
धादिङ । विश्वभर छरिएर रहेका अन्तर्राष्ट्रिय धादिङ समाज तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्हरूले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि करिब ५८ लाख रुपैयाँ सहयोग गरेका छन् ।
अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालका अनुसार विभिन्न देशमा रहेका धादिङ समाज तथा राष्ट्रिय समन्वय परिषद्हरूमार्फत बाढीपीडितको राहत तथा उद्धारका लागि हालसम्म रु. ५७ लाख ९८ हजार सहयोग भएको छ ।
विभिन्न देशबाट भएको सहयोग विवरणअनुसार धादिङ समाज अमेरिकाबाट करिब ३३ लाख रुपैयाँ, धादिङ समाज जापानबाट करिब १० लाख रुपैयाँ, धादिङ समाज बेल्जियमबाट करिब ४ लाख ५० हजार रुपैयाँ र धादिङ समाज अस्ट्रेलियाबाट करिब ४ लाख रुपैयाँ सहयोग भएको छ ।
त्यस्तै, धादिङ समाज दक्षिण कोरियाबाट करिब २ लाख ४० हजार रुपैयाँ, धादिङ समाज यूकेबाट करिब २ लाख ४० हजार रुपैयाँ, धादिङ समाज कतारबाट करिब ८५ हजार रुपैयाँ, धादिङ समाज बहराइनबाट ५३ हजार रुपैयाँ, धादिङ समाज साउदी अरबबाट २५ हजार रुपैयाँ र धादिङ समाज चेक रिपब्लिकबाट ५ हजार रुपैयाँ सहयोग भएको अध्यक्ष खकुरालले जानकारी दिए ।
व्यक्तिगत रूपमा पनि उल्लेख्य सहयोग
अन्तर्राष्ट्रिय धादिङ समाज तथा राष्ट्रिय समन्वय परिषद्हरूमार्फत भएको सहयोगबाहेक विदेश तथा स्वदेशमा रहेका धादिङवासीहरूले व्यक्तिगत रूपमा समेत बाढीपीडितका लागि सहयोग गरेका छन् ।
त्रिपुरासुन्दरीका विनोद थापाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ लाख ५० हजार रुपैयाँ र सरोज थापाले १ लाख ५० हजार रुपैयाँ, सुनीमाया तामाङले १ लाख ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
त्यसैगरी, गैरआवासीय नेपाली संघ (एनआरएनए) मार्फत धादिङका विभिन्न व्यक्तिहरूले पनि राहत तथा उद्धारका लागि सहयोग गरेका छन् । जसमा लोक दाहालले २ लाख रुपैयाँ, मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ले १ लाख ५ हजार रुपैयाँ, सूजन अधिकारीले १ लाख रुपैयाँ, प्रसन्ना कडेलले ५० हजार रुपैयाँ, कृष्णप्रसाद तिमल्सिनाले १ लाख रुपैयाँ र संघर्षशील केसीले १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
रसुवा, नुवाकोट र धादिङमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवार तथा समुदायलाई राहत उपलब्ध गराउन देश–विदेशमा रहेका धादिङवासी, सामाजिक संस्था तथा विभिन्न संघसंस्थाहरूले सहयोग अभियान सञ्चालन गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय धादिङ समाज तथा विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरूले पनि विपद्का बेला जिल्लाका प्रभावित समुदायलाई सहयोग गर्दै आएको र आगामी दिनमा समेत आवश्यक सहयोग तथा समन्वयलाई निरन्तरता दिने जनाएका छन् ।
