बेनीघाट रोराङको शैक्षिक लगानी प्रशंसनीय छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल

Avatar photo
Dhadingpost
मंसिर १३, २०८३

धादिङ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले शिक्षा विना देशको विकास सम्भव नहुने भन्दै बेनीघाट रोराङ गाउँपालिकाले शिक्षाको क्षेत्रमा गरेको लगानी र प्रयासको प्रशंसा गरेका छन् ।

बेनीघाट रोराङ गाउँपालिकाले आइतबार हर्कपुर माध्यमिक विद्यालयमा आयोजना गरेको शैक्षिक सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षामा गरिएको लगानी खर्च नभई भविष्य निर्माणको लगानी भएको बताए ।

बेनीघाट रोराङ गाउँपालिका लगातार दुई वर्ष देशकै उत्कृष्ट हुनु शिक्षाको क्षेत्रमा गरिएको लगानी र प्रयासको प्रतिफल भएको उनको भनाइ थियो । शिक्षाका लागि भिक्षा अभियानअन्तर्गत महायज्ञ सञ्चालन गरी ६ करोड रुपैयाँ संकलन गर्नु प्रशंसनीय कार्य भएको उनले बताए ।

गाउँपालिकाले शिक्षक अभाव हुन नदिन शिक्षक बैंक स्थापना गरेको, एकीकृत आवासीय विद्यालयमार्फत एक हजार चेपाङ विद्यार्थीलाई सेवा प्रदान गरिरहेको तथा छोरीबुहारी छात्रवृत्तिको व्यवस्था गरेको विषयले आफूलाई प्रभावित पारेको अध्यक्ष दाहालले उल्लेख गरे । यी कार्यक्रमले गाउँपालिकाको शैक्षिक विकासप्रतिको प्रतिबद्धता देखाएको उनको भनाइ थियो ।

अध्यक्ष दाहाल यसअघि २०८१ सालमा गाउँपालिकाले आयोजना गरेको शैक्षिक महायज्ञ उद्घाटन कार्यक्रममा पनि बेनीघाट रोराङ आएका थिए ।

कार्यक्रममा बाह्य मूल्याङ्कनका आधारमा उत्कृष्ट विद्यालय तथा शिक्षकलाई सम्मान र पुरस्कृत गरिएको छ । कक्षा १–३ तर्फ ७५.५० अंकसहित सिद्धकाली आधारभूत विद्यालय प्रथम भएको छ भने कक्षा ४–८ तर्फ ८२.२५ अंकसहित आदर्श आधारभूत विद्यालय प्रथम भएको छ । त्यसैगरी कक्षा ९–१२ तर्फ ८७.७५ अंकसहित चन्द्रोदय माध्यमिक विद्यालय, विशालटार प्रथम भएको छ ।

उत्कृष्ट शिक्षक तथा बाल विकास सहजकर्तालाई जनही २० हजार रुपैयाँसहित सम्मान गरिएको छ । बाल विकास सहजकर्तातर्फ ओर्वाङ आधारभूत विद्यालयकी विमला ढकाल, कक्षा १–८ तर्फ चन्द्रोदय माध्यमिक विद्यालयका राजेन्द्र पाण्डे र कक्षा ९–१२ तर्फ बागेश्वरी माध्यमिक विद्यालयका खणनारायण श्रेष्ठ उत्कृष्ट घोषित भएका छन् ।

गाउँपालिकाले कक्षा ५, आधारभूत तह (बीएलई) र एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शिक्षकलाई समेत सम्मान तथा पुरस्कार वितरण गरिरहेको छ । कार्यक्रममा सहिद इन्द्रबहादुर थपलिया स्मृति बेनीघाट रोराङ शैक्षिक पुरस्कार वितरण, विद्यालय कर्मचारी सम्मान तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता विद्यालय र खेलाडीलाई पुरस्कार वितरणसमेत भइरहेको छ ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल विशेष अतिथिका रूपमा सहभागी छन् । उनले प्रदेश सरकारले विकास बजेटमा बेनीघाट रोराङलाई महत्व दिएको बताउँदै कृषक तालिम केन्द्र सञ्चालनका लागि कार्यविधि निर्माण भइरहेको, चिस्यान केन्द्रको रोकिएको काम अघि बढ्ने र धादिङमा कृषि क्याम्पस स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए ।

गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाको अध्यक्षतामा हर्कपुर माध्यमिक विद्यालयमा कार्यक्रम जारी रहेको छ ।