अहिलेको गाउँ

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ११, २०८१

सडक सञ्जाल पुग्यो गाउँमा, पहाड र भिर खोपी
गाडी गुड्छ धुलो उड्छ, बस्छन् गाउँले मुख छोपी ।
पहिले थियो एउटा सडक, अहिले छ गाउँ भरी
गाडी आउँछ कहिले काही, छैनन् यात्री कठैबरी ।
(१)

हिड्ने बाटो कतै छैन, सडक छ घर घर जाने
बाँझा भए खेतबारी, छैन अनाज के हो खाने
भाको खेतबारी पनि, सडकको घेरामा छ
छोरा छोरी घरमा छैनन्, घर शहरको डेरामा छ ।
(२)

गाउँमा अहिले छैन लेनदेन, औचो,पैचो हराई गयो
एकापसमा सहयोग छैन, छिमेकी नै पराई भयो ।
भारोपर्म पनि त्यस्तै, एकादेशको कथा भयो
त्यस्तो राम्रो मानवता, हैन अहिले कता गयो ?
(३)

सुनिदैन घार्र घुर्र, न देखिन्छ भैसी गाई
देखिँदैन बालि नाली, जीवन धान्ने किनेर खाई ।
जोत्ने चलन हरायो है, खेतबारीमा गोरु नारि
खेतबारी मै मोटर पुग्छ, पर्दैन है बोक्न भारी ।
(४)

यता गयो उता गयो, मोटरसाईकल टि टि गरी
हिड्ने बानी हराई सक्यो, मोटर चढ्यो सधैैै भरी ।
खेत जाँदा, स्कुल जाँदा, यसो नजिक जाँदा कतै
सडकको दुःख छैन, खनेका छन् जताततै ।
(५)