प्रकाश थपलियाले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने

Avatar photo
Dhadingpost
अशोज ८, २०८३

धादिङ । नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि बनेका प्रकाश थपलियाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने भएका छन् ।

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट युवाको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन लागेको थपलियाले बताएका छन् ।

पर्यटन विकास समिति ठमेलको कार्यसमितिमा रहेर काम गरिसकेका थपलिया पर्यटन व्यवसायसँगै नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय छन् । उनी विगत १३ वर्षदेखि पर्यटन व्यवसायसँगै कांग्रेस राजनीतिमा जोडिएको बताउँछन् ।

“म १३ वर्षदेखि पर्यटन व्यवसायसँगै कांग्रेस राजनीतिमा जोडिएको युवा हुँ । कांग्रेस बिग्रिएको छ भने सुधार्न युवाहरू जुट्नु अहिलेको आवश्यकता हो,” थपलियाले भने, “त्यही उद्देश्यका साथ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिन लागेको हुँ ।”

थपलियाले पार्टीमा युवाको सहभागिता र सक्रियता आवश्यक रहेको बताउँदै आफूले पर्यटन क्षेत्रसँगै राजनीतिक तथा सामाजिक क्षेत्रमा पनि योगदान गर्दै आएको उल्लेख गरेका छन् ।

नेपाली कांग्रेस धादिङले १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । सोही अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।