खुल्ला पर्दामा रामनाथ त्रिपाठीको यथार्थमय अनुभूति

Avatar photo
Dhadingpost
बुधबार, माघ १२, २०७८

इच्छाकामना साहित्य प्रवाहले आयोजना गरेको लक्ष्मीजयन्ती (२०७८) विशेष कार्यक्रममा खुल्ला पर्दा शीर्षकको कवितासङ्ग्रह प्रकाशित भएको छ । प्रस्तुत कवितासङ्ग्रहको सर्जक इच्छाकामना ४ कुरिनटार चितवन निवासी रामनाथ त्रिपाठी हुन् । माता मिनाकुमारी त्रिपाठी र पिता टेकनाथ त्रिपाठीका सुपुत्रका रूपमा विं.सं २०२८ मा जन्मिएका रामनाथ त्रिपाठीले वीरेन्द्र बहुमुखी क्याम्पस चितवन भरतपुरबाट प्रवीणता तहसम्मको औपचारिक अध्ययन हासिल गरेका छन् ।

उनको औपचारिक अध्ययन प्रवीणता तहसम्म मात्र भए तापनि उनको स्वध्यायन भने गहिरो देखिन्छ । त्रिपाठी समाजमा सक्रिय व्यक्ति हुन् । उनी विभिन्न समाजिक, सांस्कृतिक, साहित्यिक, राजनैतिक सङ्घसंस्थामा आबद्ध रहेका छन् । ६० को दशकदेखि नै फुटकर कवितालेखनमा सक्रिय रहेका रामनाथ त्रिपाठीको विभिन्न फुटकर रूपमा प्रकाशित तथा अप्रकाशित कविताहरूको सङ्गालोको रूपमा उनको प्रथम पुस्ताकाकार कवितासङ्ग्रह खुल्ला पर्दा विं. सं २०७८ मा प्रकाशित भएको छ । उनका कविताहरू सामाजिक धरातलको यथार्थमा उभिएका छन् साथै प्रगतिशील चेतले रङ्गिएका छन् । उक्त खुल्ला पर्दा कवितासङ्ग्रहको छोटो चर्चा गर्ने प्रयास तल गरिएको छ ।

खुल्ला पर्दा कवितासङ्ग्रहमा मध्यम आयमका मुक्तलयधर्मी बत्तिसओटा कविताहरू सङ्गृहीत रहेका छन् तर यस सङ्ग्रहका कविताहरू मुक्तलयका भए तापनि कतिपय कविताहरू साङ्गीतक लयबद्ध छन् । खुल्लापर्दा कवितासङ्ग्रहभित्र रहेको खुल्ला पर्दा शीर्षकको कविताबाट सिङ्गो कवितासङ्ग्रहको नामकरण खुल्ला पर्दा राखिएको पाइन्छ । साथै कवितासङ्ग्रहभित्रका विषयवस्तुका आधारमा पनि कवितासङ्ग्रहको नाम खुल्ला पर्दा राखिएको देखिन्छ । कविले जीवन भोगाइमा देखेका, भोगेका हाम्रै समाजका गतिविधिहरू कवितामा विषयवस्तु बनेर आएका छन् । तसर्थ कविता सरल छ । पर्दा लागेको छैन । पर्दा खुला छ । सूक्ष्मतम कल्पना कवितामा विधागत रूपले अपरिहार्य रहे तापनि यथार्थकै जगमा कविभावना उद्वेलित हुन पुगेको देखिन्छ ।

