कांग्रेस धादिङ अधिवेशनः ६ पालिकामा सर्वसम्मत नेतृत्व, अन्यमा निर्वाचनको तयारी

Avatar photo
Dhadingpost
अशोज १०, २०८३

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङमा असोज ८ गतेदेखि सुरु भएको गाउँ/नगर अधिवेशनमा जिल्लाका १३ स्थानीय तहमध्ये ६ पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ। बाँकी पालिकामा पनि सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी रहेको कांग्रेस धादिङले जनाएको छ ।

हालसम्म गंगाजमुना, त्रिपुरासुन्दरी, सिद्धलेक, बेनिघाट रोराङ, थाक्रे र रुवीभ्यालीमा सभापतिसहित नेतृत्व चयन भएको जनाइएको छ ।

सर्वसम्मत चयन भएका सभापतिहरूमा गंगाजमुनामा भरतबहादुर ढकाल, त्रिपुरासुन्दरीमा देवी कुमारी बुर्लाकोटी पाण्डे, सिद्धलेकमा भीम भट्ट, बेनिघाट रोराङमा विनोद भट्टराई र थाक्रेमा सादुराम थापा र रुवीभ्यालीमा David Dimdung Dong रहेका छन् ।

बाँकी पालिकामध्ये ज्वालामुखी र धुनीबेसीमा असोज ११ गते, नीलकण्ठ नगरपालिकामा असोज १२ गते नेतृत्व चयनका लागि मतदान प्रक्रिया अघि बढाउने तयारी छ । नेत्रावती डबजोङ र खनियाबासमा भने आजै मतदानको मिति तय गर्ने जनाइएको छ ।

त्यस्तै गल्छी र गजुरी गाउँपालिकाले सहमतिमै नेतृत्व चयन गर्ने प्रयास गर्ने बताएका छन् । यसअघि धुनिबेसी, गल्छी र गजुरीको अधिवेशन सहमति जुट्न नसकेपछि स्थगित भएको विवरण पनि सार्वजनिक भएको थियो ।

कांग्रेस धादिङमा पालिका अधिवेशन सम्पन्न भएपछि क्षेत्रीय अधिवेशन असोज १२ गते हुने जनाएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले पनि मौसम तथा स्थानीय अवस्थाअनुसार क्षेत्रीय अधिवेशनको व्यवस्थापन गर्न निर्देशन दिएको छ।