
धादिङ । नेपाली कांग्रेस धादिङको गाउँपालिका तथा नगरपालिका अधिवेशन आज जिल्लाका १३ वटै स्थानीय तहमा हुँदैछ । मौसम प्रतिकूल रहे पनि हालसम्म अधिवेशन स्थगित गर्ने निर्णय भएको छैन ।
नेपाली कांग्रेस धादिङका जिल्ला सहसचिव नवराज तिमल्सिनाका अनुसार केही अधिवेशन प्रतिनिधि आ–आफ्नो पालिकाको अधिवेशनस्थल पुगिसकेका छन् । काठमाडौंमा रहेका केही प्रतिनिधिलाई भने मौसमका कारण धादिङ आउन कठिनाइ भइरहेको जानकारी आएको उनले बताए ।
“मौसमका कारण अधिवेशन स्थगित नै गर्नुपर्ने अवस्था अहिलेसम्म छैन,” तिमल्सिनाले भने, “तर अधिवेशनस्थलमा प्रतिनिधिहरू नै आउन नसक्ने अवस्था देखिएमा आवश्यकताअनुसार सम्बन्धित पालिकाको निर्वाचन समितिले निर्णय गर्न सक्छ ।”
कांग्रेस धादिङका अनुसार जिल्लाका १३ वटा पालिका अधिवेशनमा ३ हजार २७ जना वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधि सहभागी हुँदैछन् । त्यसमा जिल्लाका १०४ वडाका वडा सभापति पदेन प्रतिनिधिका रूपमा सहभागी हुनेछन् ।
यसरी कुल ३ हजार १३१ जना प्रतिनिधिले पालिका अधिवेशनमा मताधिकार प्रयोग गर्नेछन्।
पालिका अधिवेशनबाट गाउँपालिका तथा नगरपालिकाको सभापतिसहित पदाधिकारी र कार्यसमिति चयन हुनेछन् । सहमतिबाट नेतृत्व चयन हुन नसकेका पालिकामा निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गरिनेछ ।
मौसमको अवस्था र प्रतिनिधिहरूको उपस्थितिलाई ध्यानमा राख्दै सम्बन्धित पालिकाको निर्वाचन समितिले आवश्यक निर्णय गर्ने कांग्रेस धादिङले जनाएको छ ।
