बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड आजदेखि सुरु

Avatar photo
Dhadingpost
जेष्ठ १३, २०८३

धादिङ । बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिता जेठ १५ गतेसम्म सञ्चालन हुने भएको छ ।

धादिङबाट छनोट भएका सम्पूर्ण खेलाडीहरू उद्घाटन समारोहको मार्चपासमा सहभागी भएको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले जानकारी दिए ।

गत वर्ष धादिङबाट छनोट भएका ९ जना खेलाडीले बागमती प्रदेश पार गर्दै केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्थान बनाउन सफल भएका थिए । उक्त प्रतियोगितामा विवश तामाङले स्वर्ण पदक जितेका थिए भने सिर्जना श्रेष्ठ ‘पिङ्की’ ले ज्याभलिङ थ्रोतर्फ कास्य पदक हात पारेकी थिइन् ।

त्यस्तै, गत वर्ष सम्पन्न बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङले २ स्वर्णसहित २० पदक जित्दै उल्लेखनीय सफलता हासिल गरेको थियो । सिर्जना श्रेष्ठले ज्याभलिङ थ्रोमा स्वर्ण पदक जितेकी थिइन् भने काठमाडौंलाई पराजित गर्दै धादिङको छात्रा कबड्डी टोलीले स्वर्ण पदक जित्न सफल भएको थियो ।

धादिङको छात्र कबड्डी टोली भने फाइनलमा भक्तपुरसँग ५ अंकको अन्तरले पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो । त्यसैगरी छात्र भलिबल टोलीले तृतीय स्थान हासिल गरेको थियो ।

यसअघि २०८० सालमा धादिङले २ स्वर्णसहित १४ पदक जित्दै बागमती प्रदेशमा छैटौं स्थान हासिल गरेको थियो ।