खुल्ला पर्दा कवितासङ्ग्रहलाई इच्चाकामना साहित्य प्रवाह चितवनले प्रकाशन गरेको देखिन्छ । आवरण पृष्ठबाहेक ६३ पृष्ठमा फैलिएको उक्त कवितासङ्ग्रहको मूलभाग पृष्ठ १ देखि ५० सम्म रहेको छ । भूमिका तथा शुभकामना खण्डमा पृष्ठ सङ्ख्या दिइएको छैन । कवि कृष्णप्रसाद पोखरेलको पद्यमा सुबद्ध शुभकामना, खुल्ला पर्दा कवितासङ्ग्रहको पक्षमा शीर्षकको समीक्षक तेजविलास अधिकारीको भूमिका, इच्छाकामना साहित्य प्रवाहको प्रकाशकीय तथा कवि स्वयम्को मेरो भनाइ र आवरण पृष्ठको बाहिरी भागमा रहेको अर्जुनबहादुर खत्रीको टिप्पणीले पनि खुल्ला पर्दा कवितासङ्ग्रह र कवि त्रिपाठीको बारेमा केही बोलेको छ । जसले यस कवितासङ्ग्रहका पाठकलाई सहज बनउने छ । तल खुल्ला पर्दा कवितासङ्ग्रहमा सङ्गृहीत बत्तिसओटा कविताहरूको भावभूमि तथा अन्तर्वस्तुबारे छोटो चर्चा गरिएको छ:
स्वागत शीर्षकको कविता वि.सं. २०५९ आश्विन १५ मा लेखिएको देखिन्छ । यस कवितामा देशको विकास, उत्थान र समृद्धिका लागि आआफ्नो क्षेत्रबाट सक्रिय भूमिका खेल्नुहुने अग्रज तथा अनुजप्रति सम्मानभाव व्यक्त गरिएको छ ।

आमा शीर्षकको कविता वि.सं. २०६८ वैशाख २ गते लेखिएको पाइन्छ । प्रस्तुत कवितामा सङ्घर्षशील जीवन जिइरहनुभएकी आमाको महिमालाई देखाइएको छ । आमाप्रति सम्मानभाव व्यक्त गरिएको छ । कविताले आमाकै जीवनसङ्घर्षलाई देखाए तापनि हिजोको हाम्रो ग्रामीण समाजको गतिविधिलाई पनि केही हदसम्म छर्लङ्ग पारेको छ ।

बधाई शीर्षकको कविता २०६९ साल पौष ५गते लेखिएको देखिन्छ । यस कवितामा श्रम र श्रमिकहरूप्रति श्रद्धाभाव व्यक्त गरिएको छ । सहिदको सपना, बुद्धको शान्ति सन्देश तथा विश्वमाझ नेपालीत्व भाव जागृत गराउन र राष्ट्रिय उन्नति, प्रगति र समृद्धिका लागि श्रम र सिपप्रति आस्था राख्दै अग्र पङ्क्तिमा उभिन श्रमजीवीहरूलाई कवितामा आह्वान गरिएको छ ।

मानवीय महत्त्वाकाङ्क्षाले पर्यावरणीय सन्तुलन बिग्रन गई अतिवृष्टि, अनावृष्टि, भूकम्प, बाढी, पहिरो, भूक्षयजस्ता प्राकृतिक विपद्हरूलाई मानिसहरूले समय समयमा सामना गर्नु परिरहेको छ । कविले विपद् शीर्षकको कवितामा मानवीय संवेदना नगुमाई विपद् व्यवस्थापनमा एकजुट भएर लाग्न आह्वान गरेका छन् । साथै उनले सम्भावित विपद्हरूलाई न्यूनीकरण गर्न सजग र सचेत हुन आग्रह समेत गरेका छन् ।
तिहार शीर्षकको कविता २०६४ कात्र्तिक ५ गते लेखिएको देखिन्छ । यसमा हाम्रो सामाजिक सांस्कृतिक पर्व तिहारको महत्त्व देखाइएको छ र शारदीय मनोहर प्रकृतिको पनि चित्रण गरिएको छ । साथै सामाजिक सांस्कृतिक पर्व तिहारमा मौलएको जुवातास, मदिरासेवनजस्ता विकृत तथा विसङ्गत दुव्र्यसनीमा नलाग्न आह्वान गरिएको छ ।

