
धादिङ । धादिङ जिल्ला खेलकुद विकास समितिले १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ । प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन जिल्लाभरका सबै स्थानीय तहलाई खेलाडीको नामावली पठाउन अनुरोध गरिएको छ ।
समितिका अध्यक्ष प्रतापसिंह तामाङका अनुसार पालिकाहरूले आ–आफ्नो क्षेत्रमा खेलाडी छनोट गरिसकेको र अब ती खेलाडीहरूको विवरण जिल्ला समितिमा पठाउन पत्राचार गरिएको छ ।
उनले भने, “प्रदेश स्तरमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १ देखि ३ गतेसम्म आयोजना हुने मिति सार्वजनिक भइसकेको छ । त्यसका लागि जिल्लाबाट खेलाडी छनोट गरी पठाउन आवश्यक भएकाले समयमै विवरण उपलब्ध गराउन आग्रह गरेका हौं ।”
जिल्ला स्तरमा प्रतियोगिता बैशाख तेस्रो साताभित्र सञ्चालन गर्ने लक्ष्य राखिएको समितिले जनाएको छ । उक्त प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी बागमती प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराइनेछ ।
विगत पाँच संस्करणको नतिजा
- १४ औं को विजेता नीलकण्ठ नगरपालिका
- १३ औं को विजेता नीलकण्ठ नगरपालिका
- १२ औं को विजेता नीलकण्ठ नगरपालिका
- ११ औं को विजेता धुनिबेसी नगरपालिका
- १० औं को विजेता बेनीघाट रोराङ
गत वर्ष सम्पन्न धादिङको १४ औं औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २२ स्वर्ण, ६ रजत र १० कास्य पदक सहित नीलकण्ठ नगरपालिकाले जितेको थियो । थाक्रे गाउँपालिका दोस्रो र रुवी भ्याली तेस्रो भएको थियो । गत वर्ष पालिका स्तरीय छनोट गरेपनि बेनीघाट रोराङ गाउँपालिका भने जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाएको थिएन ।
