
धादिङ मंसिर १५ । धादिङको ऐतिहासिक धार्मिक पर्व त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने न्वागी मेला यस वर्ष मंसिर २१ र २२ गते परेको छ ।
मेलाबारे त्रीपुरासुन्दरी गाउँपालिकाले आईतबार एक सूचना जारी गर्दै यस वर्षको जात्रा विगतको जस्तो नहुने बताएको छ ।
कोभिडको संक्रमणको जोखिमलाई ख्याल गर्दै गाउँपालिकाले जारी गरेको सूचनामा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालन गरिनु पर्ने, विगतका वर्षहरुमा हुनेगरेका खेलकुद प्रतियोगिता साँस्कृतिक कार्यक्रम र व्यापारिक प्रयोजनका स्टलहरु यस वर्ष जात्रामा निशेष गरिएको उल्लेख गरिएको छ ।
हजारौं मानिहरुले सहभागि जनाउने यस मेलालाई पहाडी क्षेत्रको ठुलो मेला माइथान जात्राको नामले समेत परिचित यस मेलालाई न्वागी जात्राको नाममा बिशेष रुपमा लिने गरिएको छ । नेपालका शक्तिपीठहरु मध्ये त्रिपुरासुन्दरी माई पनि एक भएको हुँदा भक्तजनहरुले आफ्नो इच्छा भाकल पुरा गर्नको लागि मेलामा सहभागिता जनाएका थिए ।
जिल्ला सदरमुकाम धादिङबेसीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला नुवाकोट,चितवन, काठमाडौ लगायतका मानिसहरु पनि आउने गर्दछन् ।
ऐतिहासिक तथा पुरातात्विक महत्व
ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको यस स्थानको बारेमा शिलालेखमा उल्लेख भए बमोजिम नेपाल एकीकरणको बेला पृथ्वीनारायण साहले यसै त्रिपुरा भगवतीको आशिर्बाद पाएपछि मात्र नुवाकोट तथा काठमाडौंको बिजय सम्भव भएको हो भन्ने उल्लेख गरिएको छ ।
प्राचिन कालदेखि शाहवंशिय राजाहरुले बिशेष महत्वका साथ यस स्थानमा पुजापाठ गर्ने गरेको तथ्य भेटिन्छ । यस त्रिपुरासुन्दरीको सल्यानकोट र आगिन्चोक १ स्थित सल्यानबेसीमा गरेर दुइ वटा मन्दिर रहेको छ । मङ्सिर महिनामा माथि डांडाको मन्दिरबाट भगवतीको मुर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर करिव तिन घण्टाको पैदल दुरीमा पुगिने सल्यानबेशिको मन्दिरमा ल्याइन्छ ।
रानामगर थरका पुजारीले मात्र छुन मिल्ने त्यस मुर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर आम सर्बसाधारणहरुले अहिलेसम्म केहि देख्न पाएका छैनन् । तिमिल्सेना र सापकोटा थरका पुरोहित र रानामगर थरका पुजारीले बाहेक अन्यले हेर्न र छुन नपाउने अनौठो प्रचलन समेत यस मन्दिरमा रहिआएको छ ।
अन्य मन्दिरले भन्दा फरक प्रकृतिको विशेषता बोकेको यस मन्दिरको त्रिपुरा भगवतीको मुर्ति कसैले छुन नपाएपनि यस मन्दिरमा भने परम्परादेखि नै सबै जातजातिका श्रद्धालु भक्तजनहरुले सहज रुपमा पुजाआजा गर्न पाउने ब्यबस्था रहेको छ । तस्वीरः हरिहरसिंह राठौंर

