
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१४, कुपामा छैटौँ कुपा कप तथा मिनी म्याराथन–२०८३ सुरु भएको छ । कुपा युवा समाजको आयोजनामा शुक्रबार असोज ३० गते प्रतियोगिताको भव्य उद्घाटन गरिएको हो ।
उद्घाटन समारोह धर्मगुरुहरूद्वारा पूजा आराधनासहित सुरु भएको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिका–१४ का वडाध्यक्ष नमराज दुवाडी प्रमुख अतिथिका रूपमा सहभागी थिए । त्यस्तै, वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, धादिङ जिल्ला फुटबल संघ (एन्फा) का उपाध्यक्ष सुरेश तामाङ, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय खेलप्रेमीहरूको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न भएका छन् । उद्घाटन दिन आयोजक कुपा युवा समाजसहित कन्यास्थान युवा क्लब, परमचेत युवा समाज र राटमाटे युवा क्लबले जित हासिल गरेका छन् ।
पहिलो खेलमा कुपा युवा समाजले तमै युवा समाजलाई २–० गोलअन्तरले पराजित गरेको छ । दोस्रो खेलमा कन्यास्थान युवा क्लबले भगेरी युवा क्लब (ए) लाई ५–१ गोलअन्तरले हराएको छ ।
त्यस्तै, सुकेला प्रगतिशील युवा क्लब (मार्पाक) र परमचेत युवा समाजबीचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि भएको पेनाल्टी सुटआउटमा परमचेत युवा समाज विजयी भएको छ ।
दिनको अन्तिम खेलमा राटमाटे युवा क्लबले दाङसिङ युवा क्लबलाई १–० गोलअन्तरले पराजित गरेको छ ।
आयोजक कुपा युवा समाजका अनुसार प्रतियोगिताअन्तर्गत भोलिका खेलहरू पनि निर्धारित समयमै सञ्चालन हुनेछन्।
प्रतियोगिताको विजेताले एक लाख तीन हजार ३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ । सेमिफाइनलमा पुग्ने टोलीलाई सान्त्वनास्वरूप १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही चार हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको फाईनलको दिन कार्तिक ८ गते कुपा मिनी म्याराथन –२०२६ हुनेछ । म्याराथनमा प्रथम हुने धावकले २४ हजार रुपैयाँ र द्वितीय हुनेले १२ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
गत संस्करणका नतिजा
- पाँचौँ कुपा कप फुटबल: घोर्मु विजेता
- चौंथो कुपा कप: फुटबल तर्फ मेन्दोफोले युबा क्लब र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- तेस्रो कुपा कप: फुटबल तर्फ पुरानो पानी नुवाकोट र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- दोस्रो कुपा कप: फुटबल तर्फ थर्पु युवा क्लब नेत्रावती डवजोङ प्रथम
- पहिलो कुपा कप: फुटबल तर्फ भङ्गेरी युवा क्लब धुवाकोट प्रथम






















