मन्त्री राजेन्द्र पाण्डे र जमकट्टेलले आफ्नै क्षेत्रमा गर्न नसकेका ३ काम

Avatar photo
Dhadingpost
आइतवार, माघ १६, २०७८

धादिङ । धादिङ जिल्लाको दक्षिणी क्षेत्र कम्युनिष्टहरुको बाहुल्यता रहेको क्षेत्रको रुपमा चिनिन्छ । यहि क्षेत्रबाट राजेन्द्र पाण्डे र शालिकराम जमकट्टेल ले पटक पटक निर्वाचन जितेका मात्रै छैनन् । पार्टी र सरकारको नेतृत्व तहमा समेत पुगिसकेका छन् ।

यतिबेला पनि नेता पाण्डे बागमती प्रदेशको मुख्य मन्त्रि छन् , भने जमकट्टेल वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हुदै फेरि आर्थिक मामिला तथा योजना मन्त्री छन् । धादिङका यी दुई टप लिडर आफ्नो पार्टीको केन्द्रमा उत्तिकै पहुँच पनि राख्ने नेता हुन् ।

यी दुई नेता अहिले प्रदेश सरकारको मुख्य भुमिकामा रहँदा समेत आफ्नै जिल्लाको आफ्नै क्षेत्रमा गर्नै पर्ने तीन काम नगर्दा आलोचित हुँदै आएका छन् । यी दुई नेताले चाहे भने एक निर्णयले यी तीनै काम महिना दिन मै पुर्णता पाउन सक्छन् । तर किन, पुरा गर्ने आश्वासन मात्रै दिई रहेका छन् ? स्थानीय चुनाव जेठमा हुने करिव करिव पक्का जस्तै भएको छ । के स्थानीय तहको चुनाव अगाडी यी तिन काम यी नेताद्वयले गर्लान त ?

पहिलो काम
वि. स. ०६८ साल असार २४ गते एक भव्य कार्यक्रमका बीच तात्कालिन माओवादी केन्द्रका नेता तथा संविधान सभा सदस्य पुष्प विक्रम मल्लद्वारा शिलान्यास भएको फुर्केखोला स्थित धादिङको ऐतिहासिक सहिद गेटले अझै पुर्णता पाएको छैन । सहिद गेटको कामले १० वर्षमा समेत पूर्णता पाउन नसक्दा यी दुई मन्त्रीलाई धादिङबेसी आउँदा होस वा राजमार्गमा यात्रा गर्दा सहिद गेटले गिज्याई रहेको छ । विशेषत माओवादीले निमार्णको सुरुवात गरेको यस गेट निर्णको सुरु सँगै ०६८ साल पछि तात्कालिन माओवादी नेताहरु पुष्प विक्रम १ पटक संविधान सभा सदस्य, शालिकराम जमकट्टेल १ पटक संविधान सभा सदस्य, प्रदेश सदस्य हुँदै प्रदेश सरकार बने देखि निरन्तर मन्त्रि, कल्पना धमला संविधान सभा सदस्य मन्त्री, रविन्द्र प्रताप शाह संविधान सभा सदस्य, वीरबहादुर तामाङ संविधान सभा सदस्य, जगत सिंखडा बागमती प्रदेश सांसद बनि सकेका छन् । केन्द्रिय सत्ता र प्रदेश सत्ता आफ्नै हुँदा समेत यो गेटलाई पूर्णता दिन मन्त्री जमकट्टेल चुकिरहेका छन् ।

दोस्रो काम
धादिङ गजुरी गाउपालिका वडा नंम्बर २ मा छेवाङ गाउँ मुख्यिमन्त्री राजेन्द्र पाण्डेको जन्म भएको गाउँ हो । आफ्नै जन्मभुमी छेवाङ देउरालि आम्डाडे र गलेस गाउँ अझै पनि टुकी बल्छ । सत्तामा र पार्टी नेतृत्वमा पुगेका पाण्डेले आफ्नै जन्मभुमिका विद्युतिकरण नगर्दा स्थानीयहरुले पटक पटक विद्युतिकरणको लागि विद्युत प्राधिकरणमा निवेदन दिए तर हाल सम्म पनि मुख्यमन्त्रीको जन्मभुमि टुकी कै भरमा गुज्रिरहेको छ ।

तेस्रो काम
धादिङको गजुरी गाउँपालिका स्थित चामबासका १८ घरधुरी पहिरोका कारण विस्थापित भएपछि बिहानी पम्प नजिक आएर बसेको दुई वर्ष विति सकेको छ । विस्थापित उनीहरुलाई अस्थायी बसोवासको लागि अस्थायी टहरा निर्माण गर्न दाजुभाई पुष्प उप्रेती र प्रकाश उप्रेतीले जग्गा उपलब्ध गराएका थिए । तामाङ वस्ति पनि १८ घर परिवार २ वर्ष देखि त्रिपाल मुनि दिन कटाईरहेका छन् । पटक पटक यो बस्तीमा नेताहरु पुगेका छन् र स्थायी वसोबासको लागि जग्गा प्रदान गर्ने बताउँदै आएका छन् । मन्त्री जमकट्टेलले बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री हुँदा गत साउन ८ गते गजुरी गाउँपालिकाका प्रमुख, उप-प्रमुख, सुरक्षा निकायका प्रतिनीधि र रेडक्रसकर्मी सहित स्थलगत निरिक्षण गरि दिर्घकालिन वसोबासका जग्गा प्रदान गरिने बताएका थिए । तर आश्वसनमा सिमित यी विस्थापितहरु सुरक्षित र स्थायी वसोवासका लागि जग्गाको प्रतिक्षा मै बस्न वाध्य छन् ।