धादिङको गंगा-जमुना पर्यटकीय गन्तव्यमा छनोट (गंगा-जमुनाको जानकारी समेत)

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन २, २०७७

धादिङ फागुन २ । धादिङको गंगा-जमुना गाउँपालिकामा रहेको धार्मिक प्राकृतिक सुन्दरता बोकेको गंगा-जमुना झरनालाई सरकारले पर्यटकीय गन्तव्यमा छनोटमा छनौट गरेको छ ।

पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धादिङको गंगा-जमुना झरना सहित देशभरका दुई सय पर्यटकीय गन्तव्य स्थल छनोट गरेको हो ।

यो संगै गंगा-जमुनाको पर्यटकिय पूर्वाधार विकासका लागि मन्त्रालयले ३ करोड ५० लाख बजेट बिनियोजन गरेको छ । कूल लागत ५ करोड अनुमान गरेको गंगा-जमुना पर्यटकिय पूर्वाधार विकास योजनाको लागि गाउँपालिकाले १ करोड ५० लाख विनियोजन गर्ने गाउँपालिकाले जनाएको छ ।

गंगा-जमुनाबारे जानकारी

  • हरेक वर्ष कार्तिक शुक्ला दशमी तिथिमा गंगा-जमुनामा विशाल मेला लाग्ने गर्दछ ।
  • फुलखर्क, गुम्दी, रि, लापा, सेर्तङ, मान्बु, सेर्तुङबास, केरौजा, चिसापानी सँगै रसुवाको लदाम, चिलिमे, लाङ्टाङ सँग जोडिन पुगेको गणेश पर्वत श्रृङ्खलाको १८०० मिटर उचाईमा रहेको छ ।
  • रुबी अर्थात बहुमुल्य पत्थरको पर्वतका रुपमा हेरिएको गणेश पर्वत श्रृङ्खलामा रहेको यस झर्ना पर्यटन, धार्मिक, साँस्कृतिक रुपमा महत्वपूर्ण रुपमा लिइन्छ ।
  • आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य गंगा जमुना झरना माथि रहेको प्राकृतिक भ्यूटावर जहाँबाट धादिङको साविकका सबै वडा, गोरखाको उत्तरी क्षेत्र, नुवाकोट रसुवाको अधिकाँश भुभाग, गणेश हिमाल र काठमाडौको चन्द्रीगरी देख्न सकिन्छ ।

गंगा-जमुना झरनाको महत्वः

  • धार्मिक विश्वास अनुसार गंगा जमुना रहेको गणेश पर्वत श्रृखङ्ला गणेश शिव पार्वतीका पुत्र हुन् । शिव पार्वतीको निवास स्थान कैलाश पर्वत र गणेशको निवास स्थल यहि यहि हो भन्न परम्परा छ ।
  • ऋषि मुनिहरुको पवित्र तपो भुमिको रुपमा वर्णित यस सुरभ्य भुभागमा गंगाजमुना, तातोपानी जइसल कुण्ड लगायत तीर्थस्थलहरु प्राचीनकाल देखिनै श्रद्धा र विश्वास रहि आएको छ ।
  • गंगा जमुना झर्ना नजिकै अर्को धारा छ, जसलाई स्थानियहरु कुकुर धारा भन्ने गर्छन् । यस धारा गणेशको आँशुबाट बगेको यसमा कीट नाशक गुण समेत भएको विश्वास गरिन्छ । उक्त कुकुर धारामा नुहाए कुकुर वा जीव जन्तुले टोकेको विष हटेर जान जन विश्व रहि आएको छ ।
  • गंगा जमुना झरना २ हजार ८ सय मीटरको उचाईमा रहेको पहरोबाट खसेर १ हजार ८ सय मिटर उचाइमा रहेका तिर्थालुहरु जम्मा हुने सभा क्षेत्र आईपुगेको छ ।
  • १ हजार मिटर माथीबाट एकै पटक खस्दा पानीले झर्नाको रुप लिई पानीको थोपाहरु हावामा बयेली मोतीको दाना झै टल्कदै झरेको दृष्य पर्यटकहरुका लागि आकर्षक बन्ने गरेको स्थानीयहरु बताउँछन् ।
  • गंगा जमुनालाई हिमालय पुराणमा दिदी बहिनीको रुपमा वर्णन गरिएको पाईन्छ । यसै झर्ना मिसिएर भारतमा पुगी प्रसिद्ध गंगा नदी बनेको र यहाँको गंगा जमुनाले जस्तै त्याहा गंगा र यमुनाले प्रसिद्धि कमाएको बताईन्छ ।