अर्जुन खतिवडा,
धादिङ पिण्डा असोज ९ । जिल्ला कृषि विकास कार्यालय धादिङका बरिष्ठ कृषि विकास अधिकृत महेन्द्रराज कौडालले पिण्डाका कृषकहरुसंग साक्षात्कार गर्दै कृषि क्षेत्रमा भविष्य उज्जवल रहेको बताउनु भएको छ
प्रयास नेपाल र यू.एम्.एन् धादिङको सहकार्यमा सञ्चालित धादिङ विपद् व्यवस्थापन कार्यक्रम अन्तर्गत जिविकोपार्जनका लागि कृषि कार्यक्रमको पोष्ट हार्भेष्ट तालिमको सन्दर्भमा उहाँले पिण्डाका स्थानीयहरुसंग उक्त भनाई राख्नु भएको हो ।
पिण्डा गाउँ विकास समिति वडा नं. २ छविसेका २४ जना कृषकको सहभागिता रहेको तालिममा जिल्ला कृषि विकास कार्यालय धादिङका बरिष्ठ कृषि विकास अधिकृत कौडालले कृषकहरुको मेहनतबाट उत्पादन भएका सबै प्रकारका उत्पादनहरुको उचित भण्डारण गर्नुपर्नेमा जोड दिनुभएको थियो । पछिल्लो समय कृषि क्षेत्रलाई सामान्य पेशाको रुपमा हेर्नेको संख्या बढ्दै गएको भए पनि कृषि क्षेत्रको भविष्य उज्जवल रहेको उहाँको भनाई थियो ।
कृषकहरुसंगको कुराकानीको क्रममा बरिष्ठ कृषि विकास अधिकृत कौडालले जिल्ला कृषि विकास कार्यालयबाट उपलब्ध हुने सबै प्रकारको सेवा सुविधा लिन समेत कृषकहरुलाई आग्रह गर्नुभएको थियो । कृषकहरुले सिंचाईका लागि केही कुलो निर्माण गर्न सहयोग माग गरेपछि उहाँले माग निवेदन पेश गरि प्रक्रियाबाट आएका सबैले सुविधा पाउने समेत दावी गर्नुभयो ।
जिल्लाबाट धेरै योजनाहरुमा काम गर्नका लागि माग गर्न पटक पटक आग्रह गर्दा पनि कृषकहले कमै मात्र माग गर्ने गरेको कौडालको भनाई थियो । कृषि क्षेत्रमा कामै गर्नेहरुका हामी जतिबेला पनि सहयोग गर्न तयार छौं उहाँले आग्रह गर्नुभयो ।
कृषक समूह, व्यत्तिगत फर्म संचालन गरी काम गरिरहेका वा अन्य सबै प्रकारका कृषकहरुले सरकारी सुविधा पाउन सक्ने भन्दै उहाँले विधिन्न उदाहरण सहित प्रष्ट्याउनुभएको थियो ।
कृषकहरु आम मान्छेका लागि भगवान भएकाले उत्पादित बस्तुहरुमा विषदीको कम भन्दा कम प्रयोग गर्न आग्रह गर्नुभएको थियो । तरकारी उत्पादनमा धेरै नाफा मात्रै खाजेर पछिल्लो समय विष प्रयोग गर्नेको मात्रा वृद्धि भैरहेकोले त्यसलाई न्यूनिकरण गरेर जान उहाँले आग्रह गर्नुभयो । कृषि सेवा केन्द्रहरुले कृषकको काम कम गर्ने भन्ने प्रसंगका क्रममा कौडालले किसानले कृषिकार्य गर्नका लागि काम गर्दा सेवा केन्द्र वा कुनै ठाउँमा पैसा तिर्न नपर्ने भएकाले ढुक्क भएर काम गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
कृषि सेवाका लागि काम गर्ने कोही कर्मचारीले किसानसंग शुल्क नलिएको समेत दावी गर्नुहुँदै कौडालले काम गर्न अल्छि गर्नेहरुबारे आफूलाई जानकारी दिन समेत आग्रह गर्नुभएको छ । एक गाउँ एक प्राविधिक नहुँदा केही समस्या भए पनि कृषकहरुले चाहेको खण्डमा कार्यालयको तर्फबाट प्राविधिक उपलब्ध गराईने भन्दै कौडालले प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो ।
उता कृषकहरुले भने आफूहरुले कृषि कार्यालयको अधिकृतसंग कुराकानी गर्न वा गुनासा राख्न पाएको भन्दै खुसी व्यक्त गरेका थिए । दिनभर परेको आकासे पानीमा भिज्दै पिण्डा पुगेका कौडालको स्थानीयहरुले प्रसंसा गरेका थिए । सनिबार सबैजसो सरकारी कर्मचारीहरु विदामा बस्नै वा व्यत्तिगत काममा व्यस्त हुने भएपनि कौडाल भने आकासे पानीमा भिज्दै गाउँले किसानसंगको भलाकुसारीमा पुगेका थिए ।
किसानहरुलाई उनीहरुले गरेको उत्पादन कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने उद्देश्यले संचालित तालिममा कृषि कार्यालय धादिङका बरिष्ठ कृषि विकास अधिकृत महेन्द्रराज कौडाल, प्रयास नेपालका कृषि प्राविधिक मञ्जु तामाङ लगायतले सहजिकरण गरेका थिए ।