रोटरियनको धादिङबेसीमा ‘इन्ड पोलियो नाओ’ र्‍याली

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक ८, २०८१

धादिङ । विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लव अफ धादिङले धादिङबेसीमा सचेतना र्‍याली निकालेको छ । उक्त र्‍यालीमा प्रहरी, स्वास्थ्यकर्मी विभिन्न संघ संस्थाका प्रतिनीधिहरुको समेत सहभागिता थियो ।

धादिङबेसी पुछार बजारबाट ‘इन्ड पोलियो नाओ’ लेखिएको टिसर्ट र टोपी लागाएका रोटरीयनहरुले विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेटर र्‍याली गरेका थिए । र्‍याली धादिङ उद्योग वाणिज्य संघको भवन अगाडी चौतारामा पुगेर कोण सभामा परिणत भएको थियो ।

जिल्ला अध्यक्ष सुदिप रसाईलीको सभापतित्वमा भएको उक्त सभामा पूर्व अध्यक्ष एवम् २०२४–२५ का आर आई डिष्ट्रिक ३२९२ नेपाल भुटानका जोन ३५ का AG समेत रहेका अशोक बस्नेतले विश्वबाट नै पोलियो भाइरस उन्मूलन गर्न रोटरीले सुरुवाती समय (सन् १९८८ मा विश्व पोलियो निर्मूल अभियान) देखि नै प्रभावकारी रुपमा काम गर्दै आइरहेको दाबी गरेका थिए । जतिखेर १२५ देशमा ३५०,००० पोलियोका विरामी देखिएका थिए ।

सन् १९०५ मा अमेरिकाको सिकागो सहरबाट सुरु भएको रोटरी इन्टरनेशनल संसारको सबैभन्दा पुरानो सेवामूलक सामाजिक संस्था हो । विभिन्न मुलुकमा ४६ हजारभन्दा बढी रोटरी क्लब ५३८ वटा डिष्ट्रिक्टहरुअन्तर्गत आबद्ध छन् । साथै १२ लाखभन्दा बढी सदस्य रोटरी सेवामा सक्रिय रहेको जनाईएको छ ।

नेपालमा रोटरीको सुरुवात सन् १९५९ मा भएको थियो । सन् २००८ जुलाई महिनादेखि नेपालमा छुट्टै रोटरी डिष्ट्रिक्ट ३२९२ को स्थापना भएको हो । हाल नेपालमा १६१ वटा रोटरी क्लबले स्थानीयस्तरसँगै राष्ट्रियस्तरमा समेत विभिन्न कार्य गर्दै आएका छन् । रोटरी क्लव अफ धादिङ ध्रुवबहादु थापाको अध्यक्षमा २०१६ मा गठन भएको थियो । त्यसयता जिल्लामा वातावरणिय, स्वास्थ्य, शिक्षा र असाह्य/विपन्न वर्गहरुमा सहयोग गर्दै आएको छ ।