धादिङबेसी भित्रको सबारी, छैन कसैको ‘रखबारी’

Avatar photo
Dhadingpost
आइतवार, असार १३, २०७२

badri prasad dahalबद्रीप्रसाद दाहाल । सामान्यतया ‘सवारी’ भन्नाले घोडा, हात्ती, बग्गी, साइकल, स्कुटी, मोटरसाइकल, मोटर यान वा यातायातका विभिन्न प्रकारका वाहन भनेर बुझिन्छ । फारसको खाडीबाट सीमा नाघ्दै आएको यो शब्द नाम पदवर्गको हो । कुनै ठाउँमा जानको लागि प्रयोग गरिने साधन सवारी हो । अर्को अर्थमा सवारी भन्नाले राजा वा ठूला मानिसहरुको प्रस्थान वा फिर्ती भनेर पनि बुझिन्छ । सामान्यदेखि विशिष्ट व्यक्तिसम्मका आउजाउ गर्ने सवारी कानुनीराज भएको देशमा सधैं रखबारीमा राख्नु सरकारको दरकार र सरोकारको विषय हो । सामान्यतया ‘रखबारी’ भन्नाले हेरचाह गर्ने काम, सुरक्षा, भरणपोषण तथा स्याहारसंभारको आसय प्रष्टिन्छ ।‘रखबारी’ यो शब्द संस्कृत भाषाको रक्षापालबाट आएको तद्भव रुप हो । जसको अर्थ रक्षा गर्ने वा पालो पहरा दिने भनेर बुझिन्छ ।
सहर बजार र प्रशासनिक केन्द्र रहेका ठाउँहरुमा जहाँ यातायातको सुविधा पुगेको छ त्यहाँ सवारीहरु उत्तिकै बाक्लो हुन्छन् भने गोडाको सहारामा मात्र नभएर बैसाखी टेकेर हिंड्ने विकलाङ्गहरुको संख्या पनि उत्तिकै हुन्छ । विद्यालय, महाविद्यालय, विश्वविद्यालय, अस्पतालको उपयोग गर्न आउने विद्यार्थी , शिक्षक, बिरामीका लर्कोको चाप अत्यधिक रहन्छ । कतिपय अशक्त, वृध्धवृध्धा, कलिला नानीहरु, सुत्केरी, सङ्कटकालीन विरामीहरु पनि हुन्छन् । यही सडक चापलाई मध्य नजर गरी जनपथ प्रहरी, सवारी रक्षकहरुको परिचालन सर्कारले गरेको हुन्छ । सडकमा सवारी चालकको अराजकता नहोस्, हिंड्ने यात्रुहरु पनि सडकनियमलाई पालना गरेर हिंडून् भन्ने सजगतामा क्लब, सुरक्षाधिकारी, स्काउट, टोलसुधार संघ, नागरिक समाज आदिका अनिवार्य सेवा र स्वयं सेवाहरु चल्ने गर्दछन् सहर बजारमा ।
अग्ला र सुन्दर भवन , कालोपत्रे गरेको फराकिलो बाटो, राम्रा र सुकिला लुगा लगाउने मान्छे, उपभोग्य वस्तुहरु प्राप्त हुनसक्ने, ओखतीमूलोको प्रबन्ध र शैक्षिक प्रतिष्ठान हुँदैमा त्यो सहर सभ्य र सम्पन्न भन्न सकिन्न । यो त भौतिक संरचनामात्र हो । वास्तवमा जबसम्म मानसिक रुपमा संयमित, शालीन र सहयोगी भाव प्रदर्शन हुँदैन, कर्तव्याकर्तव्यको सही अनुशरण पाइदैन तबसम्म त्यो नागर सभ्यताको प्रतिबिम्ब बन्न क्षमता राख्दैन । ०३२ सालमा सुनौला बजारबाट धादिङ बेसीमा सरेको सदरमुकाम बजार बस्तीको हिसाबले चालीस वर्षे पाको तरुण बनिसके पनि नागरसभ्यताको दृष्टिकोणमा यो प्रौढ र परिपक्कमा अनुवाद हुन अझै समय लाग्ने देखिन्छ । यहाँ पर्याप्त सांस्कृतिक वैभवका धरोहरहरु छैनन् भने सार्वजनिक शौचालय, पार्क, बगैंचा, सामुदायिक गृह, अतिथि गृह , अनाथालय, बृध्दाश्रमजस्ता नगर सभ्यताका विभूषणको रिक्तता महसूस हुन्छ । समय क्रममा ती अभावहरुको संपूर्ति हुँदै जाला भन्ने कुरामा हामी आशावादी छौं । सिरान बजारदेखि पुछार बजारसम्म झन्नै २ किलो मिटर र अन्य सहायक मार्ग झन्नै ३ किलो मिटर भएको यो सानो बजार यातायातका साधन र त्यसका हकाइले केही जटिलता थपेको महसूस भएको छ ।
