
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१४ , धुवाँकोटस्थित जनआवाज युवा क्लबले सञ्चालन गरेको चारदिने सरसफाइ अभियान सम्पन्न भएको छ ।
क्लबको नियमित कार्यक्रमअन्तर्गत असोज २५ गतेदेखि सुरु भएको अभियान चार दिनसम्म सञ्चालन गरिएको क्लबका अध्यक्ष ठमबहादुर गुरुङ (राजेश) ले जानकारी दिए ।
अभियानका क्रममा क्लबको कार्यक्षेत्रमा पर्ने छापटोल, गहतेटोल, भैरुनटोल, सुनारटोल, डाँडाटोल र लामाटोललगायत क्षेत्रमा सरसफाइ गरिएको अध्यक्ष गुरुङले बताए । उक्त अभियानअन्तर्गत छाप, गहते र माने गाउँ क्षेत्रमा सरसफाइ गरिएको उनले जानकारी दिए ।
स्थानीय टोल तथा गाउँको वातावरण स्वच्छ राख्ने र सरसफाइप्रति समुदायमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले क्लबले नियमित रूपमा सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ ।
क्लबले स्थानीयस्तरमा सामाजिक तथा सामुदायिक गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ । (नीलकण्ठ १४ हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ –सम्पादक)




















