
धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाज (आईडीएस) को अध्यक्षमा बद्री खतिवडा चयन भएका छन् । धादिङबेसीमा सम्पन्न समाजको चौथो महाधिवेशनबाट खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
अमेरिकामा रहेर धादिङको सामाजिक गतिविधिमा सक्रिय खतिवडा यसअघि समाजको उपाध्यक्षका रूपमा कार्यरत थिए। महाधिवेशनले आगामी कार्यकालका लागि विभिन्न पदमा नयाँ नेतृत्व चयन गरेको छ ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जापानका राजेन्द्र श्रेष्ठ चयन भएका छन् । त्यस्तै, उपाध्यक्षमा बाबुकाजी भण्डारी, पारस भण्डारी, शान्ता सिखडा र विनोद उप्रेती चयन भएका छन् भने महिला उपाध्यक्षमा रञ्जना भण्डारी चयन भएकी छन्।
त्यसैगरी, महासचिवमा कल्याण विक्रम कार्की चयन भएका छन् । सचिवमा दिनेश लाेहनी, राजेन्द्र थपलिया, दिवाकर दाहाल र सोमनाथ कँडेल चयन हुँदा महिला सचिवमा कविता दाहाल चयन भएकी छन् ।
कोषाध्यक्षमा रामकुमार थापा चयन भएका छन् भने सहकोषाध्यक्षमा दीपक चन्द्र भट्ट र छन्दप्रसाद सिलवाल चयन भएका छन्। युवा संयोजकमा सुदिप सी. विष्ट र श्यामहरी तिमल्सिना चयन भएका छन् ।
समाजको सदस्यमा सुमन बुद्ध परियार, विक्रम गरन्जा, संगम तामाङ, विष्णुमाया सिखडा, शिव सिटौला, पुष्प लामिछाने, सेल्बा लामा तामाङ र गोविन्द राना मगर चयन भएका छन् ।
विश्वका विभिन्न देशमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै जिल्लाको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा योगदान पुर्याउने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय धादिङ समाजको नयाँ नेतृत्वले आगामी दिनमा संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
यस्तो छ अन्तर्राष्ट्रिय धादिङ समाजको इतिहास
अन्तर्राष्ट्रिय धादिङ समाज गठनको सुरुवात २०७४ सालबाट भएको हो । २०७४ असोज १६ गते धादिङबेँसीमा भुवन गुरुङको संयोजकत्वमा सम्पन्न पहिलो भेलाले समाजको तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार २०७४ असोज ३१ गते काग तिहारका दिन धादिङबेँसीमा सम्पन्न भेलाले नानुकाजी अर्यालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो ।
त्यसपछि समाजको विश्व भेला तथा पहिलो अधिवेशन २०७६ असोज २७ गते काठमाडौंमा सम्पन्न भएको थियो । उक्त अधिवेशनबाट नानुकाजी श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका थिए ।
समाजको दोस्रो अधिवेशन २०७८ असोज २४ गते सम्पन्न भएको थियो । उक्त अधिवेशनबाट राजन खकुराल अध्यक्षमा चयन भएका थिए । त्यसपछि २०८१ असोज २३ गते सम्पन्न तेस्रो अधिवेशनले खकुराललाई पुनः अध्यक्षको जिम्मेवारी दिएको थियो ।
यसपटकको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै विश्वका विभिन्न देशमा रहेका धादिङवासीबीचको सम्बन्ध, सहकार्य र जिल्लाको सामाजिक तथा आर्थिक विकासमा समाजको भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।





