बाटो शीर्षकको कविता वि.सं २०७६ माघ २२ गते लेखिएको पाइन्छ । विकासका लागि सडकमार्ग अनिवार्य छ भन्ने भाव बाटो शीर्षकको कवितामा मुखरित भएको छ र सडक निर्माण कार्यमा कसैले पनि अवरोध नगरौँ भन्ने आग्रह पनि गरिएको छ । पानी शीर्षकको कविता २०७० साल असार १३ गते रचना गरिएको देखिन्छ । यस कवितामा मानवीय जीवनमा पानीको महत्त्वको महिमागान गाइएको छ । पानीलाई जीवनका रूपमा पनि हेरिन्छ । कवितामा पानीको संरक्षणका लागि जोड दिइएको छ ।

बाल गीत शीर्षकको कविता विं. सं. २०६८ जेठ २७ गते लेखिएको पाइन्छ । प्रस्तुत कविता देश विषयक प्रेमभावले मुखरित भएको छ । कवितामा देशका साना नानीबाबुहरूले राष्ट्रिय उन्नतिका लागि सत्सङ्कल्प गरेका छन् । कवितामा भनिएको छ ः
मिर्मिरेमा उठ्ने छौँ
झुल्के घामझैँ बढ्ने छौँ
सारा हाम्रो अन्धकारमा
ज्ञानको द्वीप बाल्ने छौँ ।…(पृ.११) ।

रिसाउनेहरू शीर्षकको कविता २०६७ साल फागुन १४ गते रचना गरिएको देखिन्छ । यस कवितामा मानवलाई मानव बन्न प्रेरित गरिएको छ । प्रकृतिले आफ्नो स्वभाव परिवर्तन गरेको देखिँदैन तर मान्छे स्वकीय स्वार्थ परिपूर्तिका लागि मानवीय संवेदना गुमाउन पुग्छ । क्रोधित बन्दछ । मानवीय व्यवहार छोडेर राक्षसी व्यवहार आचरण गर्दछ । कविले कवितामा रिसाउनेहरूलाई रिस त्यागेर प्रेम गर्न आह्वान गरेका छन् ।

विवशता शर्षकको कविता विं. सं २०७० साल वैशाख ३ गते लेखिएको पाइन्छ । प्रस्तुत कवितामा दुःख पीडा, अभाव, वेदना,उत्पीडन, अन्याय, अत्याचार, शोषण, दमन आदिसँग सामना गर्दै विवश भएर कविताको म पात्र आशाको खोजीमा जिन्दगी जिइरहेका छन् भन्ने भाव उजागर भएको छ । दुःखहरूसँग सङ्घर्ष गरेका छन् । दुःखदेखि डराएर जीवनबाट पलायन भएका छैनन् । यो जीवन शीर्षकको कविता २०६० साल साउन ८ गते रचना गरिएको देखिन्छ । यो कविता विवशता शीर्षकको कविताको परिपूरक कविता हो । सुख र दुःखको मिश्रितरूप जीवन हो । मान्छेले चाहेर या नचाहेर जसरी पनि जीवन जिउनु नै पर्छ । कवि त्रिपाठी जीवनलाई यसरी हेर्छन्:
कहिले चैतको घाममा डढेर
कहिले साउने झरिमा रुझेर
डढेर रुझेर पनि बाँच्नै पर्ने रहेछ
यो जीवन यस्तै रहेछ ।(पृ.१६)

संविधान शीर्षकको कविता विं.सं. २०७२ असोज २ गते लेखिएको पाइन्छ । लामो सङ्घर्षपछि नेपालमा २०७२ सालमा संविधान निर्माण भएकोमा कवि मन पुलकित हुन पुगेको देखिन्छ । नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजातीय राष्ट्र हो । यहाँ अनेकतामा एकता रहेको छ । भिन्न भिन्न जातिका भिन्न भिन्न संस्कृतिबाट सिङ्गो नेपाली संस्कृतिको विकास भएको छ । कवि संविधानलाई स्वागत गर्न सबै नेपालीहरूलाई आह्वान गर्छन् । कवि भन्छन्:
विकासमा हातेमालो
गर्दै अघि बढौँ
नेपालके संविधानलाई
सबले स्वागत गरौँ । (पृ.१८ ) ।

