गज्जबको राष्ट्रवाद ! गज्जबको शुभकामना !

Avatar photo
Dhadingpost
शनिबार, अशोज ३०, २०७२

bbbbbbbफेसबुक प्रयोग गर्नु हिजोआज सामान्य छ । जुनसुकै उमेरका पनि फेसबुक प्रयोग गर्न रमाइरहेका छन् । नेपालीहरुको सुचना प्रबिधिमा भएको विकासको सूचक पनि हो । यसले हाम्रो समाजमा धेरै सकारात्मक प्रभाव पनि पारेको छ । दिन पछि रात र उज्यालो पछि अँध्यारो भए जस्तै सकारात्मक पछि यसका नकारात्मक पाटाहरु पनि छँदैछन् । फेसबुक प्रयोगकर्ताहरु आ–आफ्ना मनमा लागेका विषयवस्तुहरुप्रतिको धारणा, राय सुझाव, सल्लाह, प्रतिक्रिया आदि स्टाटसको रुपमा आ–आफ्ना फेसबुक वालहरुमा पोष्ट गरिराख्नु भएकै हुन्छ ।
केहि दिनदेखि फेसबुक स्टाटसहरु हेरेर मलाई गज्जब लागिराखेको छ । विशेष गरेर राजनीतिक विषयवस्तुहरुमा आफ्ना धारणाहरु राख्ने क्रममा विशेष गरेर युवापुस्ताका फेसबुके साथीहरुको धारणा र त्यसमा व्यक्त भएका प्रतिक्रियाहरु देख्दा मलाई गज्जब लागेको हो । देशभक्तिको र राष्ट्रियताका विषयमा युवा पुस्ता बढि संवेदनशील हुन्छन् । युवा पुस्ताको धारणालाई र भावनाप्रति मेरो उच्च मूल्याङ्कनका साथ सम्मान र सहमति छ । तर विषयवस्तुप्रतिको गहन अध्ययनमा रहेको कमी हो वा त्यसप्रति गरिएको नजर अन्दाज बढो उदेकलाग्दो छ ।
व्यक्ति विशेषलाई गरिने देवत्वकरण बढो मीठो हुन्छ । भए नभएका उपमा र आदर्शको रुपमा व्याख्या गरिन्छ । जब कुनै सानो तिनो कुरामा मन मुटाव वा त्यस्तै केही हुन पुग्छ अनि भए नभएका आरोप प्रत्यारोप र दानवीकरण गर्न उनै देवत्वकरणमा उत्रनेहरु नै सबैभन्दा अघिल्लो पंक्तिमा आउँछन् । विशेष गरेर सबभन्दा नजिककाहरुनै ।
अनि राष्ट्रियताको सबालमा पनि त्यस्तै देखिन्छ । आफूलाई मन परेको राष्ट्रवादी, अलि मन नपर्ने राष्ट्रघाती । एउटै विषयमा अमुक चार दलका अमुक चार जना नेताहरु कुनै अमुक स्थानमा बसेर कुनै एउटा अमुक सहमति गर्छन् । एउटाले बाहिर निस्केपछि त्यो अमुक स्थान र सहमतिको बारेमा भनिदिन्छ । बाँकी चुप लागेर बसिदिन्छन् । बोल्ने चाँहि राष्ट्रघाती ठहरिन्छ । एउटै सहमति गर्ने तर नबोल्नेहरुचाँही गज्जबका राष्ट्रवादी !
उदाहरणका लागि नेपालको राजनीतिलाई हेर्दा विभिन्न कालखण्डमा विभिन्न सहमति, सन्धी, सम्झौता आदि भारतमा, भारतको संलग्नतामा, भारतीय इशारामा र उसको चाहनामा भएका छन् । तर त्यस्ता कार्यहरुको विश्लेषण चाँही कुनै न कुनै रुपमा पूर्वाग्रही पाराले गरिएकै छ । त्यसमा भएको सारलाई भन्दा बढि त्यसको रुपमा देखिने पात्रलाई हेरिन्छ । तत्सम्बन्धी एउटा निश्चित मापदण्ड र प्रावधान विकास गर्न हाम्रो देश संस्थागत रुपमा चुकेको छ । यसैको परिणाम हामी हचुवाको राष्ट्रवाद अलापीरहेका छौं । एउटा दूरदृष्टि भएको राजनीतिक नेता वा प्रशासनिक उच्च ओहोदाको व्यक्ति, निर्माण गरेको निश्चित मापदण्ड नहुनु हाम्रो दूर्भाग्य हो । अनि अर्को दल वा व्यक्तिले स्थापना गरेको राम्रो काम वा कार्यविधिलाई राम्रो हो भन्न नसक्ने मानसिक दरिद्रता हाम्रो अर्को अभिशाप हो ।
यसैबीच यसपाली हाम्रो देशले महा विनाशकारी भूकम्प बेहोर्नुप¥यो । त्यसले नाश गरेको जन धनको क्षतिमाथि बाढी पहिरोले पनि पिरोल्नु सम्म पिरोल्यो पूर्वी पहाडी इलाकामा । अनि पानी नपरेर खेती पातीको उत्पादनमा ठूलो गिरावट आउँदैछ । तराइ मधेशका जनताका लागि भन्दै भएको आन्दोलनको दुई महिना लामो आम हडताल । अनि हाम्रो सबैभन्दा नजिकै रहेको मित्रराष्ट्रको अघोषित नाकाबन्दी । यी सबै विषयका पक्षमा र विपक्षमा आ–आफ्ना धारणा राख्दै हामी सहिष्णुतापूर्वक सबै भवितव्य र कर्तव्यहरु सहँदै आएकै छौं ।
यसपाली हामी धेरै लाइन बस्यौं । भूकम्प पिडितको राहत लिने लाइन । अहिले नाकाबन्दी पछि पेट्रोलियम पदार्थको लाइन । दशैंका लागि सामान र पैसा साट्ने असिमित लाइन । अनि फेसबुकमा देखिने सबै लाइनका लाइन । बडो गज्जबको छैन त ? यसपालीको विजयादशमीमा भवितव्य र कर्तव्यहरु सहने वा प्रतिकार गर्ने विषयमा सकारात्मक विवेक र सद्बुद्दि सम्पूर्ण नेपालीलाई प्राप्त होस् गज्जवको शुभकामना !
२०७२/०६/२९