तेब्बर भाडा असुल्दै यातायात व्यवसायी

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक ३, २०७२

Sadak-Photo-Dhading copyहरिहरसिंह राठौर, धादिङ । इन्धन अभावका बेला ‘ब्ल्याक’ मा इन्धन किनेको भन्दै धादिङका यातायात व्यवसायीले यात्रुहरूसँग तीन गुणासम्म बढी भाडा असुल्ने गरेका छन् । राजधानीबाट धादिङबेंसी आउँदा दोब्बर र सदरमुकामबाट ग्रामीण रुट प्रयोग गर्दा तेब्बर भाडा लिने गरेको यात्रुहरूको गुनासो छ ।
सामान्यतया राजधानीबाट सदरमुकाम सम्मको भाडा १ सय ७० र रुट परमिट नलिएका सदरमुकामबाट ग्रामीण रुटहरूको ३ सय ५० देखि ४ सय ५० सम्म लिने गरिन्थ्यो । टिकट छैन भन्दै हाल राजधानीबाट सदरमुकाम सम्मको ३ सय ४० देखि १ हजारसम्म र ग्रामीण रुटको १ हजारदेखि १२ सयसम्म असुल्ने गरेको पाइएको छ ।
दसैं नजिकिँदै गर्दा राजधानीलगायत अन्य जिल्ला फर्कनेको लर्को चलेको छ । धादिङका आधाभन्दा बढी बासिन्दा राजधानी बसोबास गर्ने गरेको अनुमान गरिन्छ । वैदेशिक रोजगारबाट फर्कनेहरू पनि राजधानी र नारायणगढको बाटो प्रयोग गर्छन् । भारतको नाकाबन्दी र तराईमा जारी आन्दोलनका कारण इन्धनको अभाव हुँदा थोरै मात्रामा गाडी चलेका छन् । त्यसमा पनि सवारी साधनहरूले दोब्बर, तेब्बर भाडा लिन थालेपछि यात्रुहरू मारमा परेका हुन् ।
पृथ्वी राजमार्ग र सदरमुकामदेखि ग्रामीण भेकहरूमा ६० वटा ग्रामीण सडहरूमा अस्थायी रूपमा यातायात सञ्चालनमा छ । गत वर्षको दसैंमा राजधानीबाट सदरमुकाममा १ सय ९० तिरेका बुढाथुमका प्रल्हाद थापा यसपाला ३ सय ५० तिरेको बताए । जबकि काठमाडौंबाट धादिङसम्मको नियमित भाडा १ सय ७० रुपैयाँ हो । थापाले भने, ‘धेरै बेरसम्म बस कुर्नुपर्‍यो ।
मान्छे धेरै भएकाले छतमा चढेर यात्रा गरियो त्यो पनि दोब्बर भाडा तिरेर ।’ बस पाइँदैन जसोतसो जानै परेको छ ।’ भाडाको विषयमा किन कराउनु भनेर चुपचाप भनेजति रकम दिएको थापाले बताए । टिकट काउन्टरबाट तोकिएकै शुल्कमा टिकट काटे पनि बीचमा चढ्ने र छतमा यात्रा गर्ने यात्रुहरूसँग बढी भाडा लिने गरेको भेटिएको छ । बढी भाडा लिएको गुनासो आउन थालेपछि प्रहरीहरूले पनि बीचबीचमा चेकजाँच गर्दै बढी भाडा लिएको सवारी साधनलाई कारबाही गर्न थालेका छन् । इलाका प्रहरी कार्यालय गजुरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले महँगो भाडा लिएर यात्रुहरू बोक्ने सवारी साधनलाई कारबाही गरी भाडा फिर्ता गर्न सुरु गरेको छ ।
प्रहरीले ठाउँठाउँमा चेकजाँच गरी सुरक्षित यात्राका लागि सवारी चालकहरूलाई सचेत गराउन थालेका छन् । दसैंमा घर फर्किने यात्रुहरूको चाप बढे पनि इन्धन आपूर्ति सहज नहुँदा सवारी साधनहरू पनि पातलो मात्रामा चलेको र यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । ‘सडकमा गाडी धेरै गुडेका छैनन् । यात्रुहरूको चाप पनि उत्तिकै छ अनि छतमा यात्रा नगराई सम्भवै छैन,’ नारायणगढ जाँदै गरेका चालक डिल्लीबहादुर बगालेले बताए । चेकिङको क्रममा भेटिएका र छतमा यात्रा गरिएका यात्रुहरूलाई प्रहरीले पनि सुरक्षित तरिकाले बस्न र सुरक्षित यात्रा गर्न सल्लाह दिन थालेका छन् ।
दोब्बर भाडा लिएको भए फिर्ता गर्ने र सुरक्षित यात्राका लागि सचेत गराउने अभियान नै सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ । दसैं मनाउनका लागि राजधानीबाट घर फर्कने यात्रुहरूको चाप अनुसारको सवारीका साधनहरू पर्याप्त नभएका कारण जोखिम मोलेर राजमार्गमा पनि यात्रुहरू छतमा बसेर यात्रा गर्न बाध्य बनेका छन् भने यात्रुहरूले लाग्नेभन्दा दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य बनेका छन् । विगत एक साता अघिको तुलनामा मंगलबारदेखि राजमार्गमा सवारी साधनहरू अलि बाक्लो देखिन थालेको भए पनि यात्रुहरूको चाप र इन्धन अभावका कारण सवारी साधनहरू चल्न नसक्दा दसैंमा घर फर्किने यात्रुहरू मारमा परेका छन् ।
पछिल्ला दिनहरूमा यात्रुवाहक बसहरू राजधानीबाट बाहिरिने क्रम बढेको छ भने मालवाहक सवारीका साधनहरू राजधानी भित्रन थालेका छन् । साभार इ-कान्तिपुर