उठौँ नेपाली शीर्षकको कविता २०७६ साल असार १७ गते रचना गरिएको देखिन्छ । यस कवितामा देशविषयक प्रेमभाव उजागर भएको छ । नेपाली समाजमा विद्यामान अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडन, हिंसा, सामाजिक, राजनैतिक, आर्थिक, विकृति विसङ्गति अन्त्य गरी न्यायपूर्ण समतामूलक समाज निर्माणका लागि उठ्न आम नेपालीलाई कविले कवितामार्फत आह्वान गरेका छन् । कवि भन्छन्ः
अन्यायको विरुद्धमा उठौँ नेपाली
विकासको बाटोमा जुटौँ नेपाली (पृ.१९) ।

तिज विशेष शीर्षकको कविता २०६५ साल साउन २८ गते लेखिएको पाइन्छ । यस कवितामा नेपाली नारीहरूले मनाउने सामाजिक सांस्कृतिक पर्व तिजको महत्त्वगान गर्दै यसको मौलिकपन बचाइराख्न आह्वान गरिएको छ । यस पर्वलाई कविले सांस्कृतिक पर्वका रूपमा मात्र नहेरी नारी क्रान्ति, नारी उत्थानको सामाजिक राजनीतिक पाटोबाट पनि हेरेका छन् । साथै कवितामा गौतम बुद्ध, सहिदहरू र सगरमाथाको पनि स्मरण गरिएको छ ।

अभिभावक शीर्षकको कविता विं. सं. २०७६ असोज ८ गते रचना गरिएको देखिन्छ । राष्ट्रविषयक प्रेम मुखरित भएको प्रस्तुत कवितामा श्रम र सिपप्रति प्रतिबद्ध भएर राष्ट्रिय एकता तथा समृद्धिका लागि जुट्न आह्वान गरिएको छ । देशका लागि हरेक नागरिक स्वयम्मा एक सक्षम अभिभावक रहेको निष्कर्ष निकालिएको छ र सो भूमिका निर्वाह गर्न आग्रह पनि गरिएको छ ।

सङ्घर्ष शीर्षकको कविता २०७८ साल भाद्र १८ गते लेखिएको पाइन्छ । सङ्घर्षपूर्ण जीवनले नै मानिसलाई मानिस बनाउँदछ भन्ने भाव कवितामा उजागर भएको छ । तसर्थ दुःख, अभाव, अन्याय, अत्याचार, अन्धकार आदिसँग सङ्घर्ष गर्दै जीवनलाई गतिशील बनाउनु पर्दछ । दुःखदेखि पलायन समस्याको समाधान होइन । सङ्घर्षले नै जीवनलाई परिचित बनाउँदछ । श्रमप्रति विश्वास गरी गतिशील तथा कर्मशील हुनु नै श्रेयस्कर रहन्छ । जन्मेपछि मृत्यु निश्चित छ तर हाम्रा कर्महरूले हामीलाई अनन्तसम्म अजर अमर बनाइराख्छ ।

प्रेम गर्छु शीर्षकको कविता विं.सं. २०७७ माघ ४ गते रचाना गरिएको देखिन्छ । प्रस्तुत कवितामा कविले प्रेमको महिमागान गाएका छन् । प्रेमले नै सबैलाई एउटै मालामा गाँस्ने काम गर्दछ । वैरभाव, क्रोध, घृणा त्याज्य छन् । सबैलाई प्रेमभावले हेर्ने विराट् दृष्टिकोण चाहिन्छ । सत्य नै जीवन्त रहन्छ । असत्यको हार निश्चित छ । पारस्परिक सद्भाव, मित्रता, प्रेम र जुटले नै राष्ट्रिय एकतालाई मज्बुत गर्दछ भन्ने जस्ता विविध समाजकल्याणकारी विविध आदर्शमय भाव कवितामा मुखरित भएका छन् ।

