले अवलम्बन गरेको तत्य सर्वबिदितै छ ।

जनताको तर्फबाट राजनीति गर्ने सबै दललाई सचेत गराउनु हरेक नेपाली नागरिकको कर्तब्य हुनाले सुन्न सक्ने बुझ्न सक्ने नेताको कमि महसुस हुँदाहुदै पनि बेला बखत आफ्नो पहुँच भए सम्म नेताहरुलाई बिषय बस्तुको बारेमा जानकारी गराउदै सहि मार्गमा ल्याउने प्रयास निरन्तर गरिरहनु पर्दछ ।