केही भिरालो केही सम्म र पानीढलो परेको यो बस्तीमा केही वर्षयता भवन संरचनाहरु अत्यधिक मात्रामा निर्माण भएका छन् । खास गरेर सबारी पार्कको व्यवस्था उचित ठाउँमा नहुँदा सडकहरु अस्त(व्यस्त भएको देखिन्छ । पुछार बजारमा बस बिसौंनी भए पनि त्यसको प्रयोग उचित ढङ्गले हुननसक्नु दुखद पक्ष हो । घरअगाडि जताततै सबारी साधन पार्किङ गरेर सडकलाई साँघुरो र जाममा धँकेलिएको दुर्दृष्यले यहाँको प्रशासन, क्लब, सामाजिक संघसंस्था, बजारबासीहरुलाई नै गिज्याइरहेको प्रतीति हुन्छ । महाभूकम्पपछि त राहतका सामाग्री ओसारपसार गर्ने ओभरलोडका भीमकाय वाहनको कुदाइले भूकम्पले थर्काएका बिरामी घरहरुलाई थरथर बनाउँदै थर्काएको अनुभवले स्थानीयबासीमा भय पैदा गरेको छ । ठूला सबारी साधन निश्चित बिसौंनीमा राखेर हल्का सवारी साधनमार्फत लोडअनलोडको व्यवस्था भए सडकचाप कम हुनसक्थ्यो । अनि ससाना ट्याक्सी , ट्याम्पो वा जीपले पनि प्रयोगमा आउने मौका पाउँथे । धादिङ यातायातका ९०, ग्रामीण यातायातका ३० , संयुक्तका २५ , माइक्रो २०, मोटर साइकल १५०, मालवाहक गाडी झन्नै ७० र जीप २५ भन्दा बढी दैनिक (बर्खाको ३ महिना बाहेक) चल्ने यो बजार दिउसो ११ बजेदेखि ३ बजेसम्म बढी निस्सासिलाग्दो भान हुन्छ । बजार क्षेत्रमा ४० भन्दा न्यूनतम गतिमा सबारी हाक्न पर्ने नियम भए पनि यहाँका चालकहरु बालख भएर हो वा नियमका अपालक बनेर हो कुनै प्रतियोगितामा सहभागी भएझैं न्वारनदेखिको बल खैंचेर सवारी साधन पूरै हर्न खोली जतापायो त्यता बेपर्बाह ध्वनि प्रदूषण पस्किरहेका छन् । ओरालो परेको बाटोमा कतिपय सबारी अनुमतिपत्र नपाएकाहरुसमेत पूmल स्पीटमा साधनमार्फत बढी हल्ला निकालेर शिक्षणसंस्था, अस्पताल र दीर्घरोगीहरुमा चरम दखल दिइरहँदा पनि हामी सबै मौनसंम्मतिमा स्वीकृति दिइरहेका छौं ।
धादिङ जिल्लामा यस वर्षमात्र नियम उल्लङ्घन गर्ने सबारीसाधनमार्फत ३ करोडभन्दा बढी राजस्व जम्मा भएको असइ जयराम पुडासैनी बताउनु हुन्छ । २२ वटामात्र टूाफिक प्रहरीको दरबन्दी भएको यो जिल्ला सबारी साधनको अधिकतम चापअनुसार अपुग भएको असइ पुडासैनीको अनुभव छ । त्यसमा पनि सदरमुकाम क्षेत्रमा त ४ जनाको दरबन्दी छ । यहाँ सबारी व्यवस्थित गर्न कम्तीमा १०जना ट्राफिक प्रहरीको जरुरत देखिन्छ । जिल्ला प्रहरी कार्यालयको पूरै सहयोग भए पनि सबारी व्यवस्थापन मर्यादित हुन सकेको छैन । समय समयमा ट्राफिक प्रहरीको माध्यबाट शैक्षिक संस्था , संबन्धित सबारी सञ्चालक निकायहरुलाई प्रशिक्षण दिइए पनि त्यसको अनुपालन हुन नसक्दा सडक सवार सन्तुलित हुन नसक्नु दुखदायी पक्ष हो । धुवाँ, धुलो र हिलोमा सडक निरीह बन्नु हामी सबैको चेतना तहको निरीहता हो । कर्कस आवाज निकाल्ने कुनै पनि सबारी साधनहरु जाँचबुझ र नियन्त्रण गर्न प्रशासन अझ सकृय बन्न पर्ने देखिन्छ भने च्याउसरि उम्रिएका सामाजिक संघसंस्था डलरको खेतीमामात्र दत्तचित्त नभई खरो रुपमा जनसेवामा उत्रन जरुरी छ । यहाँका राजनीतिक दल, समाजसेवी र टोल सुधारसमितिहरुले पनि ठाउँठाउँमा साङ्केतिक बोर्ड झुन्ड्याएर सवारीचालनमा मर्यादा स्थापित गराउन भूमिका खेल्नु जरुरी छ ।
बजार क्षेत्रमा बढ्दो सबारी अव्यवस्थालाई तन्दुरुस्त बनाउन सबै क्षेत्रबाट ठोस रखबारी हुन समय घर्किसकेको छ । सडकै अतिक्रमण गरी राखिएका पसल, नालामा आपूmखुसी फालिने फोहरमैलाले पनि समस्याहरु जटिल बन्दै गएका छन् । यहाँका पवित्र अरुण गङ्गा र बिन्दुकेशरा कुरुप हुँदै काठमाडौंको बागमतीको प्रदूषणसित प्रतिस्पर्धा गर्न आँटेको भान भैरहेको छ । नगरपालिकाको आगमनपछि यसले आफ्नो दायित्व पूरा गर्ला कि भन्दा यो निकाय कछुवा गतिमा केवल कर उठाउने बाहेक विकास निर्माण र नगर सभ्यता स्थापित गर्न सकेको छैन । खानेपानीको समस्या पनि प्रतिदिन जटिल बन्दै छ । संबन्धित संस्थाहरु बृहत् जनछलफल गरी तत्कालीन र दीर्घकालीन कार्ययोजना बनाउन त्यति क्रियाशील भएजस्तो लाग्दैन । पानी जीवन हो, भन्ने जानेर पनि खानेपानी समिति केवल पदीय गहनामा हल्लिनु र रल्लिनु नगरुभ्यताको सूचक होइन । यसैले हर कोणबाट यो नगरपालिकालाई स्वस्थ तन्दुरुस्त, उन्नत बनाउन हाम्रो दायित्व के हो ? अन्तरकृयाको याम नघर्काइ सबै सचेत हुन अनिवार्य छ ।