भ्रष्टाचार शीर्षकको कविता २०७८ साल श्रावण १५ मा लेखिएको पाइन्छ । प्रस्तुत कवितामा नेपालको सामाजिक, राजनैतिक, प्रशासनिक, आर्थिक आदि क्षेत्रमा मौलाएको भ्रष्टाचारको अन्त्यका लागि बुलन्द आवाज घन्काइएको छ । भ्रष्टाचारलाई विकासको मूल बाधकको रूपमा हेरिएको छ । भ्रष्टाचारी र घुसखोरीका नाइकेहरूलाई देशद्रोहीको संज्ञा दिइएको छ । परिस्थिति शीर्षकको कविता वि. सं. २०७८ जेठ १० गते रचना गरिएको देखिन्छ । यस कवितामा हरेक वस्तुको सकारात्मक र नकारात्मक दुवै पाटा हुन्छन्, नकारात्मक पाटोले विनाश गर्छ भने सकारात्मक पाटोले ऊर्जा भर्ने काम गर्दछ भन्ने भाव मुखरित भएको छ ।

सम्बन्धहरू शीर्षकको कविता २०७८ साल असोज ७ गते लेखिएको पाइन्छ । यस कवितामा मान्छेले मानवीय संवेदना नगुमाउनका लागि आह्वान गरिएको छ । पारस्परिक सहभाव र मित्रतामा जोड दिइएको छ । श्रम र श्रमजीवीहरूप्रति श्रद्धा राख्दै कर्मशील बन्न उत्प्रेरित गरिएको छ । आग्रह शीर्षकको कविता वि. सं. २०७८ भाद्र २० गते रचना गरिएको देखिन्छ । यस कवितामा मानवता, भ्रातृत्व, विश्वबन्धुत्व, पारस्परिक सद्भाव, मित्रता, प्रेम आदिलाई मज्बुत बनाउनका लागि आह्वान गरिएको छ । यी गतिविधि समाजमा भएमा विकासले गति लिने कवि त्रिपाठीको ठम्याइ रहेको छ ।

हाम्रो धर्म संस्कार शीर्षकको कविता २०७६ साल असोज १८ गते लेखिएको पाइन्छ । यस कवितामा ‘सर्वे भवन्तु सुखिनः ‘अतिथि देवो भव’, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’, ‘वसुधैव कुटुम्बकम्’ तथा बुद्धका शान्ति सन्देशजस्ता आदर्शमय विचारहरूलाई नेपालीहरूले जीवन्त बनाइ राख्नुपर्ने भाव कवितामा उजागर भएको छ । जमर्काहरू शीर्षकको कविता वि.सं २०७८ असोज ११ गते रचना गरिएको देखिन्छ । यस कवितामा मानवीय मूल्य, मान्यता तथा व्यवहारमा देखा परेको ह्रासलाई औँल्याई निराशा पोखी अन्त्यमा जीवनवादी आशावादी दृष्टिकोण प्रस्तुत गर्दै भ्रातृत्व, मानवता तथा राष्ट्रिय एकतामा जोड दिइएको छ ।

खुल्ला पर्दा शीर्षकको कविता २०७८ साल असोज ५ गते लेखिएको देखिन्छ । यसमा मानव जीवनका यथार्थहरूलाई औँल्याउन भनिएको छ भने मेरी उनी शीर्षकको कवितामा कविले आफ्नी प्रियसीप्रति प्रेमभाव तथा आदरभाव प्रकट गरेका छन् । यो कविता वि.सं. २०६० वैशाख १ गते रचना गरिएको पाइन्छ । सहकारी शीर्षकको कविता २०६६ साल कात्र्तिक २५ गते लेखिएको देखिन्छ । यस कवितामा निम्न आयस्रोत भएका व्यक्तिहरूलाई सहकारीले पु¥याएको योगदानको स्मरण गर्दै सहकारीको महिमागान गाइएको छ । सामूहिक विकास, सहकार्यमा जोड दिइएको छ । पसिना र श्रमप्रति श्रद्धा प्रकट गरिएको छ ।

गाई शीर्षकको कविता वि. सं. २०७२ कात्र्तिक १२ गते रचना गरिएको पाइन्छ । यस कवितामा सामाजिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक, आर्थिक तथा मानव स्वास्थ्यका दृष्टिकोणबाट गाईको महत्त्वलाई देखाइएको छ । विशेषतः आर्थिक प्रवर्धनका लागि व्यवसायिक गौपालनमा जोड दिइएको छ । स्रष्टा–सर्जक शीर्षकको कविता २०७५ साल फागुन ५ गते लेखिएको देखिन्छ । यस कवितामा नेपालको राष्ट्रिय उन्नति, प्रगति, भाषा साहित्यको सम्मृद्धि तथा स्वतन्त्र न्यायमूलक समृद्ध समतामूलक समाज निर्माणका लागि अन्धकारमा चेतनाको बिउ छर्ने ती तमाम स्रष्टा–सर्जकहरूप्रति सम्मानभाव व्यक्त गरिएको छ ।

फरक दसैँ शीर्षकको कविता वि.सं २०७८ असोज २० गते रचना गरिएको पाइन्छ । यस कवितामा बालबालिका, किसान, मजदुर, व्यवसायी, वैदेशिक रोजगारमा गएकालगायतका सम्पूर्ण नेपालीहरूको परिस्थितिअनुसारका छुट्टाछुट्टै पीडा व्यथाहरू देखाउँदै राष्ट्रिय पर्व दसैँलाई संस्कृति अनुरूप सौहार्दपूर्ण तरिकाले मनाउन आह्वान गर्दै कविले दसैँको शुभकामना दिएका छन् । उठ युवा शीर्षकको कविता २०७७ माघ २७ गते रचना गरिएको देखिन्छ । यस कवितामा देशप्रेमको भाव मुखरित भएको छ । यसमा राष्ट्रिय, उन्नति प्रगतिका लागि युवाहरूलाई उठ्न तथा जागृत हुन आह्वान गरिएको छ । सामन्ती भ्रष्टहरूको जालो तोडी समतामूलक समाजनिर्माणका लागि युवाहरूलाई प्रेरित गरिएको छ । देशलाई गरिबीको रेखाबाट अन्त्य गराई हराभरा बनाउन र जनतालाई सुखी समृद्ध बनाउन देशका युवापङ्क्तिलाई अग्र मोर्चामा रहेका कुशल कार्य निर्वाह गर्नका लागि आह्वान गरिएको छ ।

दलित आवाज शीर्षकको कविता वि.सं २०७८ भाद्र २६ गते रचना गरिएको देखिन्छ । यस कवितामा नेपाली समाजमा विद्यमान जातीय विभेद अन्त्य गरी समतामूलका स्वस्थ समाज निर्माणका लागि कविले आफ्नो आवाज बुलन्द पारेका छन् । कोरोना शीर्षकको कविता २०७७ जेठ ९ गते रचना गरिएको पाइन्छ । यो कविता खुल्ला पर्दा कवितासङ्ग्रको अन्तिम कविता पनि हो । यस कवितामा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले मानवीय जीवनमा पु¥याएको असरलाई देखाइएको छ । यस कोरोना जिवाणुले ठुलो मानवीय क्षति गरेको छ भने सामाजिक आर्थिक क्षेत्रमा पनि ठुलो नोक्सान गरेको छ । समग्रमा हाम्रो जीवनपद्धतिबारे पुनः घोत्लिन पर्ने समय आएको छ । यसबाट सजग र सचेत रहनै पर्छ । हाम्रा क्रियाकलापप्रति हामी गम्भीर बन्नै पर्छ । कविले चाँडै नै कोरोना भाइरसबाट मानवसमाजले मुक्ति गर्ने आशा पनि लिएका छन् ।

कवि रामनाथ त्रिपाठीले यिनै भावहरूलाई सामाजिक, राजनैतिक, प्राकृतिक, सांस्कृतिक, धार्मिक, आर्थिक, भौगोलिक आदि विषयवस्तुसँग जोडेर प्रस्तुत गरेका छन् । कविताका लागि विषयवस्तु अपरिहार्य रहन्छ तर विषयवस्तुकै प्रस्तुति मात्र कविता होइन भन्ने कुरामा स्रष्टा सचेत रहनै पर्छ । कवितालाई कविता बनाउन रस, ध्वनि, अलङ्कार, लय, वक्रोक्तिको पनि उत्तिकै महत्त्व रहन्छ । लालित्यमय पदावलीले कवितालाई सरस गर्दछ र मिठास भर्दछ । कवि रामनाथ त्रिपाठीको कविताको भाव पक्ष सबल नै देखिन्छ । उनका प्रायः कविताहरू प्रगतिशील चेतले रङ्गिएका छन् । राष्ट्रप्रेम उद्वेलित भएको छ ।

श्रम र श्रमजीवीका बारेमा कविता बोलेको छ । पर्यावरण सन्तुलनसहितको विकास र समृद्धि उनका कविताका मुख्य कथ्य विषय हुन् । नेपालीत्वपन, राष्ट्रिय एकता, भ्रातृत्व, विश्वबन्धुत्व, पारिस्परिक प्रेम तथा सद्भावमा कवि त्रिपाठीको कविताले जोड दिएका छन् । सामाजिक, राजनैतिक, आर्थिक विकृति विसङ्गतिको समूल अन्त्यका लागि बुलन्द आवाज कवितामा घन्किएका छन् । लैङ्गिक, वर्गीय, जातीय विभेदका विरुद्ध तथा अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडनका विरुद्ध कलम चलाएका छन् । आवज सशक्त गरेका छन् । कविताका विषयवस्तु समाजिक धरातलबाटै टिपेका छन् ।

यो त भयो कवि रामनाथ त्रिपाठीको कविताका सबल पक्ष । तत्सम, तद्भव, केही आगन्तुक र मूलतः झर्रो नेपाली भाषामा लेखिएको उनको खुल्ला पर्दा कवितासङ्ग्रह भाषिक वर्णविन्यासका दृष्टिकोणले भने कमजोर रहेको प्रतीत हुन्छ । तर कविताका पङ्क्तिहरू सरल र छोटा रहेका छन् । ती छोटा पङ्क्तिहरूमा कवित्व कला मुखरित देखिन्छ । यससम्बन्धी केही कुरा माथि पनि आइसकेका छन् । यत्ति भनौँ कतिपय कविताहरूले परिष्कार खोजेका छन् । यी कविताका शिल्पगत कुरामा आगामी शृङ्खलाहरूमा कवि रामनाथ त्रिपाठी पक्कै सचेत रहने छन् । श्रममा श्रद्धा राख्नेहरू सङ्घर्षदेखि विचलित हुँदैनन् । कर्मशीलहरू आलोचनादेखि विचलित हुँदैनन् ।

समग्रमा मोफसलमा बसेर पनि निरन्तर सिर्जन कर्ममा लाग्नु चानचुने कुरो होइन । तसर्थ खुल्ला पर्दाका लागि अग्रज रामनाथ त्रिपाठीलाई धन्यवाद भन्नै पर्छ । समकालीन कवितासहित्यमा प्रगतिशील विचारले रङ्गिएको मानवीय, मूल्य, मान्यता, भ्रातृत्व, विश्वबन्धुत्व, पारस्परिक प्रेम, राष्ट्रिय एकता र विकासमा जोडदिइएको, यथार्थमय आलोकमा जीवनचेत विकसित भएको आशाकेन्द्री कवितासङ्ग्रहका रूपमा रामनाथ त्रिपाठीको खुल्ला पर्दा कवितासङ्ग्रहलाई हेरिएको निष्कर्ष निकालिएको छ ।

रमेश खतिवडा, बेनिघाट रोराङ १०, धादिङ ।