विकास बजेटमा बेनीघाट रोराङलाई प्रदेशले प्राथमिकतामा राखेको छ : पूर्वमुख्यमन्त्री जम्कट्टेल

Avatar photo
Dhadingpost
मंसिर १३, २०८३

धादिङ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले विकास बजेटमा बेनीघाट रोराङ गाउँपालिकालाई महत्वका साथ प्राथमिकतामा राखेको बताएका छन् ।

बेनीघाट रोराङ गाउँपालिकाले आज हर्कपुर माध्यमिक विद्यालयमा आयोजना गरेको शैक्षिक सम्मान तथा पुरस्कार वितरण समारोहमा विशेष अतिथिका रूपमा बोल्दै जम्कट्टेलले गाउँपालिकामा सञ्चालित तथा प्रस्तावित विकास योजनाबारे जानकारी गराएका हुन् ।

उनले कृषक तालिम केन्द्रका रूपमा सुरु गरिएको परियोजनाको भवन निर्माण सम्पन्न भइसकेको र अब त्यसलाई सञ्चालनमा ल्याउन मन्त्रालयले कार्यविधि निर्माणको प्रक्रिया अघि बढाएको बताए । कार्यविधि तयार भएपछि परियोजना कृषक तालिम केन्द्रकै रूपमा अगाडि बढ्ने उनको भनाइ थियो ।

त्यस्तै, चिस्यान केन्द्र निर्माणको काम अदालतमा मुद्दा परेका कारण रोकिएको भए पनि मुद्दा टुंगिएसँगै अब निर्माण प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए । धादिङमा कृषि क्याम्पस स्थापना गर्ने विषय पनि अन्तिम तयारीमा रहेको जम्कट्टेलले बताए ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल प्रमुख अतिथिका रूपमा सहभागी छन् । गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा कक्षा ५, आधारभूत तह (बीएलई) र एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शिक्षकलाई सम्मान तथा पुरस्कार वितरण भइरहेको छ ।

यसैगरी सहिद इन्द्रबहादुर थपलिया स्मृति बेनीघाट रोराङ शैक्षिक पुरस्कार वितरण, विद्यालय कर्मचारी सम्मान तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता विद्यालय र खेलाडीलाई पुरस्कार वितरण गर्ने कार्यक्रमसमेत जारी रहेको छ ।

तस्बिर : अशोक श्रेष्ठ / साँचोखवर