
धादिङ । नेपाली कांग्रेस धादिङ क्षेत्र नं. १(१) को सभापति पदमा सुन्दर हमालले उम्मेदवारी घोषणा गरेका छन् ।
२०६२/६३ को जनआन्दोलनदेखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहँदै आएको बताउँदै हमालले पार्टीका विभिन्न जिम्मेवारीमा रहेर संगठन निर्माणमा काम गरेको उल्लेख गरेका छन् । उनी तरुण दल धुनिबेसीको अध्यक्ष हुँदै हाल प्रदेश तरुण दलमा समेत जिम्मेवारीमा रहेको बताउँछन् ।
आफ्नो कार्यकालमा धादिङ क्षेत्र नं. १(१) मा पहिलो पटक नेपाली कांग्रेसलाई विजयी गराउन सफल भएको उल्लेख गर्दै हमालले उक्त उपलब्धिलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण क्षणका रूपमा लिएका छन् ।
वर्षौंदेखि पार्टी, संगठन र कार्यकर्ताबीच रहेर काम गर्दै आएको अनुभव तथा योगदानका आधारमा क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिएको उनले बताएका छन् ।
हमालले अबको नेतृत्व व्यक्ति केन्द्रित नभई विचार, संगठन, कार्यकर्ता र नेपाली कांग्रेसको बलियो भविष्य निर्माणमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
क्षेत्रीय प्रतिनिधिहरूसँग मत र समर्थन माग्दै उनले पार्टीलाई थप सुदृढ र गतिशील बनाउन आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
