
धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङमा असोज १० गतेका लागि तय गरिएको प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन प्रतिकूल मौसमका कारण दुई दिन पछि सरेको छ ।
नेपाली कांग्रेस धादिङ निर्वाचन समितिले शुक्रबार सूचना जारी गर्दै असोज १० गतेका लागि निर्धारित क्षेत्रीय अधिवेशन अब असोज १२ गते हुने जनाएको हो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर केही दिन थप भारी वर्षा भई मौसममा प्रतिकूल स्थिति सिर्जना हुन सक्ने सूचना जारी गरेकाले निर्धारित मितिमा अधिवेशन सम्पन्न गर्न सम्भव नदेखिएको भन्दै मिति सारिएको निर्वाचन अधिकृत विश्वास आचार्यद्वारा जारी सूचनामा उल्लेख छ।
परिवर्तित मितिअनुसार हुने क्षेत्रीय अधिवेशनमा सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई अनिवार्य रूपमा उपस्थित भई अधिवेशन सफल बनाउन निर्वाचन समितिले अनुरोध गरेको छ ।
नेपाली कांग्रेस धादिङले यसअघि असोज ५ गते जिल्लाका १०४ वटै वडामा वडा अधिवेशन सम्पन्न गरेको थियो । त्यसपछि असोज ८ गते जिल्लाका १३ वटै गाउँपालिका तथा नगरपालिकामा अधिवेशन सुरु भएको थियो ।
पालिका अधिवेशनअन्तर्गत केही स्थानीय तहमा सहमतिमै कार्यसमिति गठन गरिएको छ भने सहमति जुट्न बाँकी रहेका पालिकामा पनि सहमतिको प्रयास भइरहेको कांग्रेस धादिङले जनाएको छ ।
केन्द्रीय निर्वाचन समितिले पनि भारी वर्षाको अवस्थालाई मध्यनजर गर्दै असोज १० गतेका लागि तोकिएको प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन प्रतिकूल मौसम भएका क्षेत्रमा सम्बन्धित जिल्ला र क्षेत्रको समन्वयमा असोज १३ गतेभित्र सम्पन्